सकारात्मक चिन्तनले समाज रूपान्तरण हुन्छः सभामुख

फरक धार

२५ साउन २०७५, शुक्रबार

काठमाडौं- सभामुख कृष्णबहादुर महराले सकारात्मक सोच एवं चिन्तनले नै समाज रूपान्तरण गर्न सकिने बताएका छन् ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रद्वारा आज यहाँ आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नकारात्मकभन्दा पनि सकारात्मक सोचले समाज रुपमान्तरण गर्नुपर्ने बताए ।

उनले भने, ‘म भौतिकवादमा विश्वास गर्छु, अध्यात्मवादको पनि अध्ययन गर्न थालेको छु । समाजलाई अगाडि बढाउन यी दुवै वादका भूमिका आआफ्नै रहन्छ ।’

विशेषगरी राजनीतिक नेतृत्वले सबै विचार सुन्नुपर्छ भन्दै सभामुख महराले समाजलाई सही मार्गमा लैजान आशावादी हुनुपर्ने बताए ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले आफ्नो घरमा वेदको पुस्तक भए पनि तत्कालीन समयमा अध्ययन गर्न नपाएको चर्चा गर्दै समाजलाई सकारात्मक भावनाले मात्र अगाडि बढाउन सकिने धारणा राखिन् । उनले समाजलाई लागू पदार्थमुक्त बनाउने अभियानमा सेवाकेन्द्र अहम् भूमिका निर्वाह गरेको चर्चा गरिन् ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले अाध्यात्मिक चिन्तनलाई अगाडि बढाउन ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले महत्वपूर्ण योगदान पुर्याएको बताए ।

सेवा केन्द्रका नेपाल प्रमुख राजदिदी, राजयोगिनी आशा र रामसिंह ऐरले सकारात्मक चिन्तनले नै समाजमा शान्ति कायम गर्न सकिने बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार