१५ वर्षसम्म गुफामा कैद गरेर यौनशोषण

फरक धार

२४ साउन २०७५, बिहीबार

इन्डोनेसिया– इन्डोनेसियाका एक वृद्धले १५ वर्षसम्म एक किशोरीलाई गुफामा कैद गरेर यौनशोषण गरेको घटना बाहिर आएको छ ।

प्रहरीले आरोपी ८३ वर्षे वृद्धलाई प्रकाउ गरेको छ । वृद्धले १५ वर्षअगाडि १३ वर्षकी किशोरीलाई अपहरण गरेर गुफामा कैद गरेको बताइएको छ । ती वृद्धले आफूमा एक युवकको आत्मा प्रवेश गरेर भन्दै १५ वर्षसम्म किशोरीमाथि यौनशोषण गरेका थिए । अहिले उनी २८ वर्षकी भइन् ।

प्रहरीका अनुसार ती महिलालाई गत आइतबार मध्य सुलावेसी प्रान्तको गालुुम्पाङ इलाकाबाट उद्धार गरिएको छ ।

प्रहरीले गुफाको जुन तस्बिर देखाएका छन् । त्यस गुफाभित्र केही फर्निचर सामग्री देखिएका छन् । उक्त गुफा अभियुक्तको घरनजिकै भएको प्रहरीले जानकारी दिएको छ ।

त्यहाँका प्रहरी प्रवक्ता एम इकबाल अलुकुदसीका अनुसार अभियुक्तले युवतीलाई १३ वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएका थिए । राति महिलालाई आफ्नो घर ल्याउँथे भने दिउँसो गुफामा कैद गरेर राख्थे ।

प्रहरीका अनुसार अभियुक्तले १५ वर्षअघि ती युवतीलाई उनका प्रेमीको तस्बिर देखाउँदै उनको आत्मा आफ्नो शरीरमा प्रवेश गरेको भन्दै फकाएका थिए ।

जकर्ता पोस्टले एक स्थानीय व्यक्ति सुजेङलाई उद्धृत गर्दै लेखेको छ– पीडित किशोरीको ब्रेनवास गरिएको जस्तो देखिन्छ ।’

युवती गुफाबाट भाग्न तथा कसैसँग भेट नसकोस् भनेर पीडकले उनलाई लगातार रूपमा थर्काउने र नगरानीमा राख्ने गरेको पाइएको छ । पीडित युवतीको भनाइ उद्धृत गर्दै प्रहरी प्रमुखले समाचार एजेन्सी रोयटर्सलाई बताएअनुसार सन् २००३ देखि नै ‘जिन अमरिन’नामका वृद्धले उनीसँग यौन सम्बन्ध स्थापित गरिरहेका थिए ।

प्रहरीको भनाइअनुसार पीडितकी बहिनीले आफ्नी दिदी वरिपरि नै भएको जानकारी दिँदै खोजी गरिदिन प्रहरीलाई आग्रह गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएर पीडितको अवस्था पत्ता लगाएका थियो ।

उनकी बहिनीको विवाह अभियुक्तका छोरासँग भएको थियो भने अभियुक्तले पीडित महिला काम गर्नका लागि राजधानी जकार्ता गएको भन्ने झुटो खबर दिएको उनले बताएकी छिन् ।

अभियुक्तविरुद्ध बालसुरक्षा कानुनअनुसार मुद्दा दर्ता गरिएको छ । आरोप पुष्टि भएपछि पीडकलाई १५ वर्षसम्मको सजायँ हुन सक्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार