सेयर कारोबार रकम र नेप्से परिसूचकमा गिरावट

फरक धार

२६ साउन २०७५, शनिबार

काठमाडौं – धितोपत्र बजारमा यस साता कारोबार रकम र नेप्से परिसूचक दुवै घटेको छ । कारोबार रकम साताभरि नै एक अर्ब रुपैयाँ समेत पुग्न सकेन । नेपाल स्टक एक्सचेन्जमा १ सय ८१ कम्पनीको सेयर कारोबार भए पनि कारोबार रकम भने ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँमा मात्रै सीमित भएको छ ।

यस साता कुल ३६ लाख ४७ हजार आठ सय ४० कित्ता सेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १४.६८ प्रतिशत कम हो । गत साता १ सय ८१ कम्पनीको ४० लाख ८४ हजार ५ सय २० कित्ता सेयर एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन एक हजार १८०.६३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । सो कम्पनीको पाँच करोड ९० लाख ४० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा पनि सोही कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको कुल पाँच लाख ८५ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार