कंगोकाे विकास–निर्माणमा नेपाली सेना

फरक धार

१९ साउन २०७५, शनिबार

कंगो – द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कंगोमा विभिन्न ठूला–साना निर्माण परियोजना सुरु गरेको छ ।

गुल्मले सुरु गरेको तीनवटा महत्वपूर्ण परियोजनामध्ये एउटा सम्पन्न भइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । त्यस्तै १२ वटा प्रमुख परियोजनामध्ये १० वटा पूरा भएका छन् भने दुईवटा निर्माणाधीन छन् । यसैगरी, गुल्मले एक वर्षको अवधिमा ६९ वटा साना परियोजना पनि सम्पन्न गरेको छ ।

इञ्जिनियर गुल्मको २१औँ डफ्फाको कार्यवधि समाप्तिको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्दै गुल्मपति प्रमुख सेनानी दिव्यराज प्रसाईंले २१औँ टोलीले महत्वपूर्ण परियोजनामध्ये १८ किलोमिटर लामो छावि–काकुका सडक निर्माण सम्पन्न गरेको तथा १८ किमी लामो कामान्गो–सिमिलिकी सडक र ४२ किमी लामो बोगोरो–अभेवा सडकको दोस्रो खण्डको पुनःस्थापना कार्य जारी रहेको बताए ।

उनका अनुसार २१औँ डफ्फाले सम्पन्न गरेको १० वटा प्रमुख योजनाअन्तर्गत माविवि बोइकेने र माडिवा शिविरमा बाटो र नाला निर्माण २० किमी बुनियाँ–वोगोरा–अभेवा सडकको प्रथम खण्डको निर्माण, १८ किमी लामो कामान्गो–सिमिलिकि सडकको द्रुत मर्मतसम्भार, माविवि विमानस्थलमा ‘एप्रोन’को विस्तार, सेमिलिकी कामागो स्थलगत प्रतिरक्षा सुधारकार्यमा प्राविधिक सहयोग तथा सुपरीवेक्षण गरिएको छ ।

यसैगरी माविविमा अवस्थित ‘एप्रोन’को विस्तार कार्य, माविविस्थित माल्बाट सैनिक आधार इलाका स्थानान्तरणको लागि मैदान निर्माण, १७ किलोमिटर लामो एम्बउ–कामान्गो सडकको तीव्र मर्मतसम्भार, बंगलादेशी शान्ति सेना गणको आधार शिविरको विस्तार कार्यमा प्राविधिक सहयोग र बुनियाँको रवाम्पारास्थित ढल निर्माण रहेका छन् ।

परियोजनामा आधार शिविरलाई कमान्गोबाट सेमिलिकिमा स्थानान्तरण र सेमिलिकिमा नयाँ सुरक्षा पूर्वाधार निर्माण तथा माविवि विमानस्थल धावनमार्गको मर्मतसम्भार रहेका छन् ।

यसका अतिरिक्त टोलीले कंगोमा रहेका विभिन्न मुलुकका शान्ति सेनालाई प्राविधिक सहयोग पनि प्रदान गर्ने गरेको छ । नेपाली शान्ति सेना इञ्जिनियर गुल्म डफ्फा–२१ ले स्थानीय समुदायमा समेत ‘नागरिक–सैनिक सहयोग’ क्रियाकलापअन्तर्गत आठवटा विभिन्न सहायता कार्य सम्पन्न गरेको छ । यसअन्तर्गत विभिन्न विद्यालयमा खेलकुल मैदान निर्माण, खेलकूद सामग्री वितरण, स्वास्थ्य परीक्षण शिविर सञ्चालन, स्थानीय सडकको निर्माण, खानेपानी वितरण, विद्यालय भवनमा रंगरोगन, चर्पी निर्माण र कापी कलम वितरण रहेका छन् ।

त्यस्तै, संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति स्थापनार्थ तैनाथ शान्ति सेनालाई सहायक कार्यमार्फत विभिन्न सहायता प्रदान गरिरहेको छ । यसअन्तर्गत गुल्म–२१ले लुबेरो–कासुगो सडक मार्गमा पर्ने नौवटा पुलको मर्मत गरेको छ । यी र यस्तै परोपकारी कार्यका कारण नेपाली इञ्जिनियर गुल्म–२१ स्थानीय समुदायमा सकारात्मक सन्देश दिन सफल भएको छ ।

नेपाली शान्ति सेनाका जवान वा नेपालको राष्ट्रिय झण्डा अंकित सवारीसाधन देख्नासाथ स्थानीय समुदायका बालबालिका मुठ्ठी पारेको हातबाट बुढी औँला देखाएर ‘थम अप’का साथ खुसी हुँदै हार्दिकता प्रकट गर्ने गर्दछन् । ‘हामी बाहिर फिल्डमा काम गर्न जाँदा कहिलेकाहीँ स्थानीय बालबालिकालाई बिस्कुटलगायत खानेकुरा दिन्छौँ । अन्य मुलुकका सैनिकजस्तो रुखो व्यवहार देखाउँदैनौँ । बालबालिका हामीलाई देख्नासाथ झ्याम्मिन आइपुग्छन्,’ नेपाली इञ्जिनियर गुल्म–२१ मा संलग्न श्री काली शक्ति गण (र्इ)का प्युठ सूर्यबहादुर नेपालीले भने ।

नेपाली शान्ति सेना समुदायस्तरमा सञ्चालित सहायता कार्य तथा परोपकारी भावनाका कारण स्थानीयवासीको मन जित्न सफल भएको छ । प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति र स्थायित्व कायम गर्न स्थापित संयुक्त राष्ट्र संघीय निकायअन्तर्गत कार्यरत नेपाली इञ्जिनियर गुल्म–२१ ले उसको कार्यदक्षताको कदरस्वरूप सो निकायका सैन्य प्रमुखबाट दुईपटक प्रशंसापत्र प्राप्त गरिसकेको छ ।

कामान्गो–सिमिलिकि सडकमार्ग र बुनिया–बोगोरो सडकमार्ग पुनःस्थापना गर्न सफलता प्राप्त गरेकोमा नेपाली इञ्जिनियर गुल्म–२१ लाई सो कदरपत्र प्रदान गरिएको हो । यी दुवै महत्वपूर्ण सडक मार्गको पुनःस्थापना कार्यलाई संयुक्त राष्ट्र संघ मुख्यालयले उच्च प्राथमिकता दिएको थियो ।

संयुक्त राष्ट्र संघ शान्ति निकायअन्तर्गत कंगोमा २०७४ साउन २ मा नेपाली इञ्जिनियर गुल्म–२१ तैनाथ गरिएको हो । नेपाली सेना २०६० कात्तिक ६ गतेबाट सो देशमा कार्यरत रहेको छ ।

नेपालीबाहेक इन्डोनेसिया, दक्षिण अफ्रिका, बंगलादेश, उरुग्वे र चीनका सैन्य इञ्जिनियर गुल्म कंगोका विभिन्न भागमा कार्यरत छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार