पाकिस्तानी प्रधानमन्त्री काठमाडाैंमा

फरक धार

२१ फागुन २०७४, सोमबार

काठमाडाैं/ पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासी आज राजधानी आइपुगेका छन् । दुईदिने नेपाल भ्रमणका क्रममा आफ्नै विमानबाट आज अपरान्ह ३ः३५ बजे प्रधानमन्त्री अब्बासी सहितको प्रतिनिधिमण्डल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

प्रधानमन्त्री अब्बासीलाई विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत गरे । यस्तै प्रधानमन्त्री अब्बासीको भ्रमणलाई मध्यनजर गर्दै राजधानीका सडक किनारमा पाकिस्तान र नेपालको झण्डा फहराइएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित केपी ओलीलाई बधाई दिन भन्दै अब्बासी नेपाल आएका हुन् । प्रधानमन्त्री अब्बासी ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्री अब्बासी सहितको प्रतिनिधिमण्डललाई ह्यात होटलमा बस्ने व्यवस्था मिलाइएको छ । विमानस्थलबाट उनी सिधै ह्यात होटलमा लागेका छन् ।

प्रधानन्त्री अब्बासीलाई बेलुका साढे ५ बजे सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । त्यसका लागि सबै व्यवस्था मिलाईसकिएको सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

सो सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदाधिकारीहरुको सहभागीता रहनेछ । यसअघि विशिष्ट अतिथिलाई त्रिभुवन विमानस्थलभित्रै गार्ड अफ अनर प्रदान गरिन्थ्यो तर आज सैनिकमञ्चमा दिन लागिएको नेपाली सेनाका प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रधानमन्त्री अब्बासीकाे स्वागतमा राजधानीकाे सडकमा पाकिस्तानकाे झण्डा

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार