संस्मरणः कोलकाता यात्राको त्यो सुटकेस

मेघेन्द्रप्रकाश गिरी

२६ साउन २०७५, शनिबार

त्यति बेला मैले भर्खरमात्र एमबीए सकेको थिएँ । लक्का जवान थिएँ । पढाइ सकेपछि काम सुरु गरिसकेको थिएँ ।

त्यही समय भारतीय कम्पनी अमुल इन्डिया कम्पनीमा आवेदन खुल्यो । मैले पनि त्यसमा निवेदन दिएँ । भाग्य भनौँ या के भनौँ, म त्यसमा छानिएँ पनि । अमुलको नेपाल प्रतिनिधि भएर काम गर्न पाइने भयो भनेर मख्ख पर्न थालेँ ।

अमुलको हेड अफिस थियो कोलकातामा । कामबारे र सेवासुविधाबारे विस्तृतमा जानकारी लिन मलाई अमुल कम्पनीमा बोलाइयो । केही समय कोलकातामै काम गर्नु पर्ने होला भन्ने सोचेर म कोलकाता लागेँ ।

सबैभन्दा पहिले त काठमाडौंमा भएका कम्प्लेक्सहरुमा पुगेँ म । आफूलाई चाहिने सामानहरु किनेँ । त्यतिबेला म ब्रान्डप्रति निकै कन्सस थिएँ । जुत्तामा मलाई एडिडास नै चाहिन्थ्यो, अरु कपडामा पनि म नाम चलेका ब्रान्ड खोज्थेँ ।

जागिर गर्नकै लागि भारत जान लागेकाले पनि खुसीसाथ डिप्लोमेटिक सुटकेसमा भरिने लत्ताकपडा किनेँ मैले ।

लेखक

अनि सुरु भयो मेरो कलकत्ता यात्रा ।

२०५७ साल पुसको कुरा हो यो ।

रक्सौलबाट रेलमा कोलकाता पुग्ने योजना बनाएको थिएँ मैले । त्यही अनुरुप रक्सौल जान ३ बजेतिर कंलकी पुगेँ । विरगन्जसम्मको नाइट बसको टिकट थियो मेरो ।

मन रोमान्चित भएको थियो । हो, एकातिर म आफ्नो परिवेशबाट टाढा हुँदै थिएँ तर अर्कोतिर मैले नयाँ परिवेशमा आफूलाई सहज बनाउन सक्ने थिएँ ।

र, त्यो नयाँ परिवेशमा जानका लागि मसँग साथी थियो– निलो सुटकेस ।

मनमा छटपटी र रोमान्चकता दुवै एकसाथ राख्दै म वीरगन्ज पुगेँ, रक्सौलसम्म गएँ । जाडो अचाक्ली थियो । साथीहरुले मलाई काठमाडौंबाट छुट्दा नै भनेका थिए– एउटा सल चाहिँ किन्नु है ! त्यसका लागि एउटा पसल पनि सिफारिस गरेका थिए उनीहरुले । निकैबेर खोजतलास गरेपछि साथीहरुले सुझाएको त्यो पसलमा पुगेँ म ।

‘तपाईंको पसलमा मलाई साथीहरुले रिफर गरेर पठाएका हुन्,’ मैले पसलेलाई भनेँ, ‘म त पिआरमा काम गर्ने मान्छे, राम्रो सामान दिनुस्, तपाईंको मार्केटिङ हुन्छ ।’

‘यो सस्तो छ, तर राम्रो छ,’ पसलेले मलाई सुझायो ।

भारु एक सय २० मा त्यहाँबाट सामान किनेर म बाहिरिन खोज्दै थिएँ, पसलले रोक्यो र भन्यो– ट्रेनमा त जे पनि हुनसक्छ, एउटा चेन र चावी पनि किन्नु ।

त्यो मेरो ट्रेनमा पहिलो यात्रा थियो । साथीहरुले पनि सजग हुनुपर्छ भनेका थिए । रातीमा रेल चढ्ने भएकाले पनि ममा चिन्ता थपिएको थियो । त्यसैले पनि मैले चेन र चावी किनेँ ।

रेलको त्यो डिब्बामा १० जना यात्रुका लागि ठाउँ थियो । हामी १० जना बसिसकेका थियौँ । तर, मानिसहरु बारम्बार त्यहाँ आइरहन्थेँ ।

नचिनेको ठाउँमा मानिसहरु आउने भएकाले ममा आशंका झन् बढ्न थालेको थियो । कोही नयाँ मान्छे आयो भने सुटकेसमा ध्यान जान्थ्यो ।

हो, सुटकेसमा चावी लगाएको थिएँ, चेनले बाँधेको थिएँ । तर, मन मान्थेन । पिसाब आएपनि सुटकेसको मायाले म ट्वाइलेट जान सकिनँ ।
त्यो रात मेरो आँखा झिमिक्क नगरी बित्यो । झुप्प निद्रा त लाग्थ्यो तर म सुटकेसको मायाले ब्यूँझिहाल्थेँ ।

कतिसम्म भने भोक लाग्दा पनि म स्टेसनमा झरेर खाना खान जान सकिनँ । त्यस्तो बेला त लाग्थ्यो– बेकारमा बोकेछु यो एउटा सुटकेस । सुटकेस नबोकेको भए स्टेसनहरुमा झर्न पाउँथे होला, खाना खान पाइन्थ्यो होला, चटपट खाइन्थ्यो होला । तर, एउटा सुटकेसका कारण मैले सबै कुरा गुमाएँ ।

तर, ट्रेनमा एकजना मान्छे आयो । र, भन्यो– खाना अर्डर गर्नुस् ।

मैले चिकेन खाना अर्डर गरेँ । निकै भोकाइसकेको थिएँ, त्यसैले पनि चिकेन खानाको परिकल्पना निकै मीठो हुने गरेको थिएँ ।

खाना अर्डर गरेको केही घन्टामा खाना आइपुग्यो । त्यो खासमा मैले खाना अर्डर गरेकोभन्दा अर्को स्टेसन थियो । मसँग खाना अर्डर लिएपछि अर्को स्टेसनमा खबर गर्दा रहेछन् र त्यहाँ खाना डेलिभर हुँदो रहेछ ।

खानाको प्याकेट खोलेँ मैले । अनि बल्ल महसूस भयो मलाई– चिकेन खाना अर्डर गर्नु हुँदैनथ्यो । पहिलो गास खाने वित्तिकै मलाई थाहा भयो– त्यो चिकेन थिएन ।

त्यति बेला नै मलाई थाहा भयो– मैले भेज खाना अर्डर गर्नु पर्दो रहेछ ।

बिहान नहुँदै मानिसहरुको रेलमा आवतजावत निकै बाक्लियो । मानिसहरु आउँदै जान्थे, रेल भरिँदै जान्थ्यो । केही बेरमा नै हाम्रो डिब्बामा पनि पूरै खाँदियो । हामी सिटमा बसिरहेकाहरुलाई पनि निकै सकस भयो । अनि मलाई सुटकेसको चिन्ता झन् बढ्न थाल्यो ।

मेरो रेलमा नेपालीहरु थिए तर उनीहरुसँग मेरो बोलचाल खासै भएन । किनकि त्यहाँ विश्वासको एउटा ठूलो संकट थियो ।

कोलकाताको सियल्दा स्टेसन पुगेपछि म उत्रिएँ । सुटकेस बोकेर सबैभन्दा पहिले बस्ने होटलको खोजीमा लागेँ ।

म पुगेको त्यो बजार माछा बजार रहेछ । त्यहाँ माछा पसल निकै थिए र ठूलाठूला माछाहरु झुन्ड्याएर राखिएको थियो । माछा पनि कति ठूला भने मैले त्यति ठूला माछा नेपालमा कहिल्यै देखेको थिइनँ, यद्यपि देखेको छैन । मान्छेहरु माछा काट्न बन्चरो प्रयोग गरिरहेका थिए । यो माहोलले मलाई थप रोमान्चित बनायो ।

मलाई पहिले नै थाहा थियो, कोलकातामा मिठाई मीठो पाइन्छ । एउटा ओभरहेड ब्रिजमुनी म मिठाइ खान पनि गएँ । दुई वटा रसवरी खाएँ, त्यसको स्वाद साँच्चिकै मीठो थियो ।

तर, छिनभरमै मैले त्यसको स्वाद बिर्सिएँ । किनकि मलाई त्यहाँ आफू बस्ने होटल खोज्न सकस परिरहेको थियो । यो सकस खासमा भाषाका कारण निम्तिएको थियो । त्यहाँ हिन्दी र अंग्रेजी दुवै राम्रोसँग नबुझ्ने भएकाले मलाई अर्को समस्या परिरहेको थियो । र म उनीहरुको बंगाली भाषा बुझ्दिनथेँ ।

म सुटकेस गुडाउँदै होटलको खोजीमा लागे ।

हिँड्दा हिँड्दै होटल देखेँ । तत्काल खुसी पनि भएँ । तर, मैले सोचेको भन्दा निकै महंगो रहेछ होटल । मैले सोचेको थिएँ ५ सय भारुमा कसो कोठा नपाइएला । तर, त्यहाँ होटलवालाले भन्यो– दिनको १५ सय भारु ।

मलाई त्यहाँ बस्न मन लागेन । तर, त्यो एरियामा खासै धेरै होटलहरु थिएनन् । म त्यहाँबाट निस्किएर लामो समय हिँडे । हातमा सुटकेस थियो । त्यसले मलाई निकै समस्या पारेको थियो । त्यति बेला मैले सोचेँ– बरु सानो झोलामा कपडामात्र कोचेर ल्याउन पाएको भए हुँदो रहेछ ।

सुटकेसले हात निकै दुखाइसकेको थियो । लामो समयपछि मलाई आइडिया फुर्यो– रिक्सा भाडामा लिने ।

रिक्सा भाडामा लिएपछि मैले सडकका वरपर हेर्दै हिँडे । जहाँ होटल देखियो, त्यहाँ रिक्सालाई रोक्न लगाइहालेँ । त्यो होटल त पहिलेको भन्दा पनि निकै महंगो रहेछ– रातकै २ हजार भारु !

म त्यो रिक्सामा कोलकाताको एउटा कुनाबाट झन्डै अर्को कुनामा पुगेछु । सुवासचन्द्र बोस विमानस्थल एरियामा पुगेपछि बल्ल मैले धेरै होटलहरु देखेँ ।

एउटा होटलमा गएर कुरा गरेँ । होटलवालाले मलाई भन्यो– रिक्सावालालाई कमिसन दिनु नपर्ने हो भने अलिक मिलाउन सक्छु । उसले सुरुमा रातको २ हजार भनेको थियो । त्यसपछि मैले रिक्सावालालाई बिदा गर्ने सोच बनाएँ ।

तर, रिक्सावाला मरिगए मानेन । उसले भन्थ्यो– तपाईंलाई जसरी पनि होटल खोजेरै जान्छु । यो खासमा किन रहेछ भने उसले मलाई होटलमा लगिदिएवापत कमिसन पाउँदो रहेछ ।

तर, उसलाई भाडा र थप २० भारु दिएपछि ऊ त्यहाँबाट निस्कियो ।

त्यो एरियामा चाहिँ पूरै होटलको लाइन रहेछ । म विस्तारै होटलहरु हेर्दै मूल्य बुझ्दै गर्न थालेँ ।

होटल खोज्दा र सुटकेस बोकेर हिँड्दा म निकै गलिसकेको थिएँ । मनमा त लागिसकेको थियो, अब जे होस् यही होटलमा बस्छु म ।
त्यो होटलको लबीमा बस्दाबस्दा एउटा मोटे केटा आयो र भन्यो– आप कहाँ से हो…, नेपाली हो कि क्या हो ?

यो वाक्यले मलाई निकै राहत मिलेको महसूस भयो । मलाई विरानो सहरमा आफ्नो भाइ नै भेटेको जस्तो महसूस भयो । मैले उसलाई सुटकेस उचाल्दा र डो¥याउँदा हातमा उठेका ठेलासमेत देखाएँ ।

उसले भन्यो– नआत्तिनुस्, अब चिन्ता नलिनुस्, सबै काम म गरुँला ।

उसले नै मलाई कोठामा लग्यो । केहीबेर मैले आराम गरेँ । अनि दाह्री काट्न म बाहिर निस्किएँ ।

तर, बंगाली भाषामा होर्डिङ बोर्ड भएकाले पनि मलाई सैलुन पत्ता लगाउन निकै सकस भयो । कैंचीको चित्र देखेको एक ठाउँमा चाहिँ म छिरेँ ।

त्यहाँ त महिला मात्रै पो रहेछन् ! अनायस मुखबाट सरी भन्ने शब्द आयो र म बाहिर निस्किहालेँ । निकैबेर खोजेर अर्को ठाउँमा कपाल र दाह्री मिलाएँ ।

अर्को दिन म अफिस जानु पर्ने थियो । गएँ । त्यहाँ कुराकानी भयो । तर, केही दिन बितेपछि मलाई त्यो अफिसका सर्त तथा सुविधा मन परेनन् । अनि मैले मनबाट नै त्यहाँ काम नगर्ने निर्णय गरेँ ।

त्यहाँ गएको एक सातामा नै काम नगर्ने निर्णय भएपछि म कोलकातामा नेपाली साथीहरुसँग केही दिन घुम्ने भएँ र नेपाल फर्किने भएँ ।
साथीहरुले मलाई नेपाल फर्किनका लागि दार्जिलिङको बाटो हुँदै फर्किने सल्लाह दिए । त्यही अनुरुप दार्जिलिङ हुँदै नेपाल फर्किएँ ।

नेपाल फर्किदाँ पनि मसँगको सुटकेस मलाई भारी भयो ।

नौ दिने यो भारतीय यात्राका अनेक सम्झना अहिले पनि मसँग मनमा छन् । तर, त्यसमा सबैभन्दा नर्बिसिने भनेको चाहिँ त्यही सुटकेस हो, जसले मलाई दुःख दियो, तर एउटा मीठो सम्झना पनि ।

 

(गिरी नेपाल लाइफ इन्सुरेन्समा कार्यरत छन् ।)

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार