वैदिक परमाणुवाद तथा सातत्यवादः २

श्रीवास कृष्णदास ब्रह्मचारी

२५ साउन २०७५, शुक्रबार

श्लोक ३.११.६ मा स्पष्ट रूपमा समय पदार्थसँगको सम्बन्धमा गणना गर्दै अगाडि अन्तरिक्ष-समय परिभ्रमण (स्पेसटाइम ट्राभल) पनि स्पष्टसँग व्याख्या गरिएको छ ।

मत्रेय उवाच

कृतम् त्रेता द्वापरम् च कलिश्चेति चतुर्युगम्  ।

दिव्यैर्द्वादशभिर्वर्षै सावधनम् निरुपितम्  ।।१८ ।।

चत्वारि त्रिणी द्वे चैकम् कृतादिषू यथाक्रमं ।

शंख्यातानि सह्स्त्राणी द्विगुणानि शतनि च ।।१९।।

मैत्रयजी भन्नुहुन्छ– हे विदुर सत्य, त्रेता, द्वापर, कलि नाम गरेका चार युग छन् जसमा संयुक्त रूपमा १२ हजार दैवी वर्ष हुन्छन् । सत्ययुग ४८०० दैवी वर्ष, त्रेता ३६००, द्वापर २४०० अनि कलि १२०० दैवी वर्षका हुन्छन् ।

स्वं स्वं कालं मनुर्भुङ्त्ते सधिकाम् ह्येकसप्ततिम् ।।२४।।

प्रत्येक मनुले यस्ता ७१ चतुर्युगको भोग गर्छन् जसलाई मन्मंतर भनिन्छ । सरल रूपमा हेर्दा सत्य युग मानवीय गणनाअनुसार १७,२८,००० वर्ष हुन्छ । त्यसैगरी, त्रेता १२,९६,००० वर्ष, द्वापर ८,६४,००० वर्ष अनि कलि ४,३२,००० वर्ष हुन आउँछ । चार युगको एक दिव्ययुग हुन आउँछ अनि ७१ दिव्ययुगको एक मन्मंतर हुन्छ । १४ मन्मंतर ब्रह्मलाेकमा ब्रह्माको १२ घण्टा हुन्छ । देवलोकमा एक वर्ष बित्दा यहाँ ३६० मानवीय वर्षहरू बित्छ्न् ।

यस हिसाबले मनुको आयु हाम्रो गणनाअनुसार ८,५२,००० दैवी वर्ष गुणा ३६० (करिब ३०,६७,२०,०००) वर्ष हुन जान्छ । ब्रह्म लोकमा एक दिनको समयावधि हुँदा १४ मन्मंतर सकिने हुँदा ब्रह्माको एक दिन (१२ घण्टा) भनेको हाम्रो हिसाबमा ४,२९,४०,८०,००० वर्ष हुन्छ । यस्ता सय वर्षको ब्रह्मको आयु हुँदा हाम्रो गणनाअनुसार पृथ्वीमा करिब ३१,१०,४०,००,००,००,००० वर्ष बित्छ ।

निमेष उपचर्यते ।

अव्यक्रितस्यनान्तस्य ह्यानदेर्जगदत्मनः ।।३.११.३७।।

कालोऽयं परमन्वदिर्द्विपरार्धन्त ईश्वरः ।

नैवेषितुं प्रभुर्भुम्न ईश्वरो धामामनिनाम् ।।३.११.३८।।

ब्रह्माको दुर्इ परार्ध (१०० वर्ष) बराबर अपरिवर्तनीय ब्रह्माण्ड नायक कारणसागरमा शयन गर्नुहुने महाविष्णुको एक निमेष बराबर हुन्छ । नित्य सनातन काल नै निश्चित रूपमा परमाणुदेखि ब्रह्माको जीवनसम्म सम्पूर्ण अयमहरूको नियन्त्रक हो, तर काल स्वयम् भगवानद्वारा नियन्त्रित छ ।

सत्यलोकदेखि मर्त्य-पाताललोक पर्यन्त भौतिक शारीरिक वस्तुलाई नै सबथोक ठान्ने सम्पूर्ण जीवकालकै अधीनमा छन् । तर, साक्षात् अाध्यात्मिक आकाश पूर्णरूपमा असंदिग्ध सत्य धरातलमा अवस्थित भएकाले समयको सीमाभन्दा पर छ । त्यहाँ समयको पावन्दी लाग्दैन, नित्य छ, सनातन छ ।

यस अध्यायमा मैत्रेयजीले परमाणु-अणुदेखि अन्तरिक्ष, र त्रुटिदेखि ब्रह्माको आयु अनि पूर्ण सत्य सनातन अाध्यात्मिक आकाशसम्मको बहुआयामिक विचरणीय विषयको सरल ढंगबाट व्याख्या गर्नुभएको छ ।

थप उपर्युक्त विषयमा थप प्रस्ट पार्नका लागि अन्तरिक्ष-समय परिभ्रमण (स्पेसटाइम ट्राभल) का अनेक उदारण छन्, जसमध्य राजा ककुध्मि र उनकी छोरी रेवतीको ब्रह्मलोकको प्रसंग प्रख्यात छ ।

एकपटक सूर्यवंशी राजा ककुध्मि आफ़्नि परम सुन्दरी छोरी रेवतीका लागि योग्य वर को हुन सक्छ यो भौतिक जगतमा भनी सोध्न ब्रह्मलोक गए ।  राजा र राजकुमारी ब्रह्मलोक पुग्द ब्रह्माजी गन्धर्वहरूको संगीत सुन्दै हुनुहुन्थ्यो | धैर्यपूर्वक पर्खेर ब्रह्माको फुर्सद भएपछि राजाले आफ़्नो आउनुको कारण बताउँदै केही योग्य वरहरूको नाम पनि लिए । राजाको कुरा सुनेर ब्रह्माजी हाँस्दै विभिन्न ग्रहहरूमा समय भिन्नभिन्न आयाममा चल्ने कुरा बुझाउन थाल्नुभयो :

तत्पुत्रापौत्रानपित्रिनां गोत्राणि च न स्रिन्महे ।

कालोsभियातस त्रिनवचातुर्युगविकल्पितः ।।

हे राजन ! तिमीले छोरीको हात दिनका लागि जति नाम लियौ ती सबै कालद्वारा ग्रसित भइसके । तिम्रो यो यात्राको समयमा पृथ्वीमा २७ दिव्ययुग सकिसक्यो । जति राजा आदिको नाम लियौ ती सबै कालको मुखमा परिसके । तिनका नाम-गोत्रसमेत सुनिँदैन । तिम्रा मन्त्री, सैनिक, आफन्त आदि कोही पनि जीवित छैनन् । तिम्रो राजपाठ, राजकोश आदि सबै कालद्वारा ग्रसित भइसक्यो ।

ब्रह्माजीको यस्तो बचन सुनेर राजा ककुध्मी आश्चर्यचकित भए । ब्रह्माले राजाको अवस्था देखेर स्वयं भगवानका अंश बलरामजी पृथ्वीमा अवतरित हुनुभएको र बलरामजी रेवतीका लागि योग्य वर हुनुहुन्छ भनी सान्त्वना दिनुभयो ।

जब राजा ककुध्मी र रेवती पृथ्वीमा फिर्ता आउनुभयो यहाँको परिवर्तन देखेर अचम्मित हुनुभयो । केही समय अगाडि मात्र पृथ्वी छाडेको जस्तो लाग्थ्यो, तर यहाँ त अनेकन युग बितिसकेछ्न् । ब्रह्मलोक जाँदाको समयभन्दा अहिले अाध्यात्मिक संस्कार आदिमा कमी आउनुका साथै व्यक्तिहरू शारीरिक रूपमा क्षीण, शक्तिहीन र मन्द बुद्धि भएको देख्नुभयो ।

अर्को प्रसंग भगवान् श्रीरामका पुर्खा राजा मुचुकुंदको चरितमा देख्न सक्छौ । इच्छ्कुवंशीय राजा मुचुकुंद असुरद्वारा सताइएका देवताहरूको सहयोगार्थ स्वोर्गलोक जानुभयो । बहुत कालसम्म मुचुकुंदले सेनापतिको रुपमा देवताहरुको रक्षा गर्नुभयो ।

जब देवताहरूले कार्तिकेयलाई आफ्नो सेनापतिको रूपमा प्राप्त गरे तब इन्द्र आएर मुचुकुंदसँग भन्न लागे– ‘हे राजन ! हामी हजुरप्रति आभारी छौं । हजुरले सारा परिवार, राज्य, आदि त्यागेर यहाँ स्वर्ग आर्इ हामीलाई सहयोग गर्नुभयो । यहाँ स्वर्गमा एक वर्ष बित्दा वहाँ पृथ्वीमा तीन सय ६० वर्ष बित्ने हुँदा पृथ्वीमा तपार्इंको राज्य तथा परिवारको अवशेष पनि छैन । समयको चक्रमा सबै पिसिसके । हजुर पृथ्वीको त्रेतायुगमा आउनुभएको अब त्यहाँ द्वापर लागिसक्यो । त्यसैले हे राजन ! मोक्षबाहेकको वरदान माग्नुहोस् किनभने मोक्ष हाम्रो क्षमताभन्दा बहिता छ, मोक्षदाता त केवल श्रीहरि हुनुहुन्छ ।

देवताहरूको पक्षबाट युद्ध गर्दा मुचुकुन्दले सुत्न पाउनुभएको थिएन, त्यसैले देवराजसँग लामो चैनको निद्रा माग्नुभयो । साथमा जसले मलाई निद्राको बीचमा व्यवधान पुर्याउँछ त्यो तुरुन्तै खरानी होस्, अनि मेरो निद्रा खुल्दा पहिलो दर्शन भगवान् श्रीहरिको होस् भनी वरदान माग्नु भयो ।

यता, कालयवन भगवान् श्रीकृष्णसँग युद्ध गर्ने मनसाय ले आयो । भगवान् भाग्दै मुचुकुंद सुतेको गुफाभित्र जानुभयो । सुतिराखेको मुचुकुंदलार्इ अँध्यारोमा भगवान् कृष्ण सोची कालयवनले एक लात्ती हान्यो । मुचुकुन्द्को निद्रामा व्यवधान पुर्याएका कारण कालयवन तुरुन्तै खरानी भयो अनि मुचुकुंद उठ्नुभयो र भगवान् श्रीहरिको दर्शन गर्नुभयो ।’

अर्को उदाहरण दतात्रयले परशुरामलाई सुनाउनुभएको त्रिपुर रहस्यको गन्दसैलावालोकनममा पनि देख्न सकिन्छ । वंगको राजा सुशेणले आफ्नो भाइ महासेनलाई अश्वमेध यज्ञका लागि घोडासहित विश्व विजयका लागि पठाएका थिए । सेनादल तंगन ऋषिको आश्रम हुँदै जाँदा ऋषिप्रति कुनै सम्मान नदेखेको कारणले ऋषिपुत्र क्रोधमा आर्इ घोडा हरण गरी घोडाको रक्षा गर्न युद्ध गर्न लागे । जब सेनाले सबैतर्फबाट घेरे तब ऋषिपुत्र पहाडभित्र प्रवेश गरे । योदेखि सबै सेनाहरूले पहाडलाई नै आक्रमण गर्न लागे ।

पहाडको भित्रबाट विशाल सैन्य शक्तिसहित ऋषिपुत्रले पुनः आक्रमण गरी सुशेणको सेनालाई पराजित गरे । केही सेनासहित महासेन भागेर गर्इ आफ्नो दाइलाई सबै घटनाको बेलिबिस्तार लगाए । सुशेणले आफ्नो भाइलाई ऋषिसँग माफी मागी घोडा फिर्ता ल्याउन आदेश दिए ।

दाजुको आज्ञाअनुसार गरी घोडा फिर्ता ल्याए तर महासेनले पहाडको बारेमा जान्ने तीव्र इच्छा भयो । ऋषिपुत्रले महासेनको इच्छा बुझी महासेणको भौतिक शरीरलार्इ पहाडबाहिरै राखी सूक्ष्म शरीरलाई पहाडभित्र लिएर गए । भित्र गएपछि सारा सौर्यमण्डल, तारा आदि सब देखे ।

सारा चन्द्र, सूर्य आदि लोकको भ्रमण गर्दै ऋषिपुत्रको सहयोगले सारा स्वर्ग आदि लोकको भ्रमण गरे । सारा पृथ्वी आदि भ्रमण गरी पृथ्वीभन्दा बाहिरी लोक आदि सबैको भ्रमण गरी ऋषिको योगिक शक्तिदेखि अचम्मित पर्यो । केहीबेरको भ्रमणपछि महासेन जब बाहिर आयो, तब सारा जगत् परिवर्तन भइसकेको थियो । ऋषिसँग प्रश्न गर्दा जब ऋषिपुत्रले केही घण्टा उक्त पहाडभित्रबाट लोकालोकको भ्रमण गर्दा यता १,२०,००,००,००० वर्ष बितिसकेको सत्यता बताए  तब महासेन बहुतै अचम्मित भयो ।

हाम्रा वैदिक ग्रन्थ हरुमा कसरि आधुनिक विज्ञानमा बल्ल अध्ययन सुरुभयका वा भर्खर केहि दशक अगाडी प्रमाणित भयका अणु-परमाणु तथा अन्तरिक्ष काल– सतत्यवादसम्बन्धी उपलब्धिहरू कति सरल र स्पस्ट रुपमा वर्णित छन् भन्ने कुराक यी केही उदहारण मात्र हुन् ।

वास्तवमा यति मात्र नभई श्रीमद्भागवतले व्यक्तिलाई अन्तिम परिपूर्ण अवस्था, विशुद्ध सत्व अनादि, सर्व कारणका पनि कारक, सम्पूर्ण ज्ञान, विज्ञान, प्रज्ञान आदिका पनि उद्देश्य भगवान् श्रीकृष्णचन्द्रको तत्व सम्बन्धमा उपदेश गर्दछ जो भौतिकता तथा समयको पावन्दीभन्दा बाहिर भएका कारण हाम्रो भौतिक काम, क्रोध, लोभ, मोह आदि विकारयुक्त चेतनाले वास्तवमा बुझ्न सक्दैन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार