गर्मी मौसममा देखिने स्वास्थ्य समस्या तथा बच्ने उपाय

फरक धार

२७ साउन २०७५, आइतबार

गर्मी मौसममा पानीजन्य रोगहरू र हावाबाट सर्ने रोगहरू बढी देखिने गर्दछन् । गर्मीमा विशेषगरी टाइफाइड, जन्डिस, झाडापखालाजस्ता रोग देखिने गर्छ । हावा, पानी, रोगहरूको तीव्रता त्यसको इन्कुभेसन समयमा आधारित हुन्छ । इन्कुभेसन समय भन्नाले संक्रमण भएको अवधिदेखि लक्षण देखिने अवधिसम्मलाई बुझाउँछ ।

हाम्रो समुदायमा थाहा पाउने रोगहरूमा टाइफाइड, जन्डिस, झाडापखाला, रुघाखोकी पुराना रोग हुन् । अहिले पनि यी रोग सक्रिय नै रहेका छन् । विभिन्न अध्ययन–अनुसन्धानलाई हेर्ने हो भने नेपालमा हेपाटाइटिस भयानक अवस्थामा रहेको छ ।

विशेषगरी अहिले उपत्यकामा नयाँ रूपमा देखिएको रोग हेपाटाइटिस ‘ई’ हो । हेपाटाइटिस ‘ई’ भाइरस विशेषगरी संक्रमितको दिसामिश्रित पानीबाट सर्ने गर्छ । हेपाटाइटिस मुख्यतः ए, बी, सी, डी र ईले मानिसको स्वास्थ्यमा बढी प्रभाव पारेको देखिएको छ । जसमध्ये हेपाटाइटिस ‘ई’ सँगसँगै हेपाटाइटिस ए पनि वर्षात्मा बढी देखिने गर्दछ ।

हेपाटाइटिस ‘ई’ मुख्यगरी गर्भवती महिलाका लागि प्राणघातक हुने गर्दछ । हेपाटाइटिस ‘ई’ गर्भवती महिला र नवजात शिशुका लागि बढी डरलाग्दो हुन्छ । गर्भवती महिलालाई हेपाटाइटिस ‘ई’को संक्रमण भएमा स्वास्थ्यमा समस्या आउन सक्छ । संक्रमित आमाबाट बच्चामा रोग सर्ने सम्भावना ५० प्रतिशतसम्म हुन सक्ने अनुसन्धानले देखाएको छ ।

हेपाटाइटिस ई लागेका १५ देखि २५ प्रतिशतसम्म गर्भवती आमाको मुत्यु हुन सक्छ ।

हेपाटाइटिस ‘ई’का लक्षणहरू

–आँखाको सेतो भाग पहँलो देखिनु,
–पेट दुख्नु वा पेटको दायाँ भाग भारी हुनु,
–दिसा खैरो देखिनु,
–खान मन नलाग्नु,
–ज्वरो आउनु,
–बान्ता हुनु वा वाकवाकी लाग्नु,
–पिसाब पहेँलो हुनु ।

गर्मी महिनामा देखिने अर्काे सम्भावित रोगमा अहिले इन्फ्लुइन्जा रोग देखिएको छ । गर्मीमा मात्र होइन, यो रोग जाडो महिनामा पनि देखिन्छ । सर्वसाधारण भाषामा यसलाई ‘रुघाखोकी’ भनिन्छ ।

गर्मी मौसममा ‘टाइफाइड’ भएर अस्पतालमा आउने मानिसको संख्या बढिरहेको छ । त्यसले के देखाएको छ भने हामीहरूको खानेकुरा तथा व्यक्तिगत सरसफाइ छैन भन्ने देखाँउछ ।

दूषित पानी तथा खानेकुरा खाँदा गर्मी मौसममा धेरै मानिसलाई आउँ पनि देखिने गर्दछ । आउँ भएका मानिसहरूमा पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने गर्दछ । लामो समयसम्म उपचार नगरेमा मानिसको शरीरमा पानीको मात्रा कम हुने हुन्छ । त्यसकारण शरीरका महत्त्वपूर्ण अगंहरूले काम गर्नै छाड्ने पनि हुन्छ ।

समग्रमा भन्नुपर्दा यसरी विभिन्न प्रकारका रोगहरू पानी, खानेकुराबाट सर्ने रोगहरू भयो वा हावाबाट सर्ने रोगहरू गर्मी समयमा व्यापक मात्रामा देखिने गर्दछ । यी रोगको निदानका लागि विभिन्न जाँच गर्नुपर्ने हुन्छ ।

झाडापखला लागेमा दिसाको जाँच गर्नुपर्ने हुन्छ । टाइफाइड, मलेरिया आदि भएमा रगत जाँच गरेर पत्ता लगाउनुपर्ने हुन्छ । रुघाखोकी लेगेको छ भने घाँटीको र्यालबाट पत्ता लगाउनुपर्ने हुन्छ ।

शुद्ध, सफा पानी खाएको छ भने यी रोगहरूबाट सहज रूपमा बच्न सकिन्छ । हावाबाट सर्ने रोगहरूबाट बच्न सकेसम्म माक्र्स लगाउनुपर्ने हुन्छ । घरबाट निस्केको अवस्थामा नाक, मुखमा हात नलैजाने, साबुन–पानीले हात धुने बानी गर्नुपर्दछ ।

यो मौसममा धेरैलाई टाइफाइड ज्वरो देखिने गर्दछ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउने गर्दछ ।

टाइफाइड ज्वरो धेरै समय आयो भने त्यसले आन्द्रामा प्वाल पार्छ । हेपाटाइटिस भयो भने धेरै मानिसको कलेजोले काम गर्ने क्षमतामा हास आउँछ अनि मृत्युसम्म हुने गर्दछ । धेरै समयसम्म कडा पखाला लाग्यो भने मृत्युसमेत हुने गर्दछ ।

यी रोगका जीवाणु प्रायः गर्मी र बर्खायाममा बढी सक्रिय हुने गर्दछन् । मानिसहरूलाई ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, शरीर गल्ने, खान मन नलाग्ने आदि हुन्छ ।

बच्ने उपाय :

सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेकले व्यक्तिगत सरसफाइमा ध्यान दिन आवश्यक हुन्छ । वर्षाको मौसममा अझ बाढी–पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खानेपानीको शुद्धतामा विशेष ध्यान दिन आवश्यक हुन्छ । रोगबाट बच्ने सबैभन्दा पहिलो विकल्प वर्षात्मा दूषित पानीको सेवन नगर्नु नै हो ।

रोग लाग्नबाट बच्ने अन्य उपाय यस्ता छन् :

–सरुवा रोगहरूबाट बच्न साबुन पानीले हात धोएर मात्रै खानेकुरा खाने ।
–सधैँ उमालेर शुद्ध पारिएको पानी मात्र पिउने ।
–बासी तथा सडेगलेका खानेकुरा नखाने ।
–बाहिरबाट वा शौचालय गएर आएपछि राम्रोसँग हातखट्टा धुने ।
–कुनै पनि संक्रमति व्यक्तिको नजिक नजाने वा टाढा रहने ।
–भिडभाडमा कम जाने ।
–संक्रमित व्यक्तिले प्रयोग गरेका सामग्री निर्मलीकारण गरेर मात्र प्रयोग गर्ने ।

जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समयमा गर्मीले समस्या उत्पन्न गर्दछ । जसले गर्दा गर्मी र वर्षाका कारण यस मौसमा देखिने मौसमी संक्रमणजन्य सरुवा रोगहरू लागेमा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमणबाट जोगिन सकिने भए पनि सामान्य असावधानीले गर्दा धेरै मानिस यसको संक्रमणबाट प्रभावित भएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनसँग फरकधारकर्मी  पुष्पराज चौलागार्इंले गरेको कुराकानीमा आधारित )

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार