नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडौं – नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृंखला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्यान्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।

पहिलो खेल कमजोर ब्याटिङका कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको उनले बताए । नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने उनले विश्वास व्यक्त गरे ।

एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुँदै छ । नेपाली टोली बेलायतको लड्समा त्रिकोणात्मक टी–२० शृंखला र नेदरल्यान्ड्समा दुई खेलको एकदिवसीय शृंखला खेलेर स्वदेश फर्किएको हो ।

नेदरल्यान्ड्स जानुअघि नेपाली टोलीले बेलायतको लड्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)सँग टी–२० खेलेको थियो । उक्त खेलमा नेपाल विजयी भएको थियो । नेदरल्यान्ड्ससँगको एकदिवसीय शृंखलामा पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा एक रनले विजयी भएको थियो ।

यसैबीच, नेपाली टिमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न आइतबार वेस्ट इन्डिज गएका छन् । नेदरल्यान्ड्सबाट उनी सीधै वेस्ट इन्डिजतर्फ गएका हुन् । सन्दीप सिपिएल टिम सेन्ट किट्स एन्ड नभिस पाट्रिओट्ससँग आबद्ध भएका थिए । सिपिएल यही साउन २२ गतेदेखि भदौ ३१ गतेसम्म हुनेछ । सिपिएलमा ६ टोली सहभागी हुनेछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार