‘मृत्युले नै श्रीदेवीलाई शान्ति मिल्यो’

फरक धार

१९ फागुन २०७४, शनिबार

बलिउड अभिनेत्री श्रीदेवीको मृत्युबारे एउटा खुला पत्र लेखेर दुःख पोखेका फिल्म निर्देशक राम गोपाल वर्माले अर्को एउटा चिठी लेखेका छन् ।

यसपटक उनले यो चिठी श्रीदेवीको प्रशंसकलाई सम्बोधन गरेर लेखेका छन् जसको शीर्षक राखेका छन्– ‘माइ लव लेटर टु श्रीदेवीज फ्यान्स’ अर्थत् श्रीदेवीका प्रशंसकलाई मेरो प्रेमपत्र ।

फेसबुकमा सेयर गरेको यो पत्रमा उनले लेखेका छन्, ‘मैले धेरै विचार गरेँ– यो प्रकाशित गरौँ या नगरौँ किनकि यसमा केही नामहरुबारे लेखेको छु । तर म मान्छु, श्रीदेवी अरु कोहीभन्दा पनि आफ्ना प्रशंसककी बढी हुन् र वास्तविकता थाहा पाउनु जरुरी छ ।’

यो पत्रमार्फत् राम गोपाल वर्माले श्रीदेवीको जीवनका अनेक घटनाक्रमबारे प्रष्ट पारेका छन् । उनले लेखेका छन्– श्रीदेवीलाई वास्तवमा मृत्यु पछि नै शान्ति मिलेको छ ।

रामगोपाल वर्माले लेखेका छन्, ‘हो, तपाईंजस्तै लाखौँ मानिसहरु झैं म पनि मान्थेँ कि श्रीदेवी सबैभन्दा सुन्दर महिला हुन् । हामी सबैलाई थाहा छ कि उनी यो देशकी सुपरस्टार हुन् जसले २० वर्षभन्दा बढी समय मुख्य अभिनेत्रीका रुपमा पर्दामा राज गरिन् । यो त कथाको एउटा हिस्सा हो । उनको मृत्युबाट हामीलाई थाहा हुन्छ कि जीवन र मृत्यु दुवै कति अप्रत्याशित, क्रुर, नाजुक र रहस्यमय हुनसक्छ ।’

‘उनको मृत्युपछि सबैजना भनिरहेका छन् कि उनी कति राम्री थिइन्, उनको सौन्दर्यको तारिफ गरिरहेका छन्, भनिरहेका छन् उनी महान् अभिनेत्री थिइन् र उनको मृत्युले कस्तो असर परेको छ । तर, मसँग भन्नका लागि योभन्दा केही बढी छ । यो किनभने मलाई दुई फिल्म ‘क्षणा क्षणं’ र गोविन्दा गोविन्दाको सिलसिलामा उनीनिकट रहने मौका मिलेको थियो ।’

राम गोपाल वर्माका अनुसार श्रीदेवीको जीवन एउटा सटिक उदाहरण हो बाहिर सोचिएको र भित्री वास्तविक जीवनबारेको धारणा बिल्कुलै फरक हुन्छ ।

उनले लेखेका छन्, ‘धेरै मानिसका लागि श्रीदेवीको जीवन सम्पूर्ण थियो । राम्रो अनुहार, राम्रो प्रतिभा र दुई छोरीहरुसँग सुखी परिवार । बाहिरबाट हेर्दा सबै यस्तो देखिन्छ कि जो पनि आफ्नो लागि यस्तै कामना गर्छ । तर, के श्रीदेवी अत्यन्त खुसी थिइन् र उनको जीवन सुखद थियो ?’

‘म उनको जीवनबारे त्यति बेला देखि जान्छु जबदेखि उनीसँग मेरो भेट भयो । मैले आँखाले देखेको छु कि उनको पिताको मौतअगाडि उनको जीवन कसरी आकाशमा उडिरहेको एउटा चरीको जस्तो थियो र आवश्यकभन्दा बढी नै सचेत रहेन उनकी आमाको कारण पिँजडामा बन्द एउटा चरीको जस्तो भयो ।’

यो विषयमा निर्देशक वर्माले लेखेका छन्, ‘ती दिन ट्याक्सबाट हुने छापाबाट बच्न अभिनेताहरुलाई कालो धनबाट पारिश्रमिक दिइन्थ्यो । उनका पिताले आफ्ना साथी तथा नातेदारबाट भरोसा गरेका थिए तर उनको मृत्युपछि श्रीदेवीलाई सबैले धोका दिए । उनकी आमाले कानूनी लफडामा फसेको सम्पत्तिमा लगानि गरेपछि समस्या झन् बढ्यो । यी गल्तीहरुका कारण श्रीदेवी कंगाल भइसकेकी थिइन् जब बोनी कपुर उनको जीवनमा आए । उनी आफैं पनि धेरै ऋणमा थिए र वास्तविकतामा सहानुभूतिमात्र जनाउन सक्थे ।’

‘उनकी आमा अमेरिकामा गलत ब्रेन सर्जरीका कारण मनोरोगी बनिन् । यही समयमा उनकी बहिनी श्रीलताले आफ्नो छिमेकीको छोरासँग विवाह गरिन् । आमाले मृत्युपहिले सबै सम्पत्ति श्रीदेवीको नाममा गरिदिएकी थिइन् । तर, बहिनीले आमाको मानसिक अवस्था ठिक नहुँदा हस्ताक्षर गराएको भन्दै श्रीदेवीविरुद्ध मुद्दा हालिदिइन् । यसले जो महिलाका लाखौं प्रशंसक थिए, ऊ एकदम एकल र लगभग कंगाल भइसकेकी थिइ ।’

वर्माले लेखेका छन्, ‘बोनीकी आमाले श्रीदेवीलाई घर बिगाराको आरोप लगाए । र, बोनीको पहिली श्रीमतीसँग जे भयो, त्यसका लागि श्रीदेवीलाई नै जिम्मेवार मान्दै उनले फाइभ स्टार होटलमा पेटमा मुक्का हानिदिइन् । यी सब कुराहरुले श्रीदेवीलाई अत्यन्त दुखी बनायो र उनको मनमा एउटा गहिरो घाउको छाप छोडिदियो । र, उनको भाग्यमा कहिल्यै शान्ति मिलेन ।’

राम गोपाल वर्माले लेखेका छन्, ‘आफ्नो जीवनमा यो सब झेल्नाले र एक बाल कलाकार रुपमा आफ्नो करिअर सुरु भएपछिको जीवनमा उनले कहिल्यै सामान्य गतिका साथ ठूली हुन पाइनन् ।’

‘धेरै मानिसहरुका लागि उनी एक सुन्दर महिला थिइन् । तर, के उनी आफैंलाई सुन्दर महिला मान्थिन् ? हो, मान्थिन् । तर, उमेर बढ्दै जानु सबै अभिनेत्रीका लागि एउटा दुस्वप्न हो । र, उनी त्यसको अपवाद थिइनन् । कयौं वर्ष उनले बीचबीचमा कस्मेटिक सर्जरी गराइन् । र, त्यसको असर उनको अनुहारमा राम्रैसँग देखिन्थ्यो ।’

‘उनले आफूलाई एक मनोवैज्ञानिक ढोकाबाट भित्र राखेकी थिइन् र उनी चाहन्नथिन् कि कसैले उनीभित्र के चलिरहेको छ भन्ने देखोस् । उनी कसैले पनि आफ्नो असुरक्षाबारे थाहा पाओस् भन्ने चाहनन्थिन् । यसमा उनको दोष थिएन किनकि कम उमेरमा नै उनलाई प्रसिद्धी मिलेको थियो र उनले स्वतन्त्र हुने अवसर नै पाइनन् । तर, उनी जे चाहिन्थन्, त्यो बन्न सक्थिन् ।’

वर्माले लेखेका छन्, ‘उनलाई क्यामेराका अगाडि आउन कुनै मेकअपको जरुरी थिएन । तर, आफ्नो वास्तविक पीडा क्यामेराको अगाडि नआउन दिनका लागि मनोवैज्ञानिक मेकअप गर्नु पर्ने हुन्थ्यो ।’

‘उनी अधिकांश समय आमाबुवा, नातेदार, पति तथा आफ्ना छोरीहरुले भनेअनुसार चल्दै गइन् । उनी अरु कलाकारजस्तै आफ्ना छोरीहरुलाई स्वीकार गरिन्छ या गरिँदैन भन्ने कुरामा चिन्तित थिइन् । श्रीदेवी खासमा महिलाको शरिरमा कैद एक बच्चा थिइन् ।’

वर्माले लेखेका छन्, ‘मैले उनलाई त्यति बेलामात्र शान्त देखेँ जब उनी क्यामेराका अगाडि हुन्थिन् । र, त्यो पनि एक्सन र कटबीच । यस्तो किन भने उनी त्यो समयमा आफ्नो वास्तविकताबाट पर काल्पनिक दुनियाँमा पुग्थिन् ।’

‘त्यसैले म अब आश्वस्त भएको छु– अब श्रीदेवी शान्तिमा हुनेछिन् किनकि उनी यीसबबाट पर छिन् जसले उनलाई निकै धेरै दुःख दिएका थिए ।’

‘म पुनर्जन्ममा विश्वास गर्दिनँ तर केमा विश्वास गर्छु भने हामी प्रशंसक हाम्रो अर्को जन्ममा एक पटक फेरि तपाईंलाई देख्न चाहन्छौँ । र, यसपटक हामी पूरै कोशिश गरेर सुधार ल्याउने छौँ तपाईंको लायक बन्न सकौँ । हामीलाई अर्को एक मौका दिनुस् श्रीदेवी किनकि हामी सबै तपाईंलाई वास्तविक प्रेम गर्छौँ ।’

वर्माले अन्तिममा लेखेका छन्, ‘म यसरी नै लेखिरहन सक्छु तर म अब आफ्नो आँसु रोक्न सक्दिनँ ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार