प्रधानमन्त्री अब्बासीकाे स्वागतमा राजधानीकाे सडकमा पाकिस्तानकाे झण्डा

फरक धार

२१ फागुन २०७४, सोमबार

काठमाडौं/ दुईदिने नेपाल भ्रमणमा आउन लागेका पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासीको स्वागतमा राजधानीका सडक किनारा पाकिस्तान र नेपालको झण्डाले सजाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडक हुँदै, नयाँ बानेश्वर, माइतिघर, दरवारमार्ग लगायतका क्षेत्रका सडकमा पाकिस्तान र नेपालको झण्डा झुण्ड्याइएको हो ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अपरान्ह सवा तीन बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछन् । अब्बासीलाई विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नेछन् । प्रधानमन्त्री अब्बासी सहितको प्रतिनिधिमण्डललाई ह्यात होटलमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलबाट उनी सिधै ह्यात होटलमा जानेछन् ।

प्रधानन्त्री अब्बासीलाई बेलुका साढे ५ बजे सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम तय गरिएकाे छ । त्यसका लागि सबै व्यवस्था मिलाईसकिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदाधिकारीहरुको सहभागीता रहनेछ ।

यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस्तै अब्बासीको सम्मानमा प्रधानमन्त्री केपी ओलीले सोही होटलमा रात्रीभोजको आयोजना गरेका छन् । होटलमै अब्बासी र ओलीबीच एक घण्टा छलफल हुने समय निर्धारण गरिएको छ । भेटमा प्रधानमन्त्रीमा निर्वाचत भएकोमा ओलीलाई बधाइ दिने र द्विपक्षीय हितका विषयमा कुराकानी हुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पाकिस्तानका प्रधानमन्त्री अब्बासी भोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फिर्ता हुनेछन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार