सेयर बजारको ‘लाल सलाम !’

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ आइतवार नेप्से परिसूचकमा लामो समयपछि फराकिलो गिरावट देखियो । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से बीचमा सुधार हुने प्रयास गरे पनि उकालो लाग्न सकेन । बजारमा विक्रीको चाप बढ्न थालेपछि केही ब्रोकर र लगानीकर्ताले नेप्सेको बाढीलाई रोक्न प्रयास गरे पनि सफल नभएको ब्रोकरहरु नै बताउँछन् ।

‘यसरी बजार झर्यो भने लगानीकर्ता हतोत्साहित हुनसक्छन्,’ एक ब्रोकरले भने, ‘त्यसलाई रोक्न प्रयास गरे पनि सकिएन ।’ आइतवार नेप्से ३ दशमलव शुन्य ९ प्रतिशत (४१ दशमलव ५६ अंक) घटेर १३ सय ४ दशमलव ४३ अंकमा झर्यो ।

गत वर्षको ३ फागुनमा १२ सय ७५ अंकमा भएको नेप्से भोलिपल्ट झण्डै ४४ अंक बढेर ४ फगुनमा १३ सय १६ दशमलव ८ अंकमा पुगेको थियो । त्यसयता पहिलो पटक नेप्से १३ सय अंकको स्तरमा झरेको हो । वित्तीय बजारमा तरलताको अभाव चर्किँदै जाँदा सेयर बजारबाट लगानी सुरक्षित गर्नेको भीड लागेको छ । यसले नेप्सेलाई लगातार ओरालो लाग्न सघाएको छ ।

अर्थमन्त्रीसँग किन डराउँछन् लगानीकर्ता ?

यसअघि बाबुराम भट्टराईले ‘सेयर बजार जुवाघर हो’ भनेपछि ११ सय ७५ अंकमा पुगेको नेप्से परिसूचक लगातार आरालो लागेर ३ सय अंकभन्दा तल झरेको थियो । अहिले पुनः अर्थमन्त्रीको त्यस्तै धारणा सार्वजनिक भएपछि बजारमा त्यसले नकारात्मक प्रभाव पारेको छ ।

नवनियुक्त अर्थ तथा योजना मन्त्री डा युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भएको टिप्पणी गरेका थिए । त्यसबाट सरकारले आगामी दिनमा सेयर बजारलाईउ फाइदा पुगने नीति लिँदैन भन्ने शंका लगानीकर्तामा उब्जेको छ । यही त्रासले लगानीकर्ताहरु अहिले बजारबाट बाहिरिने कोसिसमा छन् । लगानीकर्ता संघले पनि मन्त्री खतिवडाको उक्त अभिव्यक्तीको आलोचना गरिसकेको छ ।

वियरिश बजार

फागुन ३ मा १४ सय २५ अंकमा रहेको सेयर बजार त्यसयताका ब्यापार भएका ९ दिनमा सेयर बजार परिसूचक १ सय २१ अंक (साढे ८ प्रतिशत) घटिसकेको छ । सेयर बजारको आकार नै एक दिनमा ४७ अर्ब रुपैयाँ घटेको छ । गत बुधवार नेप्सेको बजार पूँजीकरण १५ खर्ब ७४ अर्ब रुपैयाँ थियो । त्यो आइतवार १५ खर्ब २७ अर्बमा झ¥यो । लगानीकर्ताहरु बजार अझै तल जाने बताउँछन् । सर्वसाधारण सेयरधनीस्को स्वामित्वको फ्लोट बजार पूँजीकरण पनि ५ खर्ब १३ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

१६० मध्ये २ कम्पनी नाफामा

आइतवार नेप्सेमा ब्यापार भएका १ सय ६० कम्पनी मध्ये २ कम्पनीका सेयर धनीले मात्रै नाफा कमाएका छन् । यस दिन सूर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३ दशमलव ९३ प्रतिशत महँगियो भने स्वदेशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १ दशमलव ८६ प्रतिशत महँगियो । बाँकी कम्पनीका लगानीकर्ताले पूँजीगत लाभ लिन सकेनन् । आइतवारको ब्यापारमा सबैभन्दा खराब कम्पनीको सूचीमा हिमालयन डिष्ट्रिलरी र विशाल बजार कम्पनी रहेका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशत सस्तिएको छ ।

आइतवार सबै समूहगत परिसूचकअरु ओरालो लागेका छन् । ब्यापार समूहको परिसूचक साढे ७ प्रतिशत घटेको छ । त्यसपछि बीमा, जलविद्युत् र लघुवित्त समूहका सेयरहरु तीव्र दरमा सस्तिएका छन् । यस दिन नेप्सेमा ५ हजार ९ सय ४३ ब्यापारबाट १ सय ५१ कम्पनीका १३ लाख १२ हजार कित्ता सेयर ब्यापार भए । यसबाट नेप्सेमा ४८ करोड ३६ लाख रुपैयाँ पूँजी परिचालन भयो भने ।

ओभर सोल्ड जोन

आइतवार नेप्सेको १४ दिने आरएसआई २४ दशमलव ६३ अंकमा झरेको छ । आरएसआई ३० अंकभन्दा तल झर्ने अवस्थालाई ओभर सोल्ड जोन (अत्यधिक विक्री भएको क्षेत्र) मान्ने गरिन्छ । अर्थात् सेयर बजार अब विक्रेताको कब्जामा पुगेको देखिन्छ ।

सामान्यतया बजार ओभर सोल्ड जोनमा पुगेपछि लगानीकर्ताहरुले प्रवेश गर्न उचित ठान्छन् । अत्यधिक विक्री भइसकेको बजारमा माग बढ्ने चक्र सुरु हुन्छ । त्यही आशामा लगानीकर्ताले यस्तो बेला बजार प्रवेश गर्न खोज्छन् । अहिले नेपाली बजारमा केही आधारभूत कुराहरु, जस्तै तरलता अभाव, न्युन लाभांश र अप्रवद्र्धनात्मक नीतिका कारण बजार अहिलेभन्दा केही तल झर्नसक्ने विश्लेषकहरुले बताएका छन् ।

कति घट्ला बजार ?

नेप्सेको रेखाचित्र विश्लेषणले १३ सय अंकको स्तरमा बजार अडिन नसके १२ सय ५० अंकसम्म झर्नसक्ने देखाएको छ । गत वर्ष नेप्सेको रेखाचित्रले १२ सय ५२ अंकलाई टेवा बनाएर फर्केको छ । त्यसबेला बनेको उल्टो ‘हेड एण्ड सोल्डर’ आकृतिले सेयर बजारलाई साँढे ४ सय अंक माथि धकेलेको थियो । यति बलियो टेवा पार गर्न नेप्सेलाई सजिलो पक्कै छैन । तर आधारभूत पक्षहरुले भूमिका खेलेको बजारमा प्राविधिक औजारका प्रक्षेपणहरु यदाकदा निस्तेज हुनसक्छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार