प्रदेशमा कर्मचारी परिचालनको अख्तियारी मुख्यमन्त्रीलाई

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं– संघीय सरकारले अब प्रदेशमा कर्मचारी पठाउँदा सोझै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा खटाउने भएको छ । प्रदेशका विभिन्न निकायमा पठाइने राजपत्राङ्कित द्वितीय श्रेणी वा सो भन्दा तल्लो तहका कर्मचारीलाई एकमुष्ठ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा खटाइने भएको हो ।

शुक्रबार राती अबेर बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशमा कर्मचारी अभावमा काम राम्रोसँग हुन नसकेकाले त्यसलाई सहजता प्रदान गर्न यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसरी खटिइ जाने कर्मचारीलाई प्रदेश सरकारले आफू अनुकुल विभिन्न आवश्यक स्थानमा खटाउन सक्ने मन्त्री बास्कोटाले बताए ।

बैठकले नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एकीकरण गरी राष्ट्रिय आपूर्ति कम्पनी बनाउने निर्णय पनि गरेको छ । यस्तै मौलिक हक कार्यान्वयनका लागि आवश्यक ९० प्रतिशत कानुन निर्माण सकिएको र बाँकी चार पाँच वटा कानुन पनि संसदमा पेश गर्ने तयारीमा रहेको मन्त्री बास्कोटाले जानकारी दिए ।

बैठकले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७५ संघीय संसदमा पेश गर्ने निर्णय समेत गरेको छ ।  बैठकले मकवानपुर र डोटीमा बाल सुधार गृह स्थापना गर्ने निर्णय गरेको उनले बताए ।

मन्त्रीपरिषद बैठकले मानव अधिकार आयोगको सिफारिस बमोजिम विभिन्न घटनाका पीडिताई क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार