र, मेरो एउटा सपथ

कोमल वली

२० फागुन २०७४, आइतबार

जीवनमा त्यस्ता मितिहरु अत्यन्त कम हुन्छन् जुन मनमा गढेर बस्छन् । केही मात्र त्यस्ता दिन हुन्छन् जुन सधैंका लागि रहन्छन् । कुनै प्रेमीले ढुंगामा आफ्नी प्रेमिकाको नाम लेखेजस्तै ती मितिहरुले मनमा एउटा डोब बनाउँछन् । २० फागुन आइतबार । मेरालागि एउटा त्यस्तै मिति हो ।

जब राष्ट्रिय सभाका लागि पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गर्याे, म अचम्ममा परेकी थिएँ । त्यो दिन मैले पार्टीको यो निर्णय समाचारबाट नै थाहा पाएकी थिएँ ।

त्यो दिनको उत्साह एक किसिमको चुनौतीको उत्साह थियो ।

जब उम्मेदवारीको दिन आयो, म झन् खुसी भएँ । म निर्विरोध भएको कुराले मलाई मात्र होइन, ममा विश्वास गर्ने र मैले केही गर्न सक्छु भन्ने थाहा पाउनु भएका मेरा शुभचिन्तकले पनि खुसीको अनुभूत गर्नुभयो, सायद ।

योबीचमा मैले सामाजिक सन्जाल तथा विभिन्न अनलाइन पोर्टलहरुमा मेराबारे गरिएका टिकाटिप्पणी, समर्थन र आलोचना सबै पढ्ने अवसर पाएँ । जसले मेरो समर्थन गर्नु भएको थियो, उहाँहरुको साथले मलाई एउटा लामो बाटो तय गर्न शक्ति प्रदान गर्याे ।

अर्कोतिर जब म मेरो आलोचना गरेको कुरा पढ्थेँ, मेरो मन झन् दृढ हुन्थ्यो– यो मेरो आलोचना होइन, केही गरेर देखाउनु पर्छ भन्ने कुराको बोध गराउने मनासय हो ।

यस्ता सबै विषयलाई लिएर म देशलाई के गर्न सक्छु भन्ने कार्ययोजना बनाइरहेकी थिएँ । यो अमूर्त हुनसक्छ, देशका लागि केही गर्छु भन्ने कुरा । नेताहरुले भन्ने गरेकाले ‘क्लिसे’ पनि हुनसक्छ, तर मनमा चाहना हुँदा अरुले साना भनेका विषयले पनि ठूलो परिवर्तन ल्याउन पक्कै सक्छन् ।

यस्तै साना कुराहरुको फेहरिस्त मजस्तै हजारौंले बनाउने हो र परिवर्तनका लागि पाइला चाल्ने हो भने असम्भव भन्ने कुरा केही छैन ।
अब थोरै प्रसंग बदलौँ ।

जीवनमा त्यस्ता मितिहरु अत्यन्त कम हुन्छन् जुन मनमा गढेर बस्छन् । केही मात्र त्यस्ता दिन हुन्छन् जुन सधैंका लागि रहन्छन् । कुनै प्रेमीले ढुंगामा आफ्नी प्रेमिकाको नाम लेखेजस्तै ती मितिहरुले मनमा एउटा डोब बनाउँछन् ।

२० फागुन आइतबार । मेरा लागि एउटा त्यस्तै मिति हो ।

यो दिन मेरो मनमा यसरी खोपियो कि यसलाई अरु केहीले मेटाउने चेष्टा पनि गर्न सक्दैन ।

हो, आइतबार दिउँसो जब म संसद्मा देश, जनता र संविधानप्रति वफादार रही इमान्दारीपूर्वक सबैको हितमा समर्पित हुने सपथ खाइरहेकी थिएँ, मेरो मनमा एउटा लामो तरङ्गले स्थान बनाएको थियो । त्यो तरङ्ग मैले विभिन्न कामको सिलसिलामा पुगेको पूर्व मेचीदेखि महाकालीसम्मको तरंग थियो, रंग थियो ।

त्यति बेला मेरो आँखामा नेपालको पूर्ण नक्सा बगिरहेको थियो । विभिन्न रंग र अनुभूतिका नेपाली अनुहारहरु आँखामा सलबलाइरहेका थिए ।

जब सपथ सकियो, हामीलाई संसद्को लोगो लगाउन अनुरोध भयो । त्यो लोगो लगाउँदा म जति भावुक भएकी थिएँ, त्यसमा सम्पूर्ण नेपालीको भावना जोडिएको छ भन्ने सोचिरहेकी पनि थिएँ । त्यति बेला पनि मैले मनमनै भनिरहेकी थिएँ– देश र जनताका लागि काम गर्न मलाई अवसर मिलेको छ, म यो अवसरलाई उपयोग गर्ने छु र आफूले सकेको काम गरेर देशलाई समृद्ध बनाउन इँटा थप्ने काम गर्ने छु ।
संसद् भवनमा माननीयज्यूहरुले मलाई दिनु भएको शुभकामना, मप्रति उहाँहरुले देखाउनु भएको विश्वास र सद्भावले पनि मलाई झन् बलियो बनाएको छ ।

त्यसैले सांसद् भवनमा मात्र होइन, म सार्वजनिक रुपमा यही ब्लगमार्फत् सपथ खान चाहन्छु– लोकतान्त्रिक गणतान्त्रिक नेपालका सम्पूर्ण दिदीबहिनी, बाबुआमा र दाजुभाइका चाहना तथा अपेक्षा पुरा गर्न म मेरोतर्फबाट दृढतापूर्वक लाग्ने छु, योबीचमा कतै ठेस लागे म रोकिने छैन, त्यसलाई सामना गर्दै अगाडि बढ्ने छु ।

यो मेरो सपथ सम्पूर्ण नेपालीका नाममा हो कि म देशलाई र जुनसुकै क्षेत्रमा रहे पनि नेपालीलाई अहित हुने कार्य गर्ने छैन ।

 

पढ्नुस् कोमल वलीको यसअघिको ब्लग :

श्रीदेवीसँगको त्यो भेट

 

(राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको ब्लग हरेक साता फरक धारमा प्रकाशित हुने छ।) 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार