खोई त डिभाेर्सपछिकाे सामाजिक सुरक्षा ?

अर्चना थापा

२१ फागुन २०७४, सोमबार

डिभोर्स गरेकी महिलालाई समाजले नकारात्मक दृष्टिले हेर्ने गर्छ । यो समाजको यथास्थितिवादी चरित्र हो ।


सम्बन्धमा कटुता उत्पन्न हुँदा पारिवारिक र मानसिक अवस्थामा ठूलो आघात पुग्ने अवस्था आउँछ । सम्बन्ध हिंसातर्फ जान सक्छ । यो हिंसा शारीरिक र मानसिक दुवै हुन्छ ।


सहमती वा असहमतीमा जोडिएको सम्बन्धलाई दुवै पक्षको सहमतीमा छुटाउनु राम्रै हो । सम्बन्धमा कटुता उत्पन्न हुँदा पारिवारिक र मानसिक अवस्थामा ठूलो आघात पुग्ने अवस्था आउँछ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद एक उपयुक्त विकल्प हो ।

सम्बन्धविच्छेदका घटना बढेको देखिनुले समाज परिवर्तनको दिशामा रहेको इङ्गित गर्छ । अन्तर्राष्ट्रिय मिडियाको सहज पहुँचले मानिसलाई विश्व जगतसँग परिचित बनाएको छ । मानिसहरुमा आर्थिक स्वायत्तता खोज्ने परिपाटी विकास भएको छ । शिक्षाको पहुँच बढेको छ । यी प्रमुख कारणहरु हुन सक्छन् सम्बन्धविच्छेदका घटना बढ्नुमा । सम्बन्धविच्छेद पारिवारिक कुरा भएकाले यसका सामाजिक तथा व्यक्तिगत कारणहरु पनि प्रसस्तै छन् ।

पहिले बालविवाह गर्ने प्रचलन थियो । बाल्यकालमै विवाह गर्दा के राम्रो नराम्रो भन्ने नै थाहा हुँदैनथ्यो । त्यही भएर पहिले सम्बन्धविच्छेदका घटनाहरु पनि कमै हुन्थे । हिन्दु परम्परामा सात फेरो लिएपछि सात जन्मलाई श्रीमान श्रीमती भइन्छ भन्ने विश्वास छ । अब यस्ता विश्वास पनि कमजोर बन्दै गएका छन् र विवाह पनि उमेर पुगेपछि मात्रै गर्ने प्रचलन बढेको छ । कानूनमै विवाहको उमेर तोकिएको छ ।

डिभोर्समा आर्थिक कारण पनि हुन्छ । परिवार आर्थिक सङ्कटमा परेको समयमा परिवार भित्रै कलह उत्पन्न हुन्छ । यो कलहमा अन्य कुराहरुले पनि प्रवेश पाउँछन् । महिला प्रतिको परिवारका सदस्यहरुको ब्यवहारले पनि श्रीमानश्रीमतीबीचको सम्बन्ध कस्तो हुने भन्ने निर्धारण गर्छ । हामी अझै पनि संयुक्त परिवारमा बस्ने भएकाले पनि परिवारको वातावरणले सम्बन्ध निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । परिवारका अन्य सदस्यको ब्यवहारले उत्पन्न गर्ने परिस्थितिलाई लामो समयसम्म सम्बोधन गरिएन भने त्यो पनि सम्बन्ध विच्छेदको कारण बन्न सक्छ ।

सहमती वा असहमतीमा जोडिएको सम्बन्धलाई दुवै पक्षको सहमतीमा छुटाउनु राम्रै हो । जब सम्बन्धको औचित्य रहँदैन तब सम्बन्धमा बसिरहनु झन खतरनाक हुन सक्छ । कानून पनि सम्बन्धविच्छेदको हकमा उदार बनेका छन् । सम्बन्धमा कटुता उत्पन्न हुँदा पारिवारिक र मानसिक अवस्थामा ठूलो आघात पुग्ने अवस्था आउँछ । यस्तो अवस्थामा सम्बन्ध विच्छेद एक उपयुक्त विकल्प हो । हाम्रो समाजमा अझै पनि सम्बन्ध विच्छेद गर्दा अरुले के भन्ला ? भनेर सोच्ने गर्छौ । यो सोचाइ गलत हो । सम्बन्धमा जब खुसी भर्इँदैन तब त्यो सम्बन्ध हिंसातर्फ जान सक्छ । यो हिंसा शारीरिक र मानसिक दुवै हुन्छ ।

प्रत्येक व्यक्तिलाई खुसी हुने अधिकार छ, मानव हुने अधिकार छ । जब सम्बन्ध नै दुःख र पीडाको कारण बन्छ, तब सम्बन्धबाट बाहिर निस्केकै राम्रो हो । कानूनले पनि सम्बन्धविच्छेदलाई सहजिकरण गरिसकेको छ । यस्तै प्रक्रियाले समाजलाई अग्रगामी बनाउने हो । तसर्थ यो बढिरहेको डिभोर्सले समाज अग्रगामी र उदार बन्दै गईरहेको भन्ने अर्थमा बुझ्न सकिन्छ ।

डिभोर्सपछि पनि महिलालाई समाजमा समायोजन हुन धेरै गाह्रो छ । डिभोर्स गरेकी महिलालाई समाजले नकारात्मक दृष्टिले हेर्ने गर्छ । यो समाजको यथास्थितिवादी चरित्र हो । समाजको यस्तो चरित्रलाई न्युनिकरण गर्दै मान्छेको खुसी हुन पाउने र छनौटको अधिकारको सम्मान गर्दै कानून त बनेको छ, तर कानूनको कार्यान्वयन गर्ने स्थानमा त त्यही यथास्थितिवादी सोचका मान्छे छन् । कानूनको पहुँच शहरमा जति सजिलो छ त्यति सजिलो गाउँमा छैन । यो कमजोरी हो ।

विश्वव्यापी रुपमा सम्बन्ध विच्छेदको कानून महिलाको पक्षमा छ । बर्षौँदेखि पुरुषहरुको प्रभुत्व रहेको समाजमा महिलाहरुको पनि अधिकार संरक्षण गर्न सकियोस भनेर यस्ता कानून निर्माण गरिएको हो । तर त्यो कानूनको कार्यान्वयन गर्ने तहमा अझै पनि पुरुष नै छन् । कानून छ तर त्यो कानूनको सहजिकरणमा भने समाज अझै सहयोगी बनिसकेको छैन् ।

विवाह गर्दा महिलाका आमा बुबाले भन्ने गरेको ‘मारे पाप, पाले पुण्य’ भन्ने जुन धारणा छ यसले महिलालाई स्वतन्त्र र खुला हुने वैचारिकी नै निर्माण हुन सकेन । यस्ता धारणाले महिलालाई विकल्प खोज्ने मार्ग नै बन्द गरेको छ । कानून उदार बन्दै गए पनि परम्परा र संस्कृतिले अझै पनि हाम्रो समाजलाई निर्देशित गर्ने गरेको छ ।

जीवनशैली बदलिएसँगै डिभोर्सका घटनाहरु बढ्नु स्वभाविक हो । डिभोर्सलाई रोक्नु भन्दा यसलाई सहज रुपमा स्वीकार गर्ने वातावरण तयार गरिनुपर्छ । हरेक मान्छेलाई स्वतन्त्र छनौटको अधिकार हुन्छ । महिला हुन् या पुरुष सबैजना आ–आफ्नो परिचय र आत्मसम्मान खोज्छन् । यो परिचय र आत्मसम्मान निर्माणको क्रममा सम्बन्ध बाधक बन्नु नराम्रो हो ।

लामो समय सम्बन्धमा रहेका दम्पतिका एक आपसमा धेरै कुराहरु जोडिएका हुन्छन् । यस्तो अवस्थामा सम्बन्ध विच्छेद हुँदा महिला पुरुष दुवैलाई मानसिक रुपमा असहज हुन्छ । अझ कतिपय अवस्थामा त आर्थिक समस्या पनि टड्कारो रुपमा आईलाग्छ । दम्पतिका सन्तान छन् भने उनीहरुमा अभिभावकको सम्बन्ध विच्छेदले नकारात्मक असर पर्छ । यस्ता असर कम गर्र्नका लागि विदेशमा मनोवैज्ञानिक परामर्शको ब्यवस्था गरिएको हुन्छ । हामी उदार कानून बनेकोमा खुसी त हुन्छौँ तर त्यो कानूनले सिर्जना गर्न सक्ने सामाजिक र मानसिक समस्याको सम्बोधन गर्न मनोसामाजिक परामर्श आवश्यक हुन्छ ।

महिलाको अस्तित्वसँग अझै पनि पुरुषको नाम, थर जोडिने गर्छ । बनेका कानूनले पनि विवाहलाई सघाउ पुर्याउने खालका छन् । यी कारणले पनि महिलाहरुलाई सामाजिक रुपमा केही गाह्रो हुन्छ । समाज उदार र खुला ब्यवस्थामा प्रवेश गर्दै जाँदा समाजमा वैयक्तियत्ताको विकास हुन्छ । यसले डिभोर्सको सङ्ख्या पनि बढाउँछ नै । डिभोर्स बढ्यो भन्नु भन्दा यसलाई कसरी सहज बनाउने भन्ने अबको चुनौति हो । सबैको पहँचमा कानून पुर्याउने, डिभोर्सपछिको सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने कार्यमा केन्द्रीत हुनुपर्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार