नेकपाको तल्ला कमिटी एकता कहिलेसम्म ? के गर्दै छन् संगठन ?

रूपक चाैलागार्इं

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा एकता भए पनि तल्ला कमिटीको एकता भने हुन सकेको छैन् । दुई साता अघिसम्म पार्टीको विधान नबनेकाले एकता हुन नसकेको तर्क पार्टी पंक्तिका नेताहरूले गर्दै आएका थिए ।

पार्टीका तल्ला कमिटी एकीकृत हुन नसकेकाले एकातर्फ जनतासमक्ष पार्टीको अपेक्षाकृत उपस्थिति हुन सकिरहेको छैन भने अर्कातर्फ तल्ला तहका नेता–कार्यकर्तामा अहिले पनि दुईवटा पार्टीको स्थिति कायमै छ ।

पार्टी विधान सार्वजनिक भएको झन्डै दुई साता पूरा भइसकेपछिको सचिवालयको बैठकमा संगठनात्मक एकताको बारेमा चर्चा सुरु भएको छ । अर्थात् बिहीबार बसेको सचिवालय बैठकले भदौ पहिलो साताभित्र तल्ला कमिटीको एकता गरिसक्ने निर्णय गरेको छ । नेकपाले गत जेठ ३ गते पार्टी एकता भएको तीन महिनाभित्र तल्ला कमिटीको पनि एकता गर्ने बताएको थियो ।

नेकपाले पार्टीको विधानमा प्रदेशमा १५१ सदस्यीय कमिटी निर्माण हुने उल्लेख गरेको छ । एक साताअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औं तुलसीलाल स्मृतिदिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भदौको पहिलो सातासम्म नेकपाका तल्ला संगठनहरूको एकता टुंगो लाग्ने बताएका थिए ।

नेकपाको बिहीबार बसेको सचिवालय बैठकले केन्द्र र प्रदेश सरकारका मन्त्री र सांसद, स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखलाई जिल्ला र त्यसमातहत कमिटीमा कार्यकारी जिम्मेवारी नदिने निर्णय गरेको छ । निर्णयअनुसार जिल्ला कमिटी र मातहतका अन्य पार्टी कमिटीमा रहेका मन्त्री र जनप्रतिनिधिले कार्यकारी जिम्मेवारी नपाउने भएका छन् ।

तल्ला संगठनको एकताले तीव्रता लिएको छः वेदुराम भुसाल

नेकपाका केन्द्रीय कमिटी सदस्य वेदुराम भुसालले पार्टीका तल्ला संगठनहरूको प्रक्रियाले तीव्रता लिइरहेको बताएका छन् । फरकधारसँगको कुराकानीमा उनले भने– ‘यो एउटा पार्टीको एकीकरणको काम हो, कुनै विद्यालयमा यो महिनामा परीक्षा लिने भनेर भनिएको जस्तो ठ्याक्कै समयमा नै त नहोला । तर, अब छिट्टै पार्टीका संगठनहरूको एकताले अन्तिम रूप लिन्छ ।’

सचिवालयले एक प्रकारको मापदण्ड तयार पारेको बताउँदै उनले भने, ‘विधानका आधारमा रहेर सचिवालयले मापदण्ड तयार पारेको छ । उक्त मापदण्डका आधारमा रहेर चाँडोभन्दा चाँडो पार्टी एकता गर्ने तयारीमा हामी लागेका छौं ।’

पार्टी एकतापछि गठन भएको कार्यदलले तीन महिनापछि एकता टुंग्याइसक्ने जिम्मेवारी पाएको थियो । त्यहीअनुसार जनवर्गीय संगठनहरूले आफ्नो काम सुरु गरिरहेका छन् ।

के गर्दै छन् जनवर्गीय संगठनहरू ?

वाइसिएल र युवा संघको एकता

एमालेको युवा संगठन युवा संघ नेपाल र माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को एकीकरणका निम्ति दुई संगठनले केही साताअघि कार्यदललाई विधान बुझाएको छ । विधान निर्माण गर्नका निम्ति निर्माण गरिएको उपसमितिले कार्यदललाई विधान बुझाएको र कार्यदलले विधान अध्ययन गरेर टुंगो लगाउने बताइएको थियो । तर, संगठनको नाम यो नै रहने भन्ने टुंगो लागिसकेको छैन ।

दुवै संगठनको केन्द्रीय कमिटीको संख्या ठूलो रहेकाले अब कति बनाउने भन्नेसमेत युवा संगठनहरूले टुंगो लगाइसकेका छैनन् । हाल युवा संघको दुई सय ४९ र वाइसिएलको तीन सय सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारी

एमाले र माओवादी सम्बद्ध दुई विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच एकताका लागि केही साता अघिबाट नै पहल सुरु भएको हो । जसका लागि विभिन्न तीनवटा उपसमिति समेत गठन भइसकेको छ । संगठन एकीकरणका निम्ति विधान मस्यौदा उपसमिति, राजनीतिक तथा शैक्षिक कार्यदिशा निर्माण उपसमिति र संगठन समायोजन उपसमिति गठन गरिएको छ । यी उपसमितिले साउन १० गतेबाट काम सुरु गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामाका अनुसार उपसमितिले तयार पारेको आधारमा एकता गर्ने तयारीमा रहेको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको दुई सय सदस्यीय र माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको करिब दुई सय ५० सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

पत्रकार संगठन एकता सम्पन्न

तत्कालीन एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल र माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको एकता प्रक्रियाले भने अन्तिम रूप पाएको छ । गत साउन १५ गते बसेको कार्यदलको बैठकले संगठनको संगठनको नाम ‘प्रेस संगठन नेपाल’ राखेको छ । त्यस्तै, संगठनको विधानलाई पनि अन्तिम रूप दिएको छ ।

केन्द्रीय समिति अध्यक्ष र महासचिवसहित दुई सय २५ सदस्यीय, प्रदेश समिति अध्यक्ष र सचिवसहित एक सय २५ सदस्यीय, जिल्ला समिति अध्यक्ष र सचिवसहित ३५ सदस्यीय तथा शाखा समिति अध्यक्ष र सचिवसहित नौ सदस्यीय हुने भएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार