#farakक्षमताः एउटै खुट्टाले छमछमी

समिक्षा अधिकारी

२० साउन २०७५, आइतबार

अपांगतालाई क्षमताको बाधक मान्नु परेन अब । बरु यो यो अवसरको साधक भइसक्यो । यसैलाई चरितार्थ गर्न उद्यत् छिन्– मोरङ सुन्दर हरैंचाकी निलम ढुंगाना ।

कतिपयको गुनासो हुन्छ, दुवै खुट्टा हुँदा पनि गन्तव्यमा पुग्न सकिएन । सवलांग हुँदा पनि हीनताबोध पालेर आफूलाई खुम्च्याउने र आफूभित्र लघुताभास हुर्काउने कति छन् कति । तर निलमलाई नेम, फेम र चार्म दिन एकै खुट्टा काफी छ । र त उनी हरेक मञ्चमा वाहवाही बटुल्छिन् ।

अझ भनौं, निलम ढुंगाना भनेर भन्दा पनि ‘वान लेग डान्सर’ भनेर ज्यादा चिनिन्छिन् उनी ।

तर, यो सफलता एक्कासि भने प्राप्त भएको होइन । अपांगतालाई अवसरमा परिवर्तन गर्न निकै मेहनत गर्नुप¥यो ।

‘अपांग भइहालें, अब मेरो बाटो सिद्धियो’ भनेर हीनताबोध पालेको भए उनी यतिबेला हरैंचाकै घरमा हुन्थिन् होला । निरन्तरको मिहेनत र अथक परिश्रमले कलाकारिताको दुनियाँमा ल्याइपु¥यायो । र, उदाहरणको पात्र बन्न सफल भइन् उनी ।

०००

तेह्रथुममा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंको सहरी वातावरणमा नै बित्यो । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुलबाट उनले आफ्नो औपचारिक पढाइलाई सुरुवात गरिन् । चार कक्षासम्म पढाइ पूरा गरेपछि बुबाको पेसाका कारण उनीहरू पूर्व जानुपर्यो । पूर्व नै बसाइँ स¥यो उनको परिवार । त्यसपछि निलमले नजिकैको पाथिभरा इङ्ग्लिस स्कुलबाट पढाइलाई अघि बढाइन् ।

पढाइमा सानैदेखि अब्बल थिइन् निलम । नृत्यलाई पनि उनले सक्दो समय दिएकी थिइन् । स्कुल र घरमा सबैले राम्रो मान्थे । घरमा श्यामश्वेत टिभी थियो । रेडियो पनि थियो । पालैपालो गीत बजाएर कम्मर भाँच्न सुरु गरिहाल्थिन् उनी ।

समय बित्दै गयो । नृत्यमा उनी पारंगत बन्दै गइन् । तीज, दसैंजस्ता पर्वमा हुने गरेका संस्कृतिक कार्यक्रममा उनको आवश्यकता पर्दै गयो ।

दिनहरू सामान्य थिए । पढाइ र नृत्य आफ्नै लयमा अघि बढ्दै थियो । ०६४ साल माघ २३ गतेको दिन । निलम कक्षा दसको टेस्ट परीक्षा दिन स्कुल जाँदै थिइन् । साथै नजिकिँदो एसएलसी परीक्षाको तयारी पनि चल्दै थियो ।

उनी त्यस दिन पनि साथी अञ्जना राईसँग स्कुल जान घरबाट निस्किएकी थिइन् । उनीहरू असाध्यै मिल्ने साथी थिए । घर पनि नजिकै थियो । प्रायः सँगै हुन्थे दुवै । करिब दस मिनेटको दूरीमा थियो घर र स्कुल ।

बाटोमा बूढीखोलाको पुल पथ्र्यो । पुल सानो थियो । बाटो पनि सानो नै थियो । मुस्किलले दुईवटा सवारी आउजाउ गर्न मिल्ने ।

अञ्जना बस–ट्रकसँग असाध्यै डराउँथिन् । उनी सधैं पुलको पेटीबाट मात्र हिँड्ने गर्थिन् । निलम अलि कम डराउने भएकाले पेटीभन्दा तलबाट नै हिँड्थिन् । भनांै न, उनी अलि हक्की स्वभावकी थिइन् ।

तर त्यस दिन यसको ठीक उल्टो भयो । निलम पुलको पेटीबाट हिँडिन् । अञ्जना पेटीभन्दा तलबाट । परीक्षाकै छलफल गर्दै दुवै स्कुलतिर जाँदै थिए ।

पुलको बीचतिर पुगेका थिए होलान् सायद । निलमलाई पछाडि केही आफू भएतिर आएजस्तो लाग्यो । उनले तत्कालै पछाडि फर्किएर हेरिन् । पछाडि हेरेर के हो भनेर ठम्याउन नपाउँदै पछाडिबाट आएको मालबाहक ट्रकले दुवैलाई नराम्रोसँग धक्का दियो ।

ट्रकको अगाडिको पांग्रा र त्यसको कभरमा अञ्जनाको शरीर अड्कियो । टाउको निलमको काखमा पर्यो । निलमको शरीर उछिट्टिएर रेलिङभन्दा तल उत्तानो परेर झुन्डियो । अञ्जनाको टाउको उनको काखमा परेकाले उनी पुलबाट खस्नबाट बचिन् ।

‘ड्राइभरले ब्रेक नहानेको भए रेलिङबाट ट्रकसहित हामी दुवौ तल खस्ने थियौं,’ घटना सम्झेर अनुहारमा त्रास छाउँछ उनको ।

जसोतसो ट्रक त रोकियो तर पांग्रामा फसेको अञ्जनाको शरीर र उनको खुट्टा सहजै निकाल्न सक्ने अवस्थामा थिएन । त्यतिबेला सम्ममा ड्राइभर बेपत्ता भइसकेको थियो ।

अञ्जना चिसो हुँदै गइन् । उनको होस थिएन सायद । बाहिरी चोट नभए पनि छातीमा नराम्रोसँग धक्का लागेको थियो ।

निलमको स्मरण गुमेको थिएन । त्यतिबेलासम्म उनको देब्रे खुट्टा क्षतविक्षत भइसकेको थियो । तैपनि उनले होस् सम्हालिरहेकी थिइन् । मन त थियो बेहोस् हौं र दुखाइको महसुस कम होस्, तर सबै आफूले सोचेजस्तो कहाँ हुन्थ्यो र । हुन्थ्यो भने त्यो घटना नै नहुनुपर्ने ।

वरिपरिका मानिस जम्मा भए । उनीहरूको उद्धार गर्न खोजे । न ट्रक अघिपछि सार्न मिल्थ्यो, न त उनीहरूलाई नै जबरजस्ती तान्न । ट्रक, पुलको रेलिङसँग समानान्तर रूपमा बसेको थियो । जहाँ मानिस छिर्न सक्ने ठाउँ नै थिएन ।

ट्रकले गिटी बोकेको थियो । मालबाहक भएकाले धकेल्न पनि गाह्रो थियो । अहिलेको जस्तो हाइड्रोलिक पावर भएको सवारी थिएन त्यतिबेला । भए पनि त्यो ट्रकमा थिएन ।

सहयोगकर्ताहरू आफैं आत्तिएजस्ता देखिन्थे । उनीहरूमा नै अन्योल थियो अव कसो गर्ने भन्ने ?

पीडाले छट्पटाउँदै र कराउँदै निलमको मनले अनेक सोच्न भ्यायो । उनलाई लाग्यो हामी यतिकै मर्छौं होला । सँगै हुनेहरू नआत्तिन र निस्कन लागेको छ भनेर बेलाबेलाम ढाडस पनि दिन्थे ।

बिहानको समय थियो घटना भएको । करिब ४५ मिनेटको खिचातानीपछि उनीहरूलाई बाहिर निकाल्न सफल भए । पहिला निलमलाई नै मनिसहरूले बाहिर ल्याए ।

‘अञ्जनाको ज्यान टायरमा यसरी फसेको थियो कि, एक फन्का मात्र पांगा घुमेको भए उनले त्यतिबेला नै प्राण त्याग्ने थिइन् । तैपनि केही ढुकढुकी बाँकी थियो सायद,’ निलमको अनुहारमा दुःखको बादल मडारिन्छ ।

उद्धारपछि उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला मेमोरियल प्रतिष्ठान लगियो । उनलाई इमर्जेन्सीमा राखिएको थियो । शल्यक्रियाको पर्खाइमा बस्दा कसैले सुनायो– ‘अञ्जना अब हामीमाझ रहिनन् ।’ त्यो क्षण उनलाई धेरै पीडा भयो ।

‘साथीलाई धन्यवाद, आफू जाँदाजाँदै मलाई बचाएर गइन्, उनी मेरो काखमा नभएको भए पुलबाट खसेर म उनीभन्दा पहिले बिदा हुन्थें होला,’ अञ्जनाप्रति कृतज्ञ देखिइन् उनी ।

घुँडामा मात्र चोट लागेको थियो निलमको । त्यसभन्दा तलको भाग राम्रो नै थियो । त्यसैले डाक्टरहरूले जोड्नलाई निकै प्रयत्न गरे ।

निलम आफैंलाई लागेको थिएन– खुट्टा फेरि जोडिएला र पहिलेजस्तै गरी हिँड्न पाउछु । शल्यक्रिया गरेर पाँच दिनजति राखेर विचार पनि गरे । तर घुँडाको तलको भागबाट कुहिँदै आयो ।

हड्डी जोडिन समस्या नभए पनि नसाहरू सबै चुँडिएकाले जोडिन नमिल्ने भयो । डाक्टरले राख्न हुँदैन भन्ने सल्लाहमा उनको खुट्टा काटियो ।

मृत्युलाई नजिकबाट नियालेर बाँच्न सफल भइन् अञ्जना । तर उनदे सदाका निम्ति बायाँ खुट्टा गुमाउनु पर्यो । उनी शारीरिक अपांग बनिन् ।

घटना भएको प्रत्यक्ष देख्नेहरूका लागि निलम बाँचेकी छे भन्ने मात्रै मुख्य कुरा थियो । शल्यक्रियापछि दुई महिना उनी अस्पतालकै शय्यामा बसिन् ।

एसएलसी सुरु हुन केही दिन मात्र बाँकी थियो । अस्पतालबाट परीक्षा दिन पाइन्छ कि पाइँदैन होला भन्ने चिन्ता छँदै थियो ।

त्यतिबेला केन्द्रभन्दा बाहिरबाट परीक्षा दिन पाउने व्यवस्था कतै पनि थिएन । पढाइमा अब्बल भएको हुँदा विद्यालयले पनि साथ दियो । र बुबा शिक्षण पेसामा लामो समयदेखि सेवारत रहेको हुँदा उनले अस्पतालबाट नै एसएलसी परीक्षा दिइन् । सायद अस्पतालमा बसेर एसएलसी दिने उनी पहिलो व्यक्ति नै हुनुपर्छ ।

उनले आफैंले लेखिन् । जीवनको लय नै बिथोलिँदा पनि उनी विचलित भइनन् । त्यसरी दिएको परीक्षामा पनि ७६.५ प्रतिशत नतिजा ल्याएर पास गरिन् । खुट्टा गुमाइसकेपछि पनि गुमाउनुको पीडा उनको अनुहारमा देखिएन । सधैं हाँसी नै रहिन् । खुसी नै भइन् ।

निलम भन्छिन्, ‘मेरो उमेर नै त्यस्तै थियो सायद । मैले गम्भीर रूपमा नसोचेर पनि मलाई धेरै पीडा भएन । मैले मृत्युलाई नजिकबाट देखें, जीवन कति अमूल्य रहेछ थाहा पाएँ ।’

अस्पतालमा बस्दा अरूले कति हँसिलो, पिर नै नलिने मेरी छोरी त टोलाएर बस्छे भन्नेहरू धेरै थिए । उनका लागि निलम उदाहरण बनिन् ।

अस्पतालको बसाइपछि उनी घर गइन् । उच्च शिक्षाका लागि सुष्मा मेमोरियल इन्जिनियरिङ कलेज भर्ना भइन् । पढाइ राम्रो भएकाले भर्नामा कुनै कठिनाइ भएन । साथीहरूले पनि सक्दो सहयोग गरे ।

छात्रावृत्तिको व्यवस्थासमेत गरिदियो कलेजले । स्नातक तहसम्मको पढाइ सोही स्कुलबाट पूरा गरिन् । खुसीको कुरा– उनी पढ्ने कक्षाकोठा कलेज प्रशासनले कहिल्यै पनि माथिल्यो तल्लामा बनाएन ।

केही समयपछि उनका लागि चारपांग्रे स्कुटर आइपुग्यो । अपांगता अवसर बनेको पहिलो क्षण थियो त्यो । उनी धेरै खुसी भइन् । अभाव र समस्या भन्ने शब्द नै उब्जिएन । भन्छिन्, ‘अपांग भए तापनि अपांगता हुनुको खास दुःख मैले महसुस गर्न नै पाएकी छैनँ ।’

एकै खुट्टाले छमछमी

निलम सानैदेखि नृत्यमा रुचि राख्थिन् । खुट्टा गुमाइसकेपछि फेरि नाच्छु भन्ने उनको मनमा आएन । तर पनि नृत्यसँगको मोह कमजोर भएको थिएन । घरमा बस्दा गीत बज्थ्यो । हात, आँखा र अनुहारले मात्र भए पनि गीतमा ताल भरिरहेको हुन्थ्यो ।

कहिलेकाहीँ उभिएरै हल्लिने मन हुन्थ्यो । तर कोही आएर देख्ला वा खिसी गर्ला भन्ने डरले उनी खुल्न सकिरहेकी थिइनन् । चार–पाँच वर्ष यसरी नै बित्यो ।

घरनजिकै नेपाल अपांग महिला संघको कार्यालय थियो । उनी पनि त्यस संस्थामा आबद्ध भएकी थिइन् । बाहिर निस्किएर केही गर्नुपर्छ भन्ने भाव पलाएको थियो त्यतिबेला उनमा ।

बुझ्दै जाँदा गाउँ–समाजले अवहेलना गरेका अपांग महिला त्यहाँ जम्मा भएर केही काम गरिरहेका थिए । त्यहाँ गएपछि उनलाई लाग्यो– मलाई त धेरै सुख छ, मभन्दा धेरै दुःख पाउने पनि यहाँ हुनुहुँदो रहेछ । त्यसपछि उनले त्यहाँ आउने महिलाका लागि परामर्श वा सल्लाहकारको रूपमा सेवा गर्न थालिन् ।

३० डिसेम्बर अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर संस्थाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नाटक गर्नेदेखि गीत गाउनेसम्म सबै अपांगता भएका व्यक्तिहरूले गर्ने भन्ने थियो ।

सबै मानिस त भयो अब एउटा नाच्ने पनि भइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने कुरा कार्यालयमा चल्न थाल्यो । निलमले भनिन्, पहिले हुन्थ्यो भने म नै नाच्थें कति मजाले, अब त के नाच्नु र ।’

त्यति भनिसकेपछि उनी उम्कने बाटो बन्द भयो । गीत बजाए र कार्यालयमा नै नाच्न लगाए । त्यतिबेला उनले नाचिनन् । तर घरमा गएर तयारी गर्ने आश्वासन दिइन् ।

घर आएर प्रयास गरिन् । तर एक मिनेटभन्दा उनी नाच्न सकिनन् । मोटी भएर सन्तुलन मिलाउनै गाह्रो भयो उनलाई । भोलिपल्ट कार्यालयमा गएर नाच्न नसक्ने बताइन् । तर त्यत्तिमै उनले छुटकारा पाइनन्, उनी आफैंले नचाहेको होइन । तर समाज र दर्शकले स्विकार्दैनन् कि भन्ने डर जीवितै थियो उनमा ।

आजभोलि भन्दाभन्दै नाच्ने दिन आयो । स्टेज पनि टेकिन् । ‘स्टेजमा पुग्नासाथ हातखुट्टा काम्यो । बोल्नलाई दिएको माइकमा के बोलें भन्ने पनि थाहा भएन । पछि माइकचाहिँ नदिएको भए हुने भन्नुभएको थियो,’ मच्चिएरै हाँसिन् उनी । नाच्न थालेपछि डर आफैं हरायो । माइतीघर बोलको गीतमा नृत्य गरेकी थिइन् त्यो दिन ।

उनी सम्झिन्छिन्, ‘नाच्न सुरु गर्दा दर्शक यत्रतत्र छरिएका थिए । चार मिनेटको गीत सकिँदा आँखाले देखेर नभ्याउने मानिस जम्मा भए ।’ यसो भनिरहँदा उनको अनुहारमा खुसीको सुनौलो लाली छाउँछ ।

दर्शकले बजाएको ताली नै उनको प्ररणको स्रोत बन्यो । त्यो दिन उनका लागि जीवनमा निकै खास बन्यो । ऊर्जाको स्रोत साबित भयो । पछाडि फर्कनु परेन । आजसम्म निरन्तर हौसला मात्र पाएकी छिन् उनले ।

बिस्तारै–बिस्तारै पैसा पनि आउन थाल्यो । जुन उनले सोचेकी थिइनन् । आजसम्मको यो सफलतामा उनलाई सामाजिक सञ्जालले विशेष सहयोग गरेको छ । उनी पुग्न नसकेको ठाउँमा उनले नाचेको भिडियो पुर्याउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

अपांगता भएपछि एक खुट्टाले नाचेको त्यो भिडियोबाट उनलाई धेरैले चिन्न थाले । स्टेज कार्यक्रमहरूबाट बोलाउन थाले । आजको यो सफलताको श्रेय उनी अपांग महिला संघलाई पनि दिन चाहन्छिन् जसले उनको मुर्झाएको प्रतिभालाई जाग्रित गराउन सहयोग गरेको थियो ।

आज निलम देश–विदेशका विभिन्न कार्यक्रममा पुग्छिन् । आफ्नो नाच प्रस्तुत गर्छिन् । आफ्नो कलाले उनलाई जापान, मलेसिया हङकङलगायतका देशको भ्रमण गराइरहेको छ ।

शरीरको एउटा भाग मात्र काममा नआएको हो, खुसी हुनलाई अरू थुपै्र कुरा छन् भन्ने कुरा उनले राम्ररी बुझेकी छिन् । उनी भन्छिन्, ‘हरेस खान हुँदैन । मेरो जीवन सकियो भन्ने सोच्यो भने मानिस अनावश्यक दुःखमा फस्दै जान्छ । परिस्थितिको सामना गर्न सक्नु पर्छ ।’

उनको बुझाइमा सेल्फ मोटिभेसन सबैभन्दा ठूलो कुरा हो । जबसम्म सेल्फ मोटिभेसन छ, जीवन छ । यो सकिएको दिन बाँचेर मात्रै काम छैन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार