क्षमताभन्दा बढी कैदीबन्दी

फरक धार

२५ साउन २०७५, शुक्रबार

नेपालगञ्ज- बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६ सय ५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको जेलर श्यामलाल लामिछाने बताउँछन् ।

नेपालगन्ज(१० स्थित बाँके कारागारका दुई भवन र पर्खाल जीर्ण हुँदै गएका छन् । कैदीको संख्या बढेसँगै कारागारबाट निस्केको फोहर हाताभित्र फालिने र ढल निकासको पर्याप्त व्यवस्था नहुँदा वरिपरिको वातावरण दुर्गन्धित बनेको र फोहाेर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी भएका छन् ।

कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घनाबस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी रहेकाले सुरक्षा चुनौती थपिएको बताएको छ ।

कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । ‘क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो,’ जेलर लामिछानेको भनाइ छ ।

कैदीबन्दीको आचरण सुधारका लागि २००० सालमा स्थापना गर्दाका बखत आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती छ । अहिलेको कारागार सुरक्षा र क्षमताका दृष्टिकोणले उपयुक्त नभएपछि बाँकेको गनापुरमा खुल्ला कारागार निर्माणको काम सुरु गरिएको छ ।

नौवस्तामा तीन हजार कैदीबन्दी अट्न सक्ने क्षमताको क्षेत्रीय कारागार निर्माण भइरहेको छ । यी दुवै कारागार निर्माण भएपछि नेपालगञ्जको मानव बस्तीको बीचमा रहेको बाँके जिल्ला कारागारलाई विस्थापित गरिने जेलर लामिछानेको भनाइ छ । १० बिघा क्षेत्रफलमा पाँच वर्षभित्र सक्नेगरी दुईवटा कारागार भवन निर्माण गर्न लागिएको हो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार