‘बुद्ध इज आवर हिरो’

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडाैं/ ‘बुद्ध वाज वर्न इन नेपाल’ भन्ने अभियानले यस अघि विशाल मानव निर्मित झण्डा बनाएर विश्व कीर्तिमान कायम गरेको थियो । शनिबार मात्रै टुँडिखेलमा ४८ हजार मान्छेले बुद्धकाे उपदेश धम्मपद एकैसाथ वाचन गरेर अर्को कीर्तिमान कायम गरेका छन् । यसै सेराेफेराेमा रहेर ‘बुद्ध वाज वर्न इन नेपाल’ अभियानमा सक्रिय रुपमा लागेका तथा गायक धीरज राईसँग सागर चन्दले गरेको संवाद:

बुद्ध नेपालमा जन्मेका हुन् भन्न यसरी मान्छे जम्मा गरेर देखाउनु पर्थ्याे र ?
हेर्नुहोस्, हामीले बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रमाणित गर्न खोजेका होइनौँ । यो कुरा त उहिल्यै प्रमाणित भईसकेको छ । हामीले त बुद्धको बारेमा विश्व समुदायमा रहेको भ्रम चिर्न मात्र खोजेका हौँ । जस्तो कि अझै पनि संसारभरका धेरै मान्छेलाई बुद्ध भारतमा जन्मेका हुन भन्ने लाग्छ । हो त्यस्तो मान्छेलाई गिनिज रेर्कडको माध्यमबाट बताउन खोजेका हौँ- बुद्ध नेपालमा जन्मेका हुन् ।

यसरी मान्छे त भारत वा अन्य देशले पनि जम्मा गर्न सक्ला नि हैन र ?
गर्न त सक्छ । तर, गिनिजका पदाधिकारी त्यति मुर्ख पनि छैनन् । गिनिजमा रेर्कड कायम गर्न धेरै प्रक्रियाहरु पार गर्नु पर्छ । हामीले बुद्धको नाममा रेकर्ड बनाउन खोजेका हैनौँ, हामी त मात्र बुद्ध हाम्रो देशका हुन भनेर संसारलाई चिनाउन चाहान्छौँ । कसैले धेरै मान्छे जम्मा गर्दैमा बुद्ध उसैको देशमा जन्मेको त प्रमाणित हुँदैन नि ।

तपाईको यो अभियानको विरोध गर्ने पनि छन् नि त ?
अब सबैलाइ त कहाँ खुसी पार्न सकिन्छ र ? विरोध गर्नेहरुले बुझ्नु पर्ने कुरा के हो भने बुद्ध हाम्रो राष्ट्रिय हिरो हुन् । नायक हुन् । उनको प्रचार गरेर विश्वमा देशलाई चिनाउनु गलत हैन । हाम्रो नियत ठिक छ, जसले जे भने पनि हामीलाई केही समस्या छैन् । त्यसकारण हाम्रो अभियानलाई सबैले सहि भन्नु पर्छ भन्ने छैन् ।

‘बुद्ध वाज बर्न इन नेपाल’ जस्ता अभियानले बुद्धका सिद्धान्त र धर्मको कत्तिको अनुसरण गर्छ ?
‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने अभियान बौद्ध धर्मको प्रचार गर्न गरिएको होइन । हामी धर्मसँग भन्दा पनि बुद्धको नेपाल परिचयसँग धेरै सरोकार राख्छौँ । बुद्ध, सगरमाथा र गोर्खाली भन्ने कुरा हाम्रा राष्ट्रिय परिचय हुन् । हामीले नेपालीको राष्ट्रिय परिचय विश्वभर फैलाउन खोजेका हौँ । बुद्ध हाम्रो सबैभन्दा पुरानो राष्ट्रिय हिरो हुन् ।

बुद्ध जन्मिँदा नेपाल नै थिएन तसर्थ बुद्ध नेपालमा जन्मिए भनेर भन्नु अनावश्यक हो भन्नेहरु पनि छन् नि ?
यस्तो भन्नेहरु तर्कको लागि मात्रै तर्क गर्नेहरु हुन् । यस्तो भन्नेहरु सव वाईयात हुन् । बुद्ध नेपालमा जन्मेका होइनन् भन्नेहरुले लुम्बिनीको अशोक स्तम्भ हेर्न अनुरोध गर्छु । उनको नामबाट हाम्रो राष्ट्रिय परिचय फैलाउनु समग्र नेपालीको कुरा हो । उनी जन्मेको भूमि नेपाली भुमि हो । तसर्थ बुद्ध नेपालमै जन्मेका हुन् भन्ने कुरा समग्र विश्वले मान्छ । बुद्ध इज आवर हिरो ।

तस्वीर : धीरज राईको फेसबुकबाट 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार