हिमतालमा डुबेर मृत्यु भएका विद्यार्थीको शव निकाल्न सेना परिचालन

फरक धार

२० साउन २०७५, आइतबार

सोलुखुम्बु – गोक्यो हिमतालमा डुबेर मृत्यु भएका तीन विद्यार्थीको शव निकाल्न कठिन भएको छ । गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ । ‘हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ,’ जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, ‘कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।’

खुम्जुङ प्रहरी चौकीबाट करिब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकोप्टरमार्फत केही स्थानीयसहितको प्रहरी टोली गएको र थप टोली पठाउन हेलिकोप्टर तयारी अवस्थामा भए पनि प्रतिकूल मौसमका कारण अवतरण हुन नसकेको राईले बताए । आज थप टोली गएकाले शव निकाल्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।

डुबेका विद्यार्थीहरूको उद्धारका लागि आइतबार बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जानकारी दिए । प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो ।

खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालयलाई उद्धृत गर्दै भने, ‘विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको, तर पछि विद्यार्थी आफैँ भ्रमणमा गएछन् ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार