संघीय संसद्को पहिलो बैठक आज, यस्ताे छ कार्यसूची

फरक धार

२१ फागुन २०७४, सोमबार

काठमाडाैं/ नयाँ संविधान जारी भएसँगै प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदनको छुट्टाछुट्टै बैठक आज एकै समयमा बस्न लागेको हो । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न ४ बजे एकै समयमा बोलाइएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिए ।

आज बस्ने संसद्को पहिलो बैठकले सभाको बैठक सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधि पारित गर्ने कार्यसूची राखिएको छ । साथै सभामुख चयन, प्रधानमन्त्रीले विश्वासको मत लिने र राष्ट्रिय सभाका अध्यक्ष चयनको औपचारिक मिति तय गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयका प्रवक्ता गौतमले जानकारी दिए ।

संसदको बैठक आव्हानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाउने कार्यसूची पनि रहेको छ । प्रतिनिधिसभाले फागुन २६ गतेका लागि सभामुख चयनको मिति तय गर्ने छ । प्रधामन्त्री केपी ओलीले प्रतिनिधिसभामा २७ गते विश्वासको मत लिने गरी मिति निर्धारण हुनेछ ।

संसद् सुरु भएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान रहेकाले सभामुखको निर्वाचनको भोलिपल्ट यो कार्यसूची राखिएको हो । यस्तै राष्ट्रियसभाले फागुन ३० गते अध्यक्ष चयन गरेपछि मात्र उपसभामुख र उपाध्यक्ष चयनको मिति तय गरिने प्रवक्ता गौतमले जानकारी दिए ।

प्रतिनिधिसभाको मंसिर १० र २१ तथा राष्ट्रियसभा सदस्यको माघ २४ गते निर्वाचन भएको थियो । नेपालको संविधानले प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक व्यवस्था गरेको छ । प्रतिनिधिसभा तल्लो र राष्ट्रियसभा माथिल्लो सदनका रूपमा रहेको छ । संघीय संसद्को मुख्य जिम्मेवारी कानून निर्माण गर्नु हो ।

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित ११० जना गरी २७५ सदस्यीय रहने छ । राष्ट्रियसभा भने प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित ५६ तथा सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन तीन गरी ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । तीन जना मनोनित भएका सदस्यको सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले उनीहरु बैठकमा सहभागि हुने छैनन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार