जापानी अध्यागमनले किन पटक–पटक फिर्ता पठाउँछ नेपाली नेतालाई ?

फरक धार

२४ साउन २०७५, बिहीबार

नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले प्रवेश रोक लगाएको छ । जापानको हिरोसिमामा आयोजित एक कार्यक्रमा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट नै रोकी प्रवेश अनुमति नदिएको हो ।

कार्यक्रममा सहभागी हुन जापान पुगेका नेकपाकै अर्का नेता किशोर मल्ल, दुर्गा शर्मालगायतले भने प्रवेश अनुमति पाए । हिरोसिमास्थित होटलमा स्वागत गर्न बसेको टोलीले भट्टराईलाई स्वागत गर्न पाएन । भट्टराईलाई विमानस्थलले नै बाहिरिन नदिएपछि उनी नेपाल फिर्ता आएका छन् ।

यसअघि पनि कांग्रेस नेता प्रदीप पौडेललाई जापान सरकारले विमानस्थलबाट नै फिर्ता पठाएको थियो । पार्टीको भातृसंगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन जापान गएका थिए । त्यहाँको अध्यागमन विभागले उनलाई केही घन्टा सोधपुछ गरेर नेपाल फिर्ता पठाएकोे थियो ।

जापानी अध्यागमन विभागले यसरी विभिन्न समयमा नेपालका नेताहरूलाई अध्यागमनमै रोकिदिने गरेको छ । यसअघि नेकपाकै नेता देवी ज्ञवाली पनि अध्यागमनबाट फिर्ता पठाइएका थिए । त्यस्तै, नेकपा क्रान्तिकारीका सिपी गजुरेल, पत्रकार ऋषि धमलालगायतलाई पनि घन्टौँ निगरानीमा राखेर छाडिएको थियो ।

आखिर किन पटक–पटक जापानले नेपाली नेताहरूलाई प्रवेशमा रोक लगाएको छ त ? नेपालस्थित जापानी दूतावाससँग यसबारे जानकारी लिन खोज्दा त्यहाँका एक कर्मचारीले आफूलाई सोबारे थाहा नभएको बताए । उनले भने, ‘जानकारी चाहिएको नै भए पनि मौखिक रूपमा भन्न मिल्दैन । प्रक्रियागत रूपमा जानुपर्छ ।’

मन्त्री तथा नेताहरूले प्रक्रिया पूरा नगर्नु यसअघिको मुख्य कारण भएको पाइएको छ । साथै, उनीहरूको साथमा पर्याप्त डलर नहुनु, उनीहरूले प्रयोग गर्ने गरेको जापानस्थित नेपाली ट्रयाक रेकर्ड राम्रो नहुनुलगायत कारण पनि नेताहरूको प्रवेश रोकिने र फिर्ता हुने गरेको पाइएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार