कामु प्रधानन्यायाधीशका हैसियतमा मिश्रले तोके पहिलो पेसी

फरक धार

२० साउन २०७५, आइतबार

काठमाडौं – सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशको हैसियलतले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आइतबारदेखि काम सुरु गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि उनले बिदा बस्ने निर्णय गरेका थिए ।

जोशीपछिका वरिष्ठतम् न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशकोे हैसियतले मुद्दाको पेसी तोकेर काम सुरु गरेका हुन् । प्रधानन्यायाधीशका लागि समितिले योग्य ठहर नगरेपछि जोशी आइतबारबाट छुट्टीमा बसेकाले मिश्रले कामुका प्रधानन्यायाधीशको हैसियतमा काम सुरु गरेको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

संसदीय सुनुवाइ विशेष समितिले कामु प्रधानन्यायाधीश जोशीलाई प्रधानन्यायाधीश बन्न अयोग्य ठहर गरेपछि केही कानुन व्यवसायीले संवैधानिक संकट उत्पन्न हुने आशंका व्यक्त गरेका छन् । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार प्रेस विज्ञप्ति नै जारी गरेर समितिले न्यायालयमाथि ठाडो हस्तक्षेप गरेको हुँदा न्यायालयमा संवैधानिक संकट उत्पन्न हुन सक्ने उल्लेख गरेको थियोे ।

एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भने, ‘सुनुवाइका क्रममा अर्को प्रस्तावित प्रधानन्यायाधीशको पनि नाम अस्वीकृत हुन सक्छ, समितिले के–के विषयमा सुनुवाइ गर्ने हो, त्यसमा क्षेत्रधिकार नै तोकेर अघि बढ्नुपर्छ ।’

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीको सुनुवाइ नै संवैधानिक परिषद्को सिफारिशमा उक्त समितिले गर्ने भएकाले कुनै पनि संवैधानिक संकट उत्पन्न नहुने, तर जोशीले राजीनामा दिएरै बस्न उपयुक्त हुने सुझाव दिए ।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार समितिले जोशीलाई अयोग्य ठहर गरेपछि न्याय परिषद्ले सिफरिस गरेको वरिष्ठतम आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जवरामध्ये एकलाई संवैधानिक परिषद्ले सिफारिस गर्न सक्ने कानुनी व्यवस्था छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार