दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा

फरक धार

२१ साउन २०७५, सोमबार

काठमाडौं – नेपालको दुर्गम पहाडी गाउँमा जन्मे/हुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पुर्यायो । एक्काइसौँ शताब्दीका महत्त्वपूर्ण विश्वघटनाक्रम नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकैबखत हामीले समाचारहरूमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरूसँग उनी भने सहकार्य गरिरहेका हुन्थे ।

मध्यपहाडी जिल्ला गुल्मीको एउटा कमै सुनिएको गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? के–कस्ता चुनौतीहरू सामना गरे ? र, अहिले नेपाली समाजले उनीबाट के–कस्ता लाभ लिइरहेका छन् ? यी तमाम जिज्ञासाहरूको उत्तर दिनका निम्ति पब्लिकेसन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै नयाँ पुस्तक प्रस्तुत गर्ने भएको छ– ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – मार्इ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेसन्स’ (गुल्मीबाट उठेको विश्व नागरिक – नेपालको पहाडदेखि राष्ट्रसंघका बैठकसम्मको मेरो यात्रा) ।

पुस्तक हो, कुलचन्द्र गौतमको जिवनी ।

संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय बालकोष (युनिसेफ)को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निभाएका गौतमका भोगाइ नै यस पुस्तकमा समेटिएका छन् ।

पुस्तकको प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले युनिसेफमा गौतमको योगदानले संसारलाई आमा तथा बालबालिकाहरूका निम्ति अझ सुरक्षित स्थानमा परिणत गरेको उल्लेख गरेकी छिन् । ‘नेपालको शान्ति प्रक्रियामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रित गर्न सघाउ पुर्याएको छ,’ राष्ट्रपति भण्डारीको भनाइ छ, ‘अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभवसहित नागरिक समाजको अगुवाका रूपमा योगदान दिइरहने गौतमको जीवनपथ अरूका निम्ति पनि अनुकरणीय हुन सक्छ ।’

आफ्ना सहकर्मीको जीवनी प्रकाशित हुन लागेकामा प्रसिद्ध विकास अर्थशास्त्री सर रिचार्ड जोलीले भूमिका लेख्दै विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधासहित जन्मेकाहरूको निम्ति यो जीवनी शिक्षा हुन सक्ने औँल्याएका छन् । ‘यस पुस्तकमार्फत विश्वकै नेताहररू र सेलिब्रिटीसँगको कुलचन्द्रका रोचक र गहिरो संसर्गका आनन्द पाठकहरुले पाउनेछन्,’ उनले उल्लेख गरेका छन्, ‘नेपालको एउटा गाउँबाट उठेको व्यक्तिले यति उर्जा र दूरदर्शिता प्रस्तुत गर्न सक्छ भने विश्वका अन्यत्र जन्मेका मानिसहरूभित्र यसैगरी लुकेका प्रतिभा उजागर भइदिए झन् कस्तो होला ?’

पुस्तक गौतमको ग्रामीण बाल्यकालबाट सुरु हुन्छ । त्यो स्कुल, बिजुली वा बाटोघाटो केही नभएको दुर्गम गाउँ थियो । त्यस्तो ठाउँबाट उठेर उनी युनिसेफको उच्च ओहदामा पुग्छन् । त्यसपछिको तीन दसकसम्मका उथलपुथल र उकाली–ओराली यात्राहरूका रोचक वर्णन पुस्तकमा उल्लेखित छ ।

त्यही यात्रामा नेल्सन मण्डेला, आङ सान सुकी, बिल गेट्स, एडवार्ड सेभर्नात्जेदेखि थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेज अनि युनिसेफका थुप्रै सद्भावनादूतसम्मका रोचक भेटघाटको प्रसंग उल्लेख भएका छन् । आफ्ना यिनै अनुभवका आधारमा गौतमले नेपाल, संयुक्त राष्ट्रसंघदेखि समग्र विश्व समाजकै भविष्यका बारेमा आफ्ना धारणासमेत प्रस्तुत गरेका छन् ।

एक विशिष्ट कुटनीतिज्ञ र विकासे अभियन्ताको हैसियतले गौतमले अहिले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा सक्रिय सहभागिता जनाइरहेका छन् । नेपालको प्रधानमन्त्रीका विशेष सल्लाहकार रहेर विश्व मामिला तथा शान्ति प्रक्रियाबारे अवगत गराउने दायित्व पनि उनले निभाएका छन् ।

त्यसबाहेक नागरिक समाजको एक अनुभवी सदस्यका रूपमा उनले मानवअधिकार, सामाजिक आर्थिक विकास, लोकतन्त्र र सुशासनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । त्यसैगरी, अन्तर्राष्ट्रिय जगत्मा पनि उनी राष्ट्रसंघको दिगो विकास लक्ष्यका विशेषगरी बालअधिकार, स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका कदममा सक्रिय सहभागिता जनाइरहेका छन् ।

‘एउटा गाउँले केटो कसरी राष्ट्रसंघीय संयन्त्रकै उपल्लो ओहदासम्म पुग्न सक्यो भन्ने प्रेरणादायी जानकारी गौतमको यस जीवनीबाट मिल्छ,’ वरिष्ठ पत्रकार कुन्द दीक्षितले पुस्तकको अन्तिम पातोमा लेखेका छन्, ‘झट्ट हेर्दा नरम बोलीमा प्रकट भएता पनि चट्टानी मान्यताहरू र सामाजिक न्यायका निम्ति कदापि पछि नहट्ने अडानहरू नै गौतमको पहिचान हो ।’

पुस्तक आगामी मंगलबार (साउन २२ गते) सार्वजनिक हुँदै छ । सोही दिनदेखि पुस्तक अमेजोनको पिओडी (प्रिन्ट अन डिमान्ड) र किन्डलमार्फत संसारभर उपलब्ध हुनेछ ।

पातलो गाता पुस्तकको मूल्य ८ सय ९५ रुपैयाँ र मोटो गाता पुस्तकको मूल्य एक हजार तीन् सय ९५ रुपैयाँ राखिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार