‘द सेप अफ वाटर’लाई ओस्कार अवार्ड

एजेन्सी

२१ फागुन २०७४, सोमबार

(फिल्म ‘द सेप अफ वाटर’का निर्देशक गुइलेर्माे डेल टाेराे अाफ्नाे अवार्डसहित )

आइतबार सम्पन्न ९० औं ओस्कार अवार्ड समारोहमा ‘द सेप अफ वाटर’ले उत्कृष्ट फिल्मको उपाधि जितेको छ । अमेरिकाको लसएन्जलसमा भएको समारोहमा फिल्मलाई महत्वपूर्ण चार विधामा ओस्कार (एकेडेमी अवार्ड) हात परेको छ । उत्कृष्ट फिल्मको दौडमा यसले ‘गेट आउट’, ‘डनकर्क’ र ‘लेडी बर्ड’जस्ता प्रभावशाली फिल्महरुलाई उछिनेको छ ।

समुद्रको एक अनौठो जीव र एक महिला कामदारको प्रेमसम्बन्धमा आधारित फेन्टासी कथा रहेको ‘द सेप अफ वाटर’बाट ग्वुइलेर्मो डेल टोरोले उत्कृष्ट निर्देशकको अवार्ड पनि जितेका छन् । फिल्मले पाश्र्व संगीत र प्रोडक्सन डिजाइनतर्फको अवार्डसमेत पाएको छ ।

मनोनीत फिल्महरुमध्ये जम्मा ६ वटा फिल्मले मात्र एकभन्दा बढी विधामा अवार्ड हात पारे । ‘डनकर्क’ले फिल्म एडिटिङ, साउन्ड मिक्सिङ र साउन्ड एडिटिङ गरी तीन विधामा अवार्ड जित्यो । ‘थ्री बिलबोर्डस् आउटसाइड इबिङ, मिसोरी’ले दुइटा अवार्ड पायो । यस फिल्मबाट फ्रान्सेस म्याट डोम्र्यान्डले उत्कृष्ट अभिनेत्री र साम रकवेलले उत्कृष्ट सहअभिनेताको ट्रफी उचाले ।

‘ब्लेड रनर २०४९’, ‘कोको’ र ‘डार्केस्ट आवर’ले पनि दुई–दुईवटा अवार्ड हासिल गरेका छन् । गेरी ओल्डम्यानलाई उत्कृष्ट अभिनेताको अवार्ड दिलाएको ‘डार्केस्ट आवर’ मेकअप विधामा पनि उत्कृष्ट ठहरियो । उत्कृष्ट एनिमेटेड फिचर फिल्मको अवार्ड जितेको ‘कोको’ले ‘रिमेम्बर मि’ गीतका लागि पनि ओस्कार पायो । ‘ब्लेड रनर २०४९’ले चाहिँ छायांकन र भिजुयल इफेक्टमा अवार्ड जितेको छ ।

उत्कृष्ट पटकथा (ओरिजिनल)को अवार्ड फिल्म ‘गेट आउट’का जोर्डन पिलेले उचालेका छन् भने उत्कृष्ट पटकथा (एडप्टेड)को अवार्ड चाहिँ एन्ड्री एसिम्यानको उपन्यासलाई पटकथामा ढाल्ने जेम्स आइभोरीले फिल्म ‘कल मि बाई योर नेम’बाट प्राप्त गरेका छन् ।

फिल्म ‘आई, तोन्या’की एलिसन जेनी उत्कृष्ट सहअभिनेत्री ठहरिएकी छिन् । सन् २०१७ मा रिलिज भएका फिल्महरुमध्येलाई अवार्डमा सहभागी गराइएको हो । बेस्ट फरेन ल्यांग्वेज फिल्मको अवार्ड यसपालि चिलीको फिल्म ‘अ फ्यान्टास्टिक वुम्यान’ले जितेको छ । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अम्पास)ले आयोजना गरेको ओस्कार अवार्ड समारोहमा यसपालि २४ विधामा अवार्ड दिइएको थियो ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार