कोटेश्वर–कलंकी सडकको काम अन्तिम चरणमा

फरक धार

२७ साउन २०७५, आइतबार

ललितपुर – नेपालको पहिलो आठ लेन सडकका रूपमा रहेको कोटेश्वर–कलंकी सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सडक निर्माणको काम ९७ प्रतिशत सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।

१० दशमलव ४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी संघाई कन्सट्रक्सन ग्रुपले गरिरहेको छ । चिनियाँ निर्माण कम्पनीसँग समन्वयको काम योजनाले गरिरहेको छ । उनी भन्छन्, ‘तोकिएकै समय अर्थात् आगामी डिसेम्बरमा काम सक्ने गरी चिनियाँ कम्पनी लागिरहेको छ ।’

निर्माणाधीन यो सडकमा आठ लेनसँगै ‘अन्डर पास’ (भूमिगत सडक)समेत बन्दै छ, जुन नेपालको पहिलो हो । कलंकीदेखि कोटेश्वरसम्मको सडकमा आंशिकबाहेक अधिकांश काम सकिएको छ । इन्जिनियर अर्याल भन्छन्, ‘मुख्यतः अहिले अन्तिम चरणको काम भइरहेको छ र थोरै निर्माणको काम पनि बाँकी छ ।’ काम सकिएपछि चिनियाँ कम्पनीले सरकारलाई सडक हस्तान्तरण गर्नेछ ।

बल्खुमा १ दशमलव ४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको इन्जिनियर अर्यालले बताए । कोटेश्वरदेखि बल्खुसम्म नै एक तह कालोपत्रे गर्न बाँकी छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी छन् । निर्माण कम्पनीले यो सडकले वर्षात् सहन सक्छ या सक्दैन भन्ने समेत नियालिरहेको छ ।

कलङ्कीको सवारी चाप हटाउने उपायका रूपमा लिइएको ‘अन्डर पास’को काम सकिएको छ । कलंकीदेखि खसीबजार सम्मको ८ सय मिटरमा अन्डर पास निर्माण भएको हो । आठ लेन सडकमध्ये चार लेन मुख्य सडक र चार लेन अन्डर पास छ । अन्र पास सञ्चालनको तयारी गरिएको छ । उनले भने, ‘दुई÷चार दिनमा नै अन्डर पास सञ्चालनमा आउनेछ ।’

चार वर्षपहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीले काममा भएको ढिलाइले एक वर्ष अवधि थप भयो । गत जुलाईसम्म काम सक्ने योजना ग्रुपले गरेको थियो, तर सो अवधिमा काम सम्पन्न भएन र सरकारले आगामी डिसेम्बर सम्मको अवधि थप गर्यो ।

निर्माणमा पूरै प्राविधिक जनशक्ति चिनियाँ नै छ । अदक्ष कामदारमा नेपाली र चिनियाँ दुवै छन् । झन्डै ६० नेपाली र २ सय चिनियाँ कामदार खटिएका छन् । पाइपलाइन, विद्युत्का खम्बा, सडक छेउका घरटहरा र सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्दा ढिलाइ भइरहको थियो । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । तर त्यहाँका स्थानीयले घर भत्काउन अटेर गरिरहेका छन् ।

मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका सडक छन् । सडकको बीचमा मुख्य लेन र मुख्य लेनको दुवैतर्फ सहायक लेन छन् । चक्रपथ छिर्न सर्भिस ट्र्याक छ, जहाँबाट निश्चित ठाउँमा पुग्दा मात्रै चालकले सहायक वा मुख्य लेनमा प्रवेश गर्न पाउँछन् । सर्भिस ट्र्याक निर्माण नेपाल सरकारले थालेको हो । सडकमा चिनियाँ सरकारले तीनवटा आकाशे पुल बनाइसकेको छ । नेपाल सरकारले सात ठाउँमा आकाशे पुल बनाउन थालेको छ । उनले भने, ‘कुनै ठाउँमा जगको काम सकियो भने कतिमा सुरु हुन सकिरहेको छैन ।’ सडकको लागत एक अर्ब रुपैयाँ रहेको छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार