किन बढ्दै छन् डिभोर्स् ?

सुरेश ढकाल

२० फागुन २०७४, आइतबार

डिभोर्स अर्थात् पारपाचुके वैधानिक विवाहको वैधानिक तवरमा छुट्टिने स्वरुप हो । डिभोर्सका कारण र परिणाम बहुआयामिक हुन्छन् तर, यसको कानुनी स्वरुप एउटै हुन्छ । यसर्थ सबै डिभोर्सलाई एउटै आँखाबाट हेर्न मिल्दैन । डिभोर्सलाई यसका कारण र परिणामका आधारमा सही वा गलत भन्न सकिन्छ ।

पछिल्लो समयमा डिभोर्स गर्नेको संख्या बढेको भन्नु वा देखिनु मुलुक आधुनिक राज्य र शासनको अवधारणामा प्रवेश गरेकाले हो भन्ने पनि बुझ्नु पर्दछ । पहिले विवाहले सामाजिक मान्यता पाए पुग्थ्यो, अहिले कानुनी मान्यता पनि पाउनु पर्ने भयो । अर्थात् विवाह दर्ता गर्नु पर्ने भयो, त्यसैगरी डिभोर्स पनि । तसर्थ यो गणनामा आउन थाल्यो ।

यसभन्दा अगाडि पनि डिभोर्स हुन्थे तर, तिनको रेकर्ड गर्ने परिपाटी थिएन । जसरी विवाहलाई वैधानिक रुपमा दर्ता गरिन थालियो त्यसैगरी सम्बन्धविच्छेदलाई पनि दर्ता गरिन थालियो । यो रकर्ड प्रणाली आउनुभन्दा अगाडि पनि श्रीमान-श्रीमती छुट्टिएर बस्ने त गर्थे नै ।

पछिल्ला दिनमा डिभोर्स बढ्नुका केही संरचनागत कारण छन् । संयुक्त परिवारबाट एकल परिवारमा आउने प्रचलन बढेको छ । यो एकल परिवारले मानिसमा वैयक्तिकताकाे विकास गरेको छ । ठूलो संख्यामा युवाहरु माइग्रेट हुन थालेका छन् । यससँगै पुराना स्थापित मूल्य-मान्यता भत्किन थालेका छन् ।  प्रेमविवाह गर्ने प्रचलन पनि बढेको छ । पहिले परिवारको रोजाइमा बिहे हुन्थ्यो र सम्बन्धविच्छेद गर्दा पनि परिवारको सहमति आवश्यक ठानिन्थ्यो तर आफूखुसी विवाह गरेपछि सम्बन्धविच्छेद पनि आफ्नै ईच्छा अनुरुप गरिन्छ । त्यसैले पनि पछिल्लो समय मागीविवाहभन्दा प्रेमविवाह गर्नेहरुको डिभोर्स बढी भएको देख्न सकिन्छ ।

अहिलेको सन्दर्भमा डिभोर्स सम्बन्धी कानून महिलाको हकमा अलिक सजिलो छ । महिलाहरु आफ्ना खसमका यातना र इज्जतका लागि भनेर अन्याय, अत्याचर सहेर बस्नु आवश्यक ठान्दैनन् । कानुनलाई जटिल बनाउनु हुँदैन् । डिभोर्स एकदमै स्वभाविक हो, प्राकृतिक कुरा हो । तसर्थ यसलाई सहज हुने कानुन बनाउनु पर्छ । डिभोर्स आफैमा कारण होईन, विभिन्न कारणले सिर्जना गरेको परिणाम हो । डिभोर्स हाम्रो संस्कृतिको अंग होइन भन्ने धारणा पनि सुनिन्छन तर, मुलुक नै आधुनिक राज्यको अवधारणामा गइसकेपछि यहाँ संस्कृतिले भन्दा पनि कानुनले राज्य सञ्चालन गर्ने हो । कानुनले मानिसलाई स्वतन्त्रता र सुरक्षा प्रदान गर्ने हो । हिजो पनि डिभोर्स हुन्थे तर डिभोर्सलाई दर्ता गर्ने स्थान थिएन ।

धेरै हदसम्म संस्कृतिको कुरा गर्दा हामी मुलतः बाहुन, क्षेत्री अर्थात खस आर्य संस्कृतिको सन्दर्भमा कुरा गरिरहेका हुन्छौ । बहुमत जनसंख्या त बाहुन क्षेत्रीभन्दा अन्य जातिको छ । तसर्थ, विवाह र सम्बन्धविच्छेद अन्य जात जाति, मूलतः आदिबासी जनजातिको सांस्कृतिक सन्दर्भमा हेर्दा फरक दृष्य देखा पर्न सक्दछ । त्यसकारणले पनि विवाह वा डिभोर्सलाई एउटै आँखाबाट हेर्नु पर्याप्त हुँदैन ।

डिभोर्सका कारणहरु धेरै हुन्छन् र त्यसले निम्त्याउने परिणाम पनि बहुआयामिक हुन्छन् । यदि महिलाको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, महिलाले पुरुषको दासत्वबाट, शोषणबाट मुक्ति पाउँछन् । यदि डिभोर्स गर्ने जोडीको सानो उमेरका बच्चाबच्ची छन् भने उनीहरुको मानसिकतामा आमाबुबाको सम्बन्धविच्छेदले नकारात्मक असर पर्न सक्छ । हाम्रो परिवार र समाजको संरचना पनि यथास्थितिवादी छ, यस्तो समाजमा डिभोर्स हुँदा समाजमा कुरा काट्ने गरिन्छ । जुन स्वभावतः मानसिक रुपमा पिडादायी हुन्छ, खासगरी महिलाका लागि । जुन कारणले डिभोर्स भएको हो, त्यही कारणले परिणाम निर्धारण गर्ने हो । निरपेक्ष रुपमा डिभोर्सको कारण र परिणामलाई सही वा गलत भन्न सकिँदैन ।

हाम्रो राज्य आधुनिकीकरणको प्रक्रियामा गइरहेको छ । कानुन पनि उदार र खुला हुँदै गइरहेका छन् । खुल्ला हुँदै गइरहेका कानुनको उपभोग गर्ने जनता र समाजको मानसिकता कस्तो छ ? यो महत्वपूर्ण प्रश्न हो । डिभोर्सको हकमा भन्दा कानुनी र सामाजिक हिसाबले मान्छे स्वतन्त्र हुन्छ, कानुनको सहयोगले ऊ बलियो पनि हुन्छ तर, समाजको वैचारिकी यथास्थितिवादी भइदिँदा उसले मानसिक तनावको सामना गर्नु पर्छ । हाम्रो कानुनले सबै कुरा गर्छ तर मनोवैज्ञानिक र समाजिक सुरक्षाका कुरा भने गर्दैन । यो ठूलो समस्या हो । डिभोर्स गर्दा दम्पति र उनका सन्तान सबैलाई मनोवैज्ञानिक परामर्श आवश्यक हुन्छ, मनोवैज्ञानिक परामर्शको अभावमा उनीहरुको सामाजिक तथा मानसिक जीवन बिथोलिने सम्भावना बढी हुन्छ ।

डिभोर्सलाई सहज रुपमा स्विकार्ने या नस्विकार्ने यसको निर्भरता समाजको आर्थिक र भौतिक विकासले निर्धारण गर्छ । आर्थिक र भौतिक पक्षले नै समाजिक मूल्य र मान्यतामा प्रभाव पार्छ । जति छिटो समाजका आर्थिक आधार बलियो बन्छन् र राज्यले सामाजिक सुरक्षा प्रदान गर्छ, त्यति छिटो नै डिभोर्स समाजका लागि सहज र स्विकार्य बन्छ ।

सम्बन्ध भनेको दुई पक्षका मान्छेबीचको कुरा हो । सम्बन्धविच्छेद हुनुलाई निरपेक्ष रुपमा राम्रो या नराम्रो भनेर भन्न सकिँदैन् । सम्बन्ध मानिसका आवश्यकता पूरा गर्नका लागि बन्ने हो । मानिसका भौतिक, शारीरिक भोक हुन्छन्, त्यस्तै मानसिक, मनोवैज्ञानिक चाहना, इच्छाहरु हुन्छन्, यी दुवै मानिसका आवश्यकता हुन् । यिनै आवश्यकता पूर्तिका लागि सम्बन्धहरु निर्माण हुन्छन्, जस्तै वैवाहिक सम्बन्ध । उदाहरणका लागि यौन आवश्यकता, यो जीव वैज्ञानिक र मानसिक आवश्यकता हो । हाम्रो परम्पराले पनि विवाहले महिला र पुरुषबीचको यौनिक सम्बन्धलाई सामाजिक मान्यता प्रदान गर्छ भन्छ । यदि यो आवश्यकता पूरा भएन भने पनि सम्बन्धमा किन बस्ने ? सम्बन्धको स्थायित्व यस्ता कुराहरुले पनि निर्धारण गर्छन् । जुन आवश्यकताका लागि सम्बन्ध निर्माण भएका हुन्छन्, यदि सम्बन्धले त्यो उद्देश्य पूरा गर्न सकेन भने सम्बन्धहरू भत्किन सक्छन् वा त्यस्तो सम्बन्धकाे सान्दर्भिकता सकिन्छ ।

तसर्थ सम्बन्ध र सम्बन्धविच्छेद सन्दर्भ सापेक्ष कुरा हुन् । निरपेक्ष रुपमा र सन्दर्भबाट अलग गरेर डिभोर्सलाई सामान्यीकरण गर्नु गलत हुन जान्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार