ठोरीकी सिम्रनलाई मिस तामाङको ताज

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ यो वर्षको मिस तामाङको ताज ठोरी गाउँपालिका पर्साकी सिम्रन स्याङ्बोले पहिरिएकी छिन् । नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेस्ट फेसन होमको संयुक्त आयोजनामा शनिबार सोल्टी होटलमा भएको ११ औं संस्करणको फाइनल समारोहमा सिम्रनले २७ युवतीलाई पछाडि पारेकी थिइन् ।

एक लाख रुपैयाँसमेत जितेकी सिम्रनलाई गत वर्षकी विजेता पिंकी घिसिङले ताज लगाइदिइन् । सिम्रन एक वर्षका लागि सिभिल गु्रपको ब्रान्ड एम्बास्डर समेत भएकी छिन् ।

फस्ट रनरअपसँगै इमेज भ्युअर्स् च्वाइस टाइटल नुवाकोटकी रञ्जिता लामाले हात पारेकी छिन् भने सेकेन्ड रनरअप चाहिँ काठमाडौंकी कुन्छान लामा भएकी छिन् । त्यस्तै थर्ड रनरअप र फोर्थ रनरअपको टाइटल क्रमशः मकवानपुरकी गीताञ्जली पाख्रिन र काभ्रेकी अनिशा तामाङले जितेका छन् । बेस्ट क्याटवाकको उपाधि रूपा घिसिङ, बेस्ट पर्सनालिटी आशिका बल, बेस्ट फ्रेन्डसिप सिम्रन लामा, बेस्ट अनुशासन क्रिस्टिना लामा तथा बेस्ट ब्युटिफुल हेयरको टाइटल प्रियंका लामाले प्राप्त गरेका छन् ।

सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङ, सन् २०१२ की मिस तामाङ सुमी मोक्तान, अभिनेत्री ओसिमा बानु, समाजसेवीद्वय प्रवीण मोक्तान र भुपाल तामाङ निर्णायक रहेका थिए । तामाङ जातिको कला, संस्कृति, भेषभुषा तथा रीतिरिवाजको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल तामाङ कला–संस्कृति केन्द्रका संस्थापक मिलन मोक्तानले बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार