राष्ट्रियसभा अध्यक्ष गणेश तिम्सिनाको ‘चिठ्ठा’ अनुभवः टिभी किन्दा ३ हजार परेको थियो

फरक धार

२३ साउन २०७५, बुधबार

त्यो दिन चिठ्ठा तान्ने समयमा सबैभन्दा छिटो मैले नै चिठ्ठा तानेको हुनुपर्छ । मलाई थाहा छैन, अरु साथीहरुले कति समय लगाउनु भएको थियो । तर, म सुइँसुइँ गएँ, एउटा बल झिकेँ । त्यो ६ वर्षको पर्यो ।

केही पहिले राष्ट्रिय सभा सदस्यहरुको समयअवधि तोक्नका लागि गोलाप्रथा भयो । संविधानमा नै राष्ट्रिय सभा सदस्यहरुको समयावधि तोक्न गोलाप्रथा गर्ने भन्ने लेखिएको छ । गोलाप्रथामा राष्ट्रिय सभाका अध्यक्ष गणेशले ६ वर्ष कार्यकालको बल ताने । त्यसैले उनलाई धेरैले लक्की भने । त्यही दिन गोलाप्रथामा अर्थमन्त्री डा. युवराज खतिवडालाई चाहिँ २ वर्षको मात्र बल मिलेको थियो । यही सन्दर्भमा केही अघि फरक धारसँग तिम्सिनाले आफ्नो अनुभव सेयर गरेका थिए । उनको चिठ्ठा अनुभवः

 

खासमा राष्ट्रिय सभामा हामीले चिठ्ठाभन्दा पनि गोलाप्रथा प्रक्रिया अपनाएका हौँ । त्यसैले त्यहाँ भाग्यसँग जोडिएको केही कुरा हुँदैन ।

संविधानले नै व्यवस्था गरेको भएकाले यो गोलाप्रथा हो । हो, कतिपय ठाउँमा चिठ्ठाहरु लाभहानीका माध्यमहरु भइरहेका छन्, कतिपयले यसलाई आफ्नो भाग्यसँग पनि जोडिरहेको सुनिन्छ, कतिपय ठाउँमा चिठ्ठाहरु गैरकानुनी रुपमा पनि सन्चालन गरिएका छन् ।

तर, राष्ट्रिय सभामा भएको त्यो गोलाप्रथा संविधानले दिएको विषय हो र राष्ट्रिय सभाको अविछिन्न प्रक्रिया हो ।

कार्यावधी २, ४, र ६ वर्ष तोक्नका लागि सबैभन्दा उत्तम उपाय पनि यही हो भन्ने अहिले लागिरहेको छ । तर, शब्दका अर्थले निकै धेरै कुरा फरक पार्छन् । त्यसैले राष्ट्रिय सभामा हामीले गरेको त्यो प्रक्रियालाई गोलाप्रथा नै भन्नुपर्छ । चिठ्ठा नभनौँ, त्यसले गलत अर्थ पनि बोक्न सक्छ ।

राष्ट्रिय सभामा तानेको त्यो गोलाप्रथा नै मैले जीवनमा पहिलो पटक तानेको ‘चिठ्ठा’ हो । मैले यसअघि यसरी केही पर्ला वा पाउँला भनेर कहिल्यै चिठ्ठामा सहभागिता जनाएको थिइनँ ।

कहिलेकांही बजारमा जाँदा केही सामान किन्दा चिठ्ठा पर्छ भन्ने पनि गरिन्थ्यो । त्यस्तोमा पनि मलाई खासै वास्ता भएन । आजसम्म कहिल्यै केही परेन पनि ।

यो पहिलो पटक हो जब मलाई गोला थुतेर ६ वर्ष पर्यो । तर, त्यो गोला झिक्नुभन्दा पहिले मैले यसबारे केही सोचेकै थिइनँ । २, ४ वा ६ वर्षमध्ये एक पर्छ भन्ने थियो, जति परे पनि केही हुने वाला थिएन । यो त एउटा प्रक्रिया थियो । त्यसैले मैले यसलाई खासै ठूलो महत्व दिएको थिइनँ ।

त्यो दिन चिठ्ठा तान्ने समयमा सबैभन्दा छिटो मैले नै चिठ्ठा तानेको हुनुपर्छ । मलाई थाहा छैन, अरु साथीहरुले कति समय लगाउनु भएको थियो । तर, म सुइँसुइँ गएँ, एउटा बल झिकेँ । त्यो ६ वर्षको पर्यो ।

त्यहाँ पुग्दा र गोलाप्रथा तान्दा होस् या त्यसअघि मैले यसबारे सोचेकै थिइनँ । अब २ वर्ष परेको भए म फेरि पार्टीमा फर्किन पाउँथे । फेरि सक्रिय राजनीतिमा लाग्न पाउँथे । राष्ट्रिय सभाका लागि निर्वाचित हुँदा म एमाले थिएँ, अहिले त्यो पार्टी नै छैन । मैले राजिनामा एमाले पार्टीमा दिएको थिएँ, अहिले कुनै पार्टीमा छैन । त्यसैले २ वर्षको गोलाप्रथा परेको भए म किन खुसी हुन्थेँ भने म छिटै पार्टीको काममा लाग्न पाउने थिएँ ।

२ वर्षको समयको चिठ्ठा परेको भए त्यसैले पनि खुसी हुने नै थिएँ– पार्टीमा लाग्न पाउने भएँ भनेर

अर्को विकल्प चार वर्षको थियो ।

अबको चार वर्षपछि देशमा फेरि चुनावको माहोला हुनेछ । चुनावको माहोलले देशलाई झ्याप्पै छोप्दा म पनि त्यसमा रमाउन पाउने थिएँ । चार वर्षको अवधि भएको भए मैले सायद म पनि चुनावमा लड्न पाउने थिएँ । त्यसको माहोल छुट्टै हुने थियो । त्यसैले पनि मलाई चार वर्षको अवधि परेको भए पनि खासै फरक पर्ने थिएन ।

त्यो दिन गोलाप्रथा तान्दा मेरो समयअवधि ६ वर्षका लागि तोकियो । यो पनि राम्रै भयो भन्ने मेरो मनमा लाग्यो । अहिलेको संरचनामा मैले ६ वर्ष राष्ट्रिय सभामा योगदान दिन पाएँ । सकेसम्म राम्रो नै गर्नेछु भन्ने मलाई लागेको छ ।

हो, बरु मनमा खेल्छ– यो ६ वर्ष म साथीहरुबाट केही टाडा हुने भएँ । मलाई साथ दिनुहुने कतिपय साथीहरुलाई म यहाँ हुनुभन्दा बाहिर हुँदा धेरै सहयोग गर्न सक्थेँ होला । जस्तो अब हुने निर्वाचनमा नै भनौँ, म राष्ट्रिय सभा अध्यक्ष नभएको भए निर्वाचनमा उहाँहरुको प्रचारमा लाग्न पाउने थिएँ होला । समयअवधि ६ वर्ष परेकाले ती साथीहरुलाई यो समयमा साथ दिन पाउने भइनँ । मलाई भित्री मनमा यस्तै केही लाग्यो ।

यसअघि मैले यस्तो गोलाप्रथामा ध्यान दिएको थिइनँ । सानोमा स्कुले जीवनमा पनि यस्तो केही गरेजस्तो लाग्दैन । गरेकै भए पनि त्यस्तो ठूलो उपहार कहिल्यै परेको सम्झना छैन ।

तर, आजभोलि बजारमा हुने स्क्र्याच कुपन चाहिँ एकपटक स्क्र्याच गरेको याद छ ।

६० सालको कुरा हुनुपर्छ । म पोखरामा थिएँ । एउटा टिभी पसलमा हामी टिभी गन्न गएका थियौँ । कुनै अवसरको मौका हुनुपर्छ, टिभी किन्दा एउटा स्क्र्याच कुपन दिइयो । मैले स्क्र्याच गरेँ । २ हजार कि ३ हजार परेको थियो ।

त्यो पनि खासै उपलब्धिपूर्ण कुरा हो जस्तो मलाई लाग्दैन ।

यता, राष्ट्रिय सभामा चिठ्ठा तानेपछि केही साथीहरुले मलाई भन्नुभयो– तपाईं लक्की हुनुहुँदो रहेछ । उहाँहरु सायद भाग्यमा विश्वास गर्नुहुन्छ होला तर मलाई यस्तो लाग्दैन ।

किनकि मलाई पहिले नै थाहा थियो, त्यो गोलाप्रथामा मलाई तीनमध्ये एउटा पक्कै पथ्र्यो । कि २ वर्षको कि ४ वर्षको वा ६ वर्षको गोला मैले थुत्ने नै थिएँ । त्योभन्दा बाहिरको केही विष्मयकारी कुरा परेको भए पो भाग्यको सन्दर्भ आउँछ । अन्यथा भाग्य भन्ने कुरा कसरी लागु हुन्छ ? मेरो विचारमा भाग्यले होइन, यस्ता कुराहरुको परिणाम काम र कर्मले हुन्छ । हो, फरकफरक मानिसको फरकफरक विचार हुन्छ । म चाहिँ यसलाई भाग्यको कुरा जसरी लिदिँन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार