वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साह्रै ठूलो अज्ञानताः प्रचण्ड

फरक धार

२६ साउन २०७५, शनिबार

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताएका छन् ।

शनिवार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’

उनले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिए । यसप्रति पार्टी र सरकार गम्भीर रहेको उनको भनाई छ ।

उनले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पारे । फरक प्रसंगमा उनले प्रमुख प्रतिपक्षि नेपाली कांग्रेस र विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै वितण्डा मच्याएर केही नहुने भन्दै कटाक्ष गरे ।

‘सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ, उनले भने, यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साह्रै ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’

आसन्न चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्ष प्रचण्डले नेपाल समृद्धि र विकासको यात्रामा अघि बढिरहेको भन्दै दुई छिमेकीसँग राम्रो वातावरण बनाएर सहयोग जुटाउन भ्रमण केन्द्रीत हुने बताए ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार