गृहमन्त्री थापा इन्डोनेसिया प्रस्थान

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा इन्डानेसिया प्रस्थान गरेका छन् । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री थापा अाइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन् ।

यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरू सहभागी हुँदै छन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपालसहित चीन, भारत, अष्ट्रेलियागायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरू आइओएम, युएनएचसिआर र युएनओडिसीका प्रतिनिधि सम्मेलनमा सहभागी हुँदै छन् ।

मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरूबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।

गृह मन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा आज बेलुका ९.३० बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी साउन २३ गते स्वदेश फर्कनेछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार