नारायणकाजीको राजीनामा : प्रचण्डको बचाउ, मौन ओली !

रूपक चाैलागार्इं

२७ साउन २०७५, आइतबार

उनको राजीनामा फिर्ता गराउनका लागि अध्यक्षद्वयले सम्पूर्ण जिम्मा नेकपाका वरिष्ठ नेता माधव नेपाललाई दिएका छन् । अध्यक्षद्वयको अनुरोधपछि पनि आफ्नो राजीनामा फिर्ता लिन श्रेष्ठले नमानेका कारण उनलाई फकाउने जिम्मा माधव नेपाललाई दिइएको हो ।

काठमाडौं – गत जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवादहरू चुलिन थालेका छन् । एकता भएको केही दिनमा नै पार्टीले ‘हाइकमान्ड’ गठन गर्यो । ९ सदस्यीय हाइकमान्डका सदस्यसमेत रहेका नारायणकाजी श्रेष्ठ पार्टी शीर्ष नेतृत्वसँग असन्तुष्ट भएको खबर सञ्चारमाध्यममा आउन थालेको केही समय नबित्दै उनले सो खबर पुष्टि हुने गरी कदम चाले । नेकपाका प्रवक्तासमेत रहेका श्रेष्ठले पार्टीको सचिवालय बैठक चलिरहेकै अवस्थामा प्रवक्ता पदबाट राजीनामा दिए ।

पार्टी नेतृत्वले गरेको व्यवहारप्रति उनी असन्तुष्ट रहेको मात्र होइन, उनका कतिपय व्यवहारबाट नेतृत्वपंक्ति उनीसँग रुष्ट बनेको खबर पनि सञ्चारमाध्यममार्फत बाहिरिएको थियो । पछिल्लो प्रकरणले बाहिर आएका खबरहरू केवल हल्ला मात्र नभएर सत्यनजिक छन् भन्ने प्रमाणित गरेको छ । पछिल्लो समय विभिन्न आलोचना खेपिरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीभित्रकै पदाधिकारीको पनि चित्त बुझाउन नसकेको बुझ्न सकिन्छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा श्रेष्ठले प्रमुख पहलकर्ताका रूपमा काम गरे । पार्टीका प्रवक्ता रहेका श्रेष्ठ पछिल्लो समय पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै सर्वेसर्वा बनेकोमा असन्तुष्ट रहेको नेकपाका नेताहरूले बताएका छन् ।

त्यसो त, उनले पार्टीको प्रवक्ता पदबाट राजीनामा दिनुको कारण पनि समाचार माध्यमले नखुलाएका भने होइनन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १५औँपटक आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई श्रेष्ठले भेट गरेका कारण ओली र प्रचण्डले पार्टीको बैठकमै स्पष्टीकरण सोधेपछि उनी आक्रोशित हुँदै पार्टी प्रवक्ताबाटै राजीनामा बुझाएर हिँडेका थिए । श्रेष्ठसँगै तत्कालीन कानुनमन्त्री शेरबहादुुर तामाङसँग पनि स्पष्टीकरण सोधिएको थियो । लगत्तै तामाङलाई मन्त्री पदबाट राजीनामा गर्न पार्टीले निर्देशन दियो ।

अध्यक्षद्वयप्रति असन्तुष्ट श्रेष्ठ गत ८ साउनमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको संयुक्त भेलामा समेत उपस्थित थिएनन् । सो भेलालाई नेकपाका दुवै अध्यक्षले सम्बोधन गरेका थिए । उनको राजीनामा फिर्ता गराउनका लागि अध्यक्षद्वयले सम्पूर्ण जिम्मा नेकपाका वरिष्ठ नेता माधव नेपाललाई दिएका छन् । अध्यक्षद्वयको अनुरोधपछि पनि आफ्नो राजीनामा फिर्ता लिन श्रेष्ठले नमानेका कारण उनलाई फकाउने जिम्मा माधव नेपाललाई दिइएको हो ।

सानातिना कुराले पार्टी फुट्ने र जुट्ने हुनु नेपालका कम्युनिष्ट पार्टीभित्रको यथार्थता हो । कम्युनिष्ट पार्टीमा साना–साना सैद्धान्तिक पदावलीले नै धेरै अर्थ राख्ने गर्छ । प्रवक्ता नारायणकाजीको राजीनामा सहजै स्वीकार गर्दा पनि नेकपालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा केही असर भने पर्ने देखिन्छ । पार्टीभित्रका अन्य नेताको असन्तुष्टि अझै बाहिर आउन सक्ने आँकलन गर्दै ओली–प्रचण्डले उनको राजीनामा स्वीकृत नगरेको देखिन्छ । उता, श्रेष्ठ भने आफूले राजीनामा दिइसकेकाले कुनै पनि हालतमा फिर्ता नलिने अडानमा छन् । स्वेच्छाले राजीनामा दिएको भन्दै उनले फिर्ता नलिने बताएका हुन् ।

नयाँ बार्गेनिङको घुर्की

उनको राजीनामाबारे विभिन्न प्रकारका टीकाटिप्पणी सार्वजनिक भएका छन् । कतिपयले उनको राजीनामालाई कुनै नयाँ बार्गेनिङका लागि घुर्की लगाएको भनेरसमेत आरोप लगाएका छन् । यसबीचमा एउटा के प्रश्न खडा हुन्छ भने यदि उनलाई पार्टीको नीतिसँग नै असहमति छ र अन्तरपार्टी संघर्ष चलाउन प्रवक्ताबाट राजीनामा गरेका हुन् भने उनले यो विषयलाई सार्वजनिक गर्न यति धेरै हिच्किचाउनु पर्दैनथ्यो । कारण जे भए पनि उनको राजीनामाको विषयले नेकपाभित्र एउटा तरंग ल्याएको भने पक्कै छ ।

माओवादी जनयुद्धमा श्रेष्ठको योगदान उल्लेख्य नभए पनि सो पार्टी शान्ति प्रक्रियामा आएपछि उनको चर्चा भने धेरै नै भयो । तर, माओवादी शान्तिप्रक्रियामा आएको बेलादेखि नै उनका नाममा केही विवादास्पद हल्ला आएका थिए । जस्तो कि, माओवादी शान्ति प्रक्रियामा आउने चर्चा चलिरहेका बखत श्रेष्ठले माओवादीलाई आत्मसमर्पण गराउनुपर्ने भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग प्रस्ताव राखेको आरोप श्रेष्ठमाथि लाग्ने गरेको छ ।

प्रचण्डको बचाउ

नेकपाका अध्यक्ष रहेका दाहालले श्रेष्ठको बचाउमा अभिव्यक्ति दिएका छन् । २२ साउनमा वीरगन्ज पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीसँगको कुराकानीमा नारायणकाजी श्रेष्ठ अहिले पनि नेकपाको प्रवक्ता नै रहेको दाबी गरेका थिए ।

उनले सञ्चारकर्मीसँग भने– ‘उहाँ कहाँ बिच्किनुभएको छ र ? कहाँ हिड्नुभा’छ, कहीँ हिँड्नुभको छैन । त्यहीँ हुनुहुन्छ, कहीँ हिँड्नुहुन्न । उहाँ अहिले पनि पार्टी प्रवक्ता नै हुनुहुन्छ ।’

ओली मौन !

एकातिर ओली र श्रेष्ठको भनाभन भएर पार्टीको प्रवक्ताबाट राजीनामा दिएको समाचार आएको छ भने अर्कोतिर उनको बचाउमा प्रचण्ड लागिपरेका छन् ।

प्रधानमन्त्री ओली भने यो विषयमा मौन छन् । सचिवालयको बैठकमा उनले श्रेष्ठलाई आफ्नो पदमा फिर्ता हुन आग्रह गरे पनि उनले सार्वजनिक कार्यक्रम वा सञ्चारकर्मीलाई यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । सत्तारुढ दलका नेता तथा पार्टीका प्रवक्ताको विषयमा प्रधानमन्त्री ओली किन मौन छन् ? यो सोचनीय विषय बन्न सक्छ ।

अप्रेसन सक्सेस, प्यासेन्ट डेथ त होइन ?

वाम एकताका सूत्रधार मानिएका नारायणकाजी श्रेष्ठ र वामदेव गौतमले संघीय संसद्को चुनाव जित्न सकेनन् । वामपन्थीहरूको माहोल छाएको बेलामा पनि निकै सुरक्षित मानिएको क्षेत्रमा गौतम पराजित भए भने बाबुराम भट्टराईलाई पार्टीबाटै बाहिर पठाएर आफूले रोजेको क्षेत्रमा गएका श्रेष्ठ पनि पराजित भए ।

चुनावको नतिजा बाहिरिसकेपछि प्रचण्डप्रति लक्षित गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यंग्य गर्दै लेखेका थिए–‘अप्रेसन सक्सेस, प्यासेन्ट डेथ !’ अर्थात्, शल्यक्रिया त सफल भयो, तर बिरामी भने मर्यो ।

सो चुनावी परिणामबाट पनि सन्तुष्ट हुन नसकेका श्रेष्ठ पछिल्लो समय चर्चाको शिखरमा छन् । तर, उनले दिएको राजीनामा स्वीकृत हुने वा नहुने भन्ने विषयचाहिँ अझै अन्योलमा नै छ । कतै ती सामाजिक प्रयोगर्ताले भनेको जस्तै अप्रेसन सक्सेस, प्यासेन्ट डेथ त होइन ?

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार