भी टेनको गीतले जन्माएको प्रश्न

महावीर विश्वकर्मा

२१ साउन २०७५, सोमबार

फेसबुक चलाउँदै थिएँ । कसैले सेयर गरेको समाचार लिंकमा आँखा पर्यो । शीर्षक थियो, ‘बलात्कारपछि बर्बर हत्या’ । लिंकमा क्लिक गरें । खुल्यो । कान्तिपुर दैनिकमा प्रकाशित सामग्री रहेछ, अर्जुन शाहले लेख्नुभएको । कैलालीकी २० वर्षीया युवतीको सामूहिक बलात्कारपछि हत्या गरिएको कुरा लेखिएको थियो ।

सो ठाउँको ४२ घर दलित परिवारमध्ये एसएलसी पास गर्ने उनी एकजना मात्रै, अहिले १२ को परीक्षा दिएर बसेकी । मेरी बहिनी पनि १२ को परीक्षा दिएर बसेकी छे । ती युवतीलाई मेरै बहिनीसँग तुलना गरेर अगाडि पढ्दै गएँ ।

वडा कार्यालयको गणकमा पहिलो नम्बरमा नाम निस्केको, नाम निस्किएपछि उनले आमालाई ‘अब तपाईंहरूका दुःखका दिन गए’ भनेको पढिरहँदा लेखाइको भाषाले मेरो मस्तिष्कमा एकखाले चित्रजस्तै बनाउँदै गइरहेको थियो । ती दृश्यहरू आँखामा आएजस्तै भान भइरहेथ्यो ।

तर जब जंगलको बाटो भएर साइकलमा जाँदै गरेकी उनलाई बीचमा पुग्दा गौंडा ढुकेर बसेका चारजनाले हात बाँधेर मुखमा कपडा कोची सामूहिक हत्या गरेको पढ्नुप¥यो, तब आँखामा आएको त्यो दृश्यले मलाई औडाहा भयो । अनि फेसबुकमा त्यो लिंक सेयर गर्दै यत्ति लेखेँ, ‘यो पढ्नोस् न है !’

त्यति नै बेला मेरो साथी छेउमा युट्युबबाट गीत बजाउँदै थियो । ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ बोलको गीतको म्युजिक बज्दै थियो । म अघि भर्खर फेसबुकमा सेयर गरेको लिंकको लाइक र कमेन्ट हेर्दै थिएँ । त्यति नै बेला साथीले बजाइरहेको गीतको शब्दले म झस्किएँ ।

‘होइन यस्तो पनि गीत हुन्छ ?’

साथी हाँस्यो ।

‘फेरि सुरुदेखि लगाऊ त यो गीत ।’

उसले गीत सुरुदेखि लगायो । शब्द ध्यान दिएर सुनें ।
‘ओहो… ! यस्तो अश्लील र उच्छृंखल शब्द भएको गीत पनि छ ?’ मलाई अचम्म लाग्यो ।

‘कसले गाएको यो गीत ?” साथीलाई सोधें ।

‘भी टेनले,’ उसले भन्यो । अनि थप्यो, ‘भी टेन त अहिलेको चर्चित र्यापर हो नि ।’

मैले गाउँ जाँदा घरछेउको लगभग १३–१४ वर्षको भाइले भी टेन भन्ने नाम लिएको सुनेको थिएँ ।

‘भी टेनको जस्तै कलर हाल्ने कपालमा,’ उसले भनेको थियो । उसको पुस्तामा र्यापरहरूको छाप परेको छ भन्नेचाहिँ महसुस गरेको थिएँ मैले । तर ऊ जोबाट प्रभावित भइरहेको छ, उसले कस्तो गीत गाउँछ भन्नेचाहिँ थाहा थिएन ।

त्यसो त मलाई र्याप संगीतको खासै जानकारी छैन भन्दा पनि हुन्छ । मेरो मोबाइलमा खै कताबाट हो एउटा र्याप गीत परेको रहेछ यमबुद्धको ‘साथी’ । बिहान जिम गर्दा कहिलेकाहीँ मोबाइलमा गीत सुन्छु । क्रमैसँग गीत बज्दै जाँदा यो गीत पनि बज्छ । गीतमा एउटा साथीको सम्झना गरिएको छ, जसले कुलतका कारण ज्यान गुमायो । मलाई मनपर्छ यो गीत ।

लगभग चार वर्षजति अघि मैले ६–७ वटा र्याप गीत सुनेको थिएँ । तीमध्ये धेरै यमबुद्धका थिए र बाँकी लाहुरेका । मलाई त्यतिबेला सुनेका यमबुद्धका गीतहरूको बोल त याद छैन, तर ती सबै सामाजिक विषयमा थिए । उनले सबै त्यस्तै नै गाएका थिए कि त्यतिबेला मैले सुनेका चाहिँ संयोगले त्यस्ता परेका हुन् त्यो त थाहा भएन । तर उनका गीतहरू मन परेको थियो मलाई ।

मलाई त्यतिबेला पनि लागेको हो, अहिलेको पुस्ता मैले जस्तो पुराना गीतहरू सुन्दैनन्, गीत संगीतको नयाँ टेस्ट मन पराउने अहिलेको पुस्तालाई यसरी र्याप संगीतमार्फत सामाजिक विषयमा सही कुरातर्फ अघि बढाउनु त धेरै नै राम्रो हो । तर त्यतिबेला सुनेको लाहुरेको ‘नेफपको बाटो’ भन्ने गीतको केही शब्द भने साह्रै नै अश्लील थिए । गीतको सुरुमै भनिन्थ्यो–

“अठार वर्षभन्दा मुनिकाले कान थुनेर बस
अठार वर्षभन्दा माथि, नेफपको बाटोमा परेड खेल्न आइज’

तर गीतचाहिँ अठार वर्षभन्दा मुनिकाले पनि मज्जैले सुन्ने गरेका थिए । यो गीतको त भिडियोमै १८ वर्षभन्दा मुनिको बालकलाई प्रमुख पात्र बनाएर खेलाइएको छ ।

‘यस्तो शब्द नि गीतमा राख्न मिल्छ ?’ भनेर त्यतिबेला साथीसँग कुरा गरेको थिएँ । उसले र्याप गीतहरूमा यस्तो शब्द प्रयोग हुन्छ भनेको थियो । अनि यस्ता गीतहरू अन्डरग्राउन्ड हुन्छन् पनि भनेको थियो ।

चार–पाँचवटाजति र्याप ब्याटलहरू पनि हेरेको छु मैले । यत्ति हो र्याप संगीतसँगको मेरो चिनाजानी । यति थोरै चिनाजानीले त्यो क्षेत्रबारे धेरै ज्ञान मसँग नहुने त स्वाभाविक नै भइगयो ।

मैले भी टेनको त्यो गीत फेरि सुनें । अनि त्यसको लिंक फेसबुक पेजमा सेयर गर्दै सो गीतको विरोध गरें ।

कवि सरिता तिवारीले कमेन्ट गर्नुभयो– ‘कलाको नाममा कलंक । यस्ता गीत र भिडियो त सेन्सरबोर्डले रोक्नुपर्छ नि !’

अर्का कवि बलराम तिमल्सिनाले लेख्नुभयो— ‘यौन आतंककारी गीत रहेछ ।’

सामाजिक विषयमा लेख्ने र पढ्ने किरण विकले कमेन्ट गर्नुभयो— ‘यो गीत मलाई असाध्यै मन नपरेको हो । बेलाबेलामा मलाई यसविरुद्ध पुलिसमा निवेदन गरुँ कि जस्तो लाग्यो, तपाईंलाई नि त्यस्तै लागेछ ।’

केहीले चाहीँ तपाईँलाई र्याप सँगीत बारे थाहा रहेनछ भन्दै मेरो कुरामा असहमति पनि जनाए । मलाई र्याप संगीतबारे खासै थाहा नभएको त हो । तर, जुन गीत समाजका लागि घातक छ, त्यसको विरोध गर्नका लागि पनि थप केही सोचविचार गरिरहनुपर्छ र ? अथवा त्यो कुन धारको गीत हो, त्यो धार कस्तो हो भनेर गहन अध्ययन गरिरहनुपर्छ र ? मलाई त पर्छ जस्तो बिल्कुल लाग्दैन ।

यहाँ मैले भन्नैपर्ने कुरा केचाहिँ हो भने, मैले समग्र र्याप संगीतको विरोध गरेको होइन । मैले त अश्लील शब्द प्रयोग भएको गीतको पो विरोध गरेको हो त । मैले सुनेका यमबुद्धका गीतहरूको त प्रशंसै गरेको छु नि ।

र्याप गीतसंगीत कस्तो हुनुपर्छ भन्ने विषयमा लम्बेतान गफ दिन खोजिरहेको छैनँ म किनकि त्यो धारको गीतसंगीतप्रति मेरो ज्ञान छैन । यो धार्मिक भजनजस्तो, वा प्रगतिशील गीतसंगीतजस्तो हुनुपर्छ पनि भन्न खोजेको होइन । तर, यस्ता गीतसंगीतले टिनएजर्समा विषयप्रति कस्तो धारणा बनाउँछ ? समाजका अरू विषयहरूमा उनीहरूको विचार कस्तो बनाउँदै लैजान्छ भन्नेचाहिँ मेरो चासो हो ।

भी टेनको जस्तै कपाल रंग्याउने चाहना राख्ने मेरो गाउँको भाइका लागि भिटेन आदर्श व्यक्ति हो । तर, उसले उसको आदर्श व्यक्तिबाट के सिकिरहेको छ भन्नेचाहिँ मेरो चिन्ताको विषय हो किनकि मेरो गाउँको भाइ अहिलेको पछिल्लो पुस्ताको प्रतिनिधिमूलक पात्र मात्रै हो, त्यस्ता असंख्य भाइहरू मोबाइलमा यस्तै गीत सुनिरहेका छन् ।

साथीहरू यस्तै गीत गाइरहेका छन् । जब यस्ता अश्लील गीतसंगीत उनीहरूको दिनचर्यासँग जोडिन्छ, त्यसले उनीहरूको सोचमा प्रभाव त पार्छ होला नि, होइन र ?

अश्लील शब्दको प्रयोगकै कारण रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यमबाट प्रसारण नगरिने यस्ता गीतहरूले युट्युबबाट आफ्नो पहुँच विस्तार गरिरहेका छन् । रेडियो, टेलिभिजनबाट प्रसारण गर्न नहुने यस्ता गीतहरू युट्युबमा चाहिँ किन सहजै राख्न दिने त ? यतातर्फ ध्यान दिने कसले ?

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार