तीर्थ श्रेष्ठकाे कविता: सानो हुनुको अर्थमा

तीर्थ श्रेष्ठ

२६ साउन २०७५, शनिबार

सगरमाथा जतिसुकै अग्लो भए पनि
त्यसको शिखरको आयतन सानो छ
झन सानो छ शिखर आरोही मान्छे
त्यस भन्दा सानो छ
त्यहाँ टेकिएको उसको पैताला
त्यहाँबाट देखिने दृश्य छ विशाल
त्यस अर्थमा छ उँचो हुनुको सार्थकता
त्यस अर्थमा छ उँचो हुनुको महानता

उँचो हुनुको अर्थ
आत्मकेन्द्रीत हुनु होइन
उँचो हुनुको अर्थ
अहंकारको बादलले ढाकिनु पनि होइन
उँचो हुनुको अर्थ
पग्लेर फेदीसम्म पुग्नु हो
बाफ बनेर आकाश जस्तै अनन्त हुनु हो

आफूलाई उँचो ठान्नेहरु सबै अग्ला हुँदैनन्
कुर्सी माथी चढेर कोहि अग्लो सगरमाथा हुँदैन
सिंहासनमा बस्दैमा कुनै लिलिपुट मन महान हुँदैन

सानो हुँदैमा शिखर टेक्ने पैताला सानो हुँदैन
विनम्रताले नुहेको हांगा
हावाले उडाएको चंगा झैं हुँदैन

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार