दलित महिलाको अवस्था नाजुक

फरक धार

२१ फागुन २०७४, सोमबार

काठमाडाैं/ भर्खरै मात्र संयुक्त राष्ट्र सङ्घको ‘टर्निङ्ग प्रमिसेज इन टु एक्सन : जेण्डर इक्वालिटी इन २०३०’ रिपोर्ट सार्वजनिक भएको छ । यो रिर्पोटमा उल्लेख भए अनुसार भारतमा दलित महिलाको औसत उमेर अन्य जातिका महिलाको तुलनामा १४.६ बर्ष कम रहेको देखाइएको छ । रिर्पोट अनुसार पानीको अपर्याप्तता, स्वास्थ्य सेवाको कमि र सरसफाईको अभाव जस्ता कारणले भारतका दलित महिलामाथि थप भेदभाव हुने गरेको छ ।

रिर्पोटका अनुसार सामान्य आर्थिक अवस्था भएका महिलाको एक दिनको १२ प्रतिशत समय पानी सङ्कलन गर्दै र खाना पकाउँदै बित्ने गर्छ भने दलित महिलाको यही काम गर्न दोब्बर समय खर्च हुन्छ । दलित महिलाले पानी सङ्कलन गर्न र खाना पकाउन मात्रै दिनको २४ प्रतिशत समय खर्च गर्नुपर्ने बाध्यता रहेको छ । सामान्य वर्गका महिलाको तुलनामा दलित महिलालाई जीवनयापनमा झन कष्ट सामना गर्नुपरेको रिर्पोटले देखाएको छ ।

भारतको कुल साक्षरता दर ८५ प्रतिशत रहेको छ । जसमा महिलको ६५ प्रतिशत मात्रै रहेको छ भने, दलित महिलाको ५७ प्रतिशत मात्रै रहेको छ । महिलाको शिक्षा र सामाजिक अवस्थाले कार्यस्थलमा महिलाहरुमाथि हुने शोषणको पनि प्रतिनिधित्व गर्ने रिर्पोटमा उल्लेख गरिएको छ ।

भारतीय समाजशास्त्रीका अनुसार आज पनि भारतमा महिलालाई दोस्रो दर्जाको नागरिक ठानिन्छ, र त्यस्तै व्यवहार पनि गरिन्छ । महिलाहरुमाथि हुने विभेद खान– पिन देखि शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा पनि हुँदै आएको छ । घरमा पनि पौष्टिक खानेकुरा पुरुषको पहुँचमा मात्र हुने गर्छ ।

घरमा रहेको खानेकुरामा पहिलो अधिकार पुरुषको हुने गर्छ । महिलाहरु अझै पनि परिवारका पुरुष सदस्यले खाईसकेपछि बचेको खानेकुरा मात्रै खाने अनुमती छ । जसका कारण उनीहरुले आवश्यक मात्रामा पौष्टिक आहार पाउँदैनन् र रोगको चपेटामा पर्छन् । दलित महिलाहरुले पारिवारिक उपेक्षाका साथसाथै प्रत्यक्ष सामाजिक हिंसाको पनि शिकार बन्नु परेको छ ।

एकातर्फ दलित महिलाहरु प्रत्यक्ष सामाजिक हिंसाको शिकार बन्छन् भने, अर्कोतर्फ सामाजिक उपेक्षा र अपमानका कारण दलित पुरुष पनि धेरैजसो कुण्ठाग्रस्त रहने गर्छन । पुरुषमा हुने यही कुण्ठा दलित महिलाका लागि शारीरिक, मानसिक तथा घरेलु हिंसाको कारण बन्छ ।

भारतको ‘नेशनल क्राईम रेकर्ड व्युरो’को तथ्याङ्क अनुसार सन् २०१७ मा दर्ता भएका कुल घरेलु हिंसा मध्ये दलित महिलासँग सम्बन्धित हिंसाका घटना सबैभन्दा धेरै २४.६ प्रतिशत थिए । विज्ञका अनुसार यो दोहोरो हिंसा नै दलित महिलाको औसत आयु कम हुनाको एक प्रमुख कारण हो ।

‘अन्तर्राष्ट्रिय दलित सोलिडारिटी नेटवर्क’ले दलित महिलासँग जोडिएका हिंसाहरुलाइ विभिन्न नौ भागमा विभाजन गरेको थियो । जसमा छ वटा जातीसँग जोडिएर हुने हिंसा थिए भने, तीन वटा लैङ्गिक विभेदका कारण हुने हिंसा थिए । जातीगत हिंसामा यौन हिंसा, गाली-गलौज, मारपिट र अन्य हिंसाको शिकार हुनु पर्छ भने लैङ्गिक विभेदका कारण हुने हिंसामा बालिकाको भ्रुण हत्या, घरेलु हिंसा र बाल विवाह प्रमुख थिए ।

स्केच : गुगलबाट

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार