संसदको पहिलो बैठक भोलि, यस्तो छ कार्यसूची

फरक धार

२० फागुन २०७४, आइतबार

काठमाडौं/ प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ठीक तीन महिनापछि सोमबार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको पहिलो बैठक सोमबारका लागि आह्वान गरेकी हुन् ।

संसद बैठक बस्नुपूर्व संसदको कार्यसूची तयार पार्न आइतबार सिंहदरबारमा बसेको पाँच राष्ट्रिय दलका प्रतिनिधि सम्मिलित कार्यव्यवस्था बैठकले सोमबार हुने पहिलो बैठकको कार्यसूची तयार पारेको हो ।

सोमबारको बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पठाएको पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार सोमबारको सम्भावित दोस्रो कार्यसूचीमा ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालयले संसदलाई पठाएको पत्र पढेर सुनाउने रहेको छ ।

यस्तै गरी तेस्रो कार्यसूचीमा प्रतिनिधि सभाको अन्तरिम कार्यविधि पेश गर्ने र पारित गर्ने रहेको छ । आइतबार बसेको पाँच दल सम्मिलित कार्यव्यवस्था समितिको बैठकद्वारा पारित ‘प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४’लाई ज्येष्ठ सदस्यले प्रस्ताव गर्ने र त्यसलाई पारित गर्ने कार्यसूची रहेको महासचिव भट्टराईले जानकारी दिए ।

यसैगरी संसदको सभामुख निर्वाचन नभएसम्मका लागि बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने कार्यसूचि रहेको छ । बैठकमा ज्येष्ठ सदस्यले ‘प्रतिनिधि सभाको अन्तिरिम कार्यविधि २०७४’ अनुसार सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदको मानोनयत गर्न सदनमा प्रस्ताव राख्ने र मनोनयन गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै सभामुख निर्वाचनको मिति तोक्ने प्रस्ताव पनि कार्यसूचीमा राखिएको छ । ज्येष्ठ सदस्यले ‘प्रतिनिधि सभाको अन्तरिम कार्यविधि २०७४’ को दफा ६ को उपधारा १ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

आइतबार विहान बसेको कार्यव्यवस्था बैठकमा ९ दिनभित्र ६ निर्वाचन गर्र्ने विषयमा छलफल गरिएको छ । राष्ट्रिय दलको मान्यता प्राप्त पाँच दलको कार्यव्यवस्था बैठकले सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रधानमन्त्रीले विश्वासको मत लिने मिति तय गर्ने विषयमा सहमति जुटाएको थियो । यसैबीचमा संसदले राष्ट्रपतिको निर्वाचन पनि गर्नेछ । राष्ट्रपति निर्वाचनमा भने संघीय सांसदसहित प्रदेशसभाका सदस्यले समेत मतदान गर्नेछन् ।

संघीय संसदमा फागुन २६ देखि चैत ४ सम्म ९ दिनका बीचमा ६ वटा निर्वाचन हुने भएको हो । निर्वाचन आयोगले यसअघि नै २९ गतेका लागि राष्ट्रपति निर्वाचनको मिति तोकिसकेको छ । फागुन २६ मा प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन हुनेछ ।

प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन भने चैत २ मा हुनेछ । सभामुख र उपसभामुख फरक लिंग, समुदाय र दलबाट हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले एकैपटक दुई निर्वाचन नहुने भएको हो । त्यस्तै, फागुन ३० मा राष्ट्रियसभाका अध्यक्षका लागि र चैत ४ मा उपाध्यक्षका लागि निर्वाचन हुनेछ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार