यमनमा स्कुल बसमा हवाई आक्रमण, २९ बालबालिकासहित ५० जनाको मृत्यु

फरक धार

२५ साउन २०७५, शुक्रबार

एजेन्सी– मध्य पूर्वी देश यमनमा स्कुल बसमा हवाई आक्रमण हुँदा २९ बालबालिकासहित ५० जनाको मृत्यु भएको छ । ७७ जना घाईते भएका छन् । जसमध्ये अधिकांश १० बर्षमूनीका छन् ।

यमनी सरकारलाई सघाउँदै हुथी बिद्रोहीविरुद्ध लड्दै आएको साउदी अरब नेतृत्वको गठबन्धनले उत्तर यमनको सादा प्रान्तमा स्कुल बसमाथि हवाई आक्रमण गरेको हो ।

सादा प्रान्तको व्यस्त बजार क्षेत्र दहयानमा गुडिरहेका बेला आक्रमण भएको अधिकारीलाई उधृत गर्दै बिबिसीले लेखेको छ । घाईतेको उपचारका लागि अतिरिक्त सेवा प्रदान गर्ने काम भईरहेको रेडक्रसले जनाएको छ ।

साउदी अरब गठबन्धनले आक्रमण बैध सैन्य कारवाही भनेका छन् । गठबन्धनका प्रबक्ता कर्नल तुर्की अल–मल्कीले यो हवाई आक्रमण अन्तर्राष्ट्रिय कानुनअनुरुप भएको दाबी गरे ।

हूथी विद्रोहीले साउदी अरेबियाको औद्योगिक क्षेत्रमा मिसाईल आक्रमण गरेको प्रतिवादस्वरुप जवाफी कारवाहि गरिएको र हवाई आक्रमण मिसाईल लन्चरलाई लक्षित गरिएको उनले बताए । साउदी गठबन्धनले आँफुहरुले कहिल्यै पनि जानीजानी सर्वसाधारणलाई निसाना नबनाएको दाबी गरेको छ ।

तर मानवअधिकारवादी संगठनहरुले भने साउदी गठबन्धनले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निसाना बनाउँदै आएको आरोप लगाएका छन् ।

सन् २०१४ यता यमनमा जारी युद्धमा करिब १० हजार मानिसले ज्यान गुमाएका छन् । जसमध्ये दुई तिहाइ सर्वसाधारण नागरिक छन् । गृहयुद्धका कारण यमनमा भोकमरी बढेको र १० लाख भन्दा बढी मानिसले बढो कष्टपुर्ण जीवन बाँचिरहेका राष्ट्रसंघले जनाएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार