छाउपडी प्रथा अँगाल्नेलाई सेवा–सुविधामा रोक

फरक धार

१९ साउन २०७५, शनिबार

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाको वडा नं ८ मा छाउपडी प्रथा अँगाल्नेलाई वडाबाट प्रदान गरिने सेवा–सुविधाबाट वञ्चित गर्ने निर्णय गरिएको छ ।

महिनावारी हुँदा अलग्गै गोठमा बस्नुपर्ने, पाँच दिनसम्म छुन नहुने, पानीको धारा छुन नहुने, पोषिला खानेकुरा खान नहुनेजस्ता अन्धविश्वास नहटेपछि सेवा सुविधामा रोक लगाउनुपरेको वडाध्यक्ष बहादुर महराले बताए । ‘‘वडामा सेवा लिन आएका सेवाग्राहीलाई छाउपडी प्रथा मान्ने गरे/नगरेको सोधपुछ गरेपछि मात्रै सेवा दिने व्यवस्था गरेका छौँ,’ उनले भने ।

छाउपडीका कारण महिलालाई अलग्गै गोठमा राखिँदा उनीहरू बलात्कृत हुने, सर्प तथा अन्य जंगली जनावरको आक्रमणमा पर्ने तथा विभिन्न रोगको संक्रमण बढ्ने गरेको छ । वर्षौंदेखि कुरीतिका रूपमा चल्दै आएको यस प्रथालाई रोक्न खोजे पनि लुकीछिपी कायमै रहेकाले सेवामा रोक लगाउनुपरेको अध्यक्ष महराले बताए । छाउपडी प्रथा अँगाल्नेको सेवा–सुविधामा रोक लगाउन थालेपछि हालसम्म एक दर्जनभन्दा बढी व्यक्ति सेवाबाट वञ्चित भएको उनले बताए ।

वडाले घरेलु हिंसा, बालविवाह, अनमेल विवाह गर्ने, लागुऔषधमा संलग्न, घरमा शौचालय नभएका, बालबालिकालाई पूर्ण खोप नलगाउने र बालबालिकालाई विद्यालय नपठाउनेलगायतका कार्यमा संलग्नले आफ्नो व्यवहारमा सुधार गर्ने प्रतिबद्धता नगर्दासम्म कुनै पनि सेवा–सुविधा दिने गरेको छैन ।

वडामा मदिरा बिक्री वितरण, उत्पादन र सेवन गर्नेलाई सेवा सुविधा नदिने नियम बनाई वडा कार्यालयले एक वर्षअघि नै कार्यान्वयन गरिसकेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार