राष्ट्रियसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

फरक धार

२३ साउन २०७५, बुधबार

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

बैठकमा विशेष समय लिएर बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरूको उचित व्यवस्थापन नभएकाेमा गुनासो गरे ।

सरकारले हलियालाई तीन लाख र घर मर्मतका लागि एक लाख दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उनले आपत्ति प्रकट गरे । सांसद स्नेहीले घुस माग्ने सरकारी कर्मचारीलाई कडा कारबाही गर्न माग गरे ।

सांसद जितेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको उचित छानबिन गर्नुपर्ने माग गरे ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा प्रश्न उठेपछि त्यसलाई परीक्षण गर्नुपर्नेमा त्यसो नगरेर बहुमतको बलमा संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकोमा उनले गुनासो गरे । उनले भने, ‘जोशीले समेत आफ्नो प्रमाणपत्र छानबिन गर्न माग गरेकाले  गर्नुभएकाले तत्काल छानबिन गरी सत्यतथ्य जानकारी गराउनुपर्दछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्नुपर्छ ।’

राजनीति गणितका आधारमा नचल्ने भन्दै सांसद देवले राजनीतिलाई गणितको आधारमा नचलाउन आग्रह गरे । सांसद वृजेशचन्द्र लालले तराई मधेसका नागरिकले नागरिकता नपाएकोमा गुनासो गरे ।

सांसद विमला राई पौडेलले कञ्चनपुरमा पटकपटक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सरकारले कुनै पनि अपराधका बारेमा जानकारी नदिएको भन्दै गुनासो गरिन् । उनले बलात्कारको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र सत्यतथ्य छानबिन गर्न माग गरिन् । बलात्कार गर्नेलाई कडा कारबाही गर्न आग्रह गर्दै उनले विद्यमान कानुनमा सजाय कम भएकाले जन्मकैदको व्यवस्था गर्न सुझाव दिए ।

सांसद भैरवसुन्दर श्रेष्ठले गत शनिबार जाजरकोट जिल्लामा पहिरोमा परी नौ जनाको निधन भएको भन्दै अव्यवस्थित तवरले निर्माण गरिएका सडकका कारण पहिरो आउने क्रम बढ्दै गएको सदनलाई जानकारी गराए ।

उनले निर्माण व्यवसायीको लापर्वाहीका कारण जाजरकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको, जाजरकोट–डोल्पा जोड्ने सडकखण्डमा समेत निर्माण व्यवसायीले ज्यादती गरेको र पहिरोको कारण समस्या पैदा भएको भन्दै त्यस्ता व्यवसायीलाई कारबाही गर्न माग गरे ।

अर्का सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन माग गर्दै काँडाघारीमा पछिल्लोपटक निशान खड्काको हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारेमा पनि उचित जवाफ गृहमन्त्रीले दिनुपर्ने माग गरे ।

सांसद रामलखन चमारले नवलपरासीको गण्डक नहरका कारण भएको कटान, डुबानका कारण स्थानीयवासी समस्यामा परेको, समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गरे । गण्डक नहरका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न भारत सरकारले तदारुकता नदेखाएको भन्दै सांसद चमारले सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरे ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार