अमेरिकामा विमानस्थलबाटै कर्मचारीले चाेरे विमान

फरक धार

२७ साउन २०७५, आइतबार

एजेन्सी– अमेरिकाको सिएटल टकोमा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान चोर्ने युवक एयरलाइन्सकै कर्मचारी भएको खुलेको छ । शुक्रबार अलास्का एयरलाइन्सको विमान चोरेर दुर्घटना गराएका युवक एयरलाइन्सकै पूर्ण प्रमाणपत्र प्राप्त कर्मचारी भएको खुलेको हो ।

२९ वर्षीय रिचर्ड रसेल अलास्का एयरलाइन्सको पार्टनर एयरलाइन होरिजन एयरमा तीन वर्षभन्दा बढी समयदेखि कार्यरत थिए । उनले विमानको सरसफाइ र यात्रुको झोलाहरू मिलाउने काम गर्दै आएका थिए । होरिजन एयर क्यु ४०० विमान अनुमतिविनै उडाएर लगेकोमा वाशिंगटन राज्यको केट्रोन आइल्यान्डमा दुर्घटना भएको थियो । उनले उडाएको विमान करिब ९० मिनेट आकाशमा थियो ।

विमान चलाउने कौशलता नभएको र माथि आकाशमा स्टन्ट गर्न खोज्दा दुर्घटना भएको हुन सक्ने एयरलाइन्सले जनाएको छ । ७८ सिट क्षमताको खाली विमान चोरी भएर उडान भरेलगत्तै दुईवटा एफ फिफ्टिन लडाकु विमानले पछ्याएका थिए ।

सिएटल टाइम्सका अनुसार एयर ट्राफिक कन्ट्रोलले पनि विमान अवतरण गराउने प्रयास गरेका थिए । तर पनि विमानलाई जोगाउन नसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एयर ट्राफिक कन्ट्रोलसँगको कुराकानीमा उनले आफ्नो उद्देश्य अरूलाई चोट पुर्याउने नभएको भन्दै परिवार र साथीभाइसँग माफी मागेका छन् ।

विमान चोरी गर्ने युवकको दुर्घटनामा निधन भएको छ । सँगै काम गर्ने साथीहरूले उनी शान्त स्वभावको भएको बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडियोमा विमान चोर्ने युवकले निकै भिडियो गेम्स खेल्ने गरेको र त्यसैबाट विमान उडाउन सक्छु भन्ने आत्मविश्वास आएको हुन सक्ने टिप्पणी गरिएको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार