बिम्स्टेकका परराष्ट्र सचिवस्तरीय विशेष बैठक आज

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनको पूर्वतयारीका लागि आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि काठमाडौंमा सचिवस्तरीय बैठक बस्न लागेको हो ।

बैठक होटल याक एण्ड यतिमा हुने परराष्ट्र मन्त्रालयका सहप्रबक्ता रामबाबु ढकालले जानकारी दिए । बैठकमा सहभागी हुन बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवहरु शुक्रबारनै नेपाल आइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिवस्तरीय बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रीस्तरीय बैठकका लागि पनि आवश्यक तयारी गर्नेछ । शिखर सम्मेलनअघि काठमाडौँमै भदौ १२ गते वरिष्ठ पदाधिकारीस्तरीय नियमित बैठक र भदौ १३ गते मन्त्रिस्तरीय बैठक हुने तय भएको छ ।

बिमस्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भइसकेका छन् ।

हालसम्म बिमस्टेकका परराष्ट्रमन्त्रीस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन् । चौथो शिखर सम्मेलनमा मुख्य गरी हालसम्मका शिखर सम्मेलनले गरेको निर्णय कार्यान्वयनको समीक्षा तथा बिम्स्टेकको उद्देश्यअनुरुप सदस्य राष्ट्रको आर्थिक–सामाजिक विकासमा सहयोगका क्षेत्रको प्रभावकारिताका बारेमा छलफल हुने बताइएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार