काठमाडौं महानगरको कामप्रति राजनीतिक दलको चासो

फरक धार

२७ साउन २०७५, आइतबार

काठमाडौं – काठमाडौँ महानगरपालिकाका पुनर्निर्माण र आर्थिक गतिविधिलाई लिएर राजनीतिक दलले चासो देखाउन थालेका छन् ।

केही समयअघि साझा पार्टीका तर्फबाट रञ्जु दर्शनाले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर रानीपोखरीको पुनर्निर्माण छिटो गर्न आग्रह गर्दै यसअघि निर्माण गर्दाको विवरण माग गरेकी थिइन् ।

गत शुक्रबार नयाँ शक्ति पार्टी काठमाडौँले पनि कामपाका प्रमुख शाक्यसँग भेटेर आर्थिक वर्ष २०७४/०७५ मा महानगरले स्वीकृत गरेको कार्यक्रम र भएको खर्चको विवरण मागसँगै सार्वजनिक छवि सुधारका लागि गम्भीर हुन आग्रह गरेको थियो ।

समितिका संयोजक मानुषी भट्टराईको नेतृत्वमा आएको टोलीको ज्ञापनपत्र बुझ्दै प्रमुख शाक्यले पछिल्लो समय राजनीतिक दलले महानगरको विषयमा देखाएको चासो र चिन्ताले आफूहरूलाई विकासको काममा गर्न थप ऊर्जा प्राप्त भएको बताए ।

प्रमुख शाक्यले २०७२ सालको भूकम्पका कारण क्षति पुगेको ऐतिहासिक संरचना र अन्य विकासको काम आफ्नो मुख्य प्राथमिकतामा परेको बताए । शाक्यले भने, राजनीतिक दलहरूको चासोका कारण स्थानीय तहको हरेक कम पारदर्शी हुनेछ ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार