विश्व बैंकद्वारा सहायता रकम दोब्बर गर्ने प्रतिबद्धता

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं – विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिबद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी वसिङ्टन डिसीबाट शनिबार स्वदेश फर्केपछि अर्थमन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी दिएका छन् ।

सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुन लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गरे । बैंकले नेपालमा हाल विभिन्न आयोजनाका लागि करिब दुई अर्ब ७० करोड डलर अर्थात दुई खर्ब ७० अर्ब रुपैयाँबराबरको लगानी गरिरहेको छ ।

सन् २०२२ मा अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्त्वपूर्ण छलफल भएको जानकारी अर्थमन्त्री खतिवडाले दिए । नेपाल सरकार र विश्व बैंकबीच पाँचवर्षे देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

‘हामीले समग्र कार्यक्रम र योजनाको ढाँचा तयार पारेका छौँ । त्यसको लागत अनुमान पनि भएको सन्दर्भमा सहायता दोब्बर हुन्छ ,’अर्थमन्त्री डा. खतिवडाले भने ।

नेपालले भूकम्पपछिको पुनःनिर्माणका लागि समेत सो बैंकबाट थप सहायता ल्याउन प्रस्ताव गरेको छ । यस्तै, केही ठूला र बहुउद्देश्यीय परियोजनामा समेत लगानीको सुनिश्चितता खोजेको छ । यस्तै संघीयता कार्यान्वयन र विकासका आवश्यकता पूरा गर्न बैंक र अमेरिकी सरकारका प्रतिनिधिसँग महत्त्वपूर्ण छलफल भएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

अर्थमन्त्री डा. खतिवडाले यही साउन २२ गते बैंकका कार्यकारी निर्देशकको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए । उनले स्थानीय निकायको क्षमता, नेपालको विकासको मार्गचित्र, प्राथमिकता, सुधारको निरन्तरता, राजश्वको दिगोपना र समग्र व्यावसायिक वातावरण सम्बन्धमा जानकारी गराएका थिए ।

उनले नेपालले आर्थिक विकासका लागि लिएको रणनीतिबारे जानकारी गराउँदै ‘दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध’ रहेको उल्लेख गरेका थिए ।

यसैगरी, खतिवडाले विश्व बैंकका दक्षिण एसियाका क्षेत्रीय उपाध्यक्ष हाटबिग सेफरबीच पनि भेटवार्ता गरेका थिए । भेटवार्तामा क्षेत्रीय उपाध्यक्ष सेफरले नेपालले अङ्गीकार गरेका संघीयता कार्यान्वयनका सन्दर्भमा राखेको जिज्ञासामा डा. खतिवडाले नेपालमा तीनै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई निर्वाचित भएका करिब ३६ हजार जनप्रतिनिधिमार्फत जनताका अपेक्षा पूरा गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पारेका थिए ।

नेपालका आर्थिक र सामाजिक क्षेत्र खासगरी पूर्वाधारमा ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उनले यसमा सरकार निजी क्षेत्रसँग मिलेर कार्य गर्न तत्पर रहेको, संघीयताको व्यवस्थापन र विकासको लागि आन्तरिक साधन र स्रोत मात्र पर्याप्त नहुने भएकाले विश्व बैंकसँग नेपालले सार्थक सहयोगको अपेक्षा राखेको बताए ।

अर्थमन्त्रीसँग विश्व बैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकलगायतका पदाधिकारीले पनि भेट गरेर ऊर्जा क्षेत्रमा गरिने लगानी, निजी क्षेत्रसँगको सहकार्यमा गर्न सकिने लगानीका बारेमा प्रकाश पारेका थिए । सो अवसरमा डा. खतिवडाले नेपालको तत्काल चालू आयोजनाका अतिरिक्त ठूला आयोजनाको निर्माणमा विश्व बैंकले परियोजना विकासमा समेत सहयोग गर्न अनुरोध गरेका थिए ।

यस्तै, भ्रमणका क्रममा अर्थमन्त्री डा. खतिवडाले बैंकका कार्यवाहक प्रमुख अर्थशास्त्री शान्ता देवराजनसँग भेटवार्ता गरी नेपालले केही दशकअगाडि गरेका आर्थिक तथा वित्तीय सुधारका प्रयासबाट थप पाठ सिक्दै परिवर्तित सन्दर्भमा विभिन्न क्षेत्रमा नयाँ सुधार थालनी गरेको जानकारी दिए ।

तीन दिनसम्म चलेको बैंकको नेपाल सहायतासम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुनकुमार कार्की र अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपालसहितको प्रतिनिधिमण्डलको सहभागिता थियो ।

भ्रमणका क्रममा अर्थमन्त्रीले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग, अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । नेपालको विकासका साझेदारसँग उनीहरूबाट प्राप्त सहयोगको समीक्षा गरी थप सहयोगका क्षेत्रमा छलफल तथा निजी क्षेत्रका लगानीकर्तासँग नेपाल सरकारको आर्थिक नीति तथा लगानीका सम्भावनाका बारेमा पनि विचारविमर्श भएको उनले दिए ।

अमेरिकास्थित नेपाली दूतावासको आयोजनामा विश्व बैंकमा ‘नेपाल डे’ पनि मनाइएको थियो । विश्व बैंक समूह र अमेरिकास्थित दातृनिकायका प्रतिनिधि सो कार्यक्रममा सहभागी भएका थिए ।

नेपालले विकासको अभूतपूर्व अवसर पाएको भन्दै सहभागीहरूले खुला हृदयका साथ सहयोग गर्ने वचन दिएको अर्थमन्त्री खतिवडाले बताए । नेपालमा लगानीका लागि बैंक, साझेदार संस्था र अमेरिकी लगानीकर्ता उत्साहित भएको आफूले पाएको उनले उल्लेख गरे । अर्थमन्त्री डा. खतिवडा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही साउन १८ गते अमेरिका गएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार