डाक्टरको लापवाहीले ज्यान गए पाँच वर्ष कैद

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं– चिकित्सासम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता हासिल गरे पनि उपचार गर्ने लाइसेन्स नपाएका व्यक्तिले उपचार गरेमा तीन वर्ष कैद र ३० हजारसम्मको जरिवाना हुने भएको छ । १ भदौदेखि मुलुकी ऐन आएपछि यस्तो व्यवस्था हुन लागेको हो ।

लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैदसम्म हुने प्रावधान छ ।

यदि डाक्टरकाे लापरवाहीका कारण ज्यान मर्न गएमा वा अगंभंग भएमा पाँच वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । त्यसैगरी, हेलचेक्य्राइँबाट मृत्यु भएमा वा अगंभंग भएमा तीन वर्ष जेल र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

त्यस्तै, डाक्टरको लापरवाहीका कारण कसैको ज्यान गए वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

यसैगरी, मञ्जुरीविना मानव शरीरमा परीक्षण गर्न कानुनले बन्देज लगाइएको छ । मानव शरीरमा कुनै उपचारसम्बन्धी विधि, चिरफार वा औधी परीक्षण गर्नु पर्दा सम्बन्धित व्यक्ति र बालबालिका वा होस् ठेगानमा नभएको व्यक्ति भए निजको बाबुआमा वा संरक्षकको मञ्जुरी नलिई त्यस्तो काम गर्न नहुने बताइएको छ ।

मुलुकी अपराधसहिंतामा म्याद नाघेको औषधि बिक्री वितरण गरेको पाइएमा एक वर्ष कैद र १० हजारसम्मको जरिवाना हुने उल्लेख गरिएको छ ।

उपचारसम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापबाहीले मृत्यु भएका पीडित पक्षले जहिले पनि उजुरी गर्न सक्नेछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार