गृहमन्त्री छानेजस्तै सभामुख छान्न प्रचण्डलाई कठिन

फरक धार

१९ फागुन २०७४, शनिबार

केपी शर्मा ओली नेतृत्वको सरकारमा आफ्नो तर्फबाट गृहमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा तनावमा परेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सभामुख छान्न पनि जटिल बनेको छ । ठूलो दवावका बीच उनले पार्टी नेता रामबहादुर थापालाई गृहमन्त्री बनाएर सरकारमा पठाए ।

माओवादी अध्यक्ष दाहालको नेतृत्वमा पहिलो संविधानसभाको अवधिमा ‘असफल रक्षामन्त्री’ को उपमा पाएका थापालाई गृहमन्त्री चयन गरेकोमा पार्टीभित्र नै असन्तुष्टि पोख्ने नेताहरु पनि छन् । पार्टीभित्रबाट गृहमन्त्री बन्नका लागि बर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरुले पनि दाबेदारी प्रस्तुत गरेका थिए ।

गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्न प्रचण्डलाई जति अप्ठेरो भयो । त्यस्तै अप्ठेरो माओवादी केन्द्रको भागमा परेको प्रतिनिधि सभाको सभामुख छान्न कठिन भएको छ । मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधिसपछि सभामुख पर्न आउँछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले नेता सुवास नेम्वाङका लागि सभामुखको जिम्मेवारी दिनका लागि दाहालसँग पटकपटक छलफल गरिरहेका छन् । तर, सभामुखको दावेदारको रुपमा माओवादी केन्द्रबाट ४ नेताहरु लविङ गरिरहेका छन् । दाहालले भने राष्ट्रपति र प्रधानमन्त्री एमालेले पाएपछि सभामुखपनि एमालेलाई दिन नसकिने भन्दै जवाफ दिएका छन् ।

माओवादी केन्द्रबाट सभामुखको दौडमा पूर्वसमाभामुख ओनसरी घर्ती, नेता लेखराज भट्ट, देव गुरुङ र कृष्णबहादुर महरा छन् । चारै जनाले आफ्नो दावेदारी पेश गरिरहेका छन् ।

सभामुखका लागि नेताहरुको दैलो चाहारेको भन्ने आरोप लागेपछि ओनसरीले आफूले आफ्नो लागि भन्दै नेताको दैलो चाहार्न नपुगेको बताएकी छन् । तर उनलाई सभामुख बनाउनुपर्ने प्रस्ता पार्टीभित्रका नेताहरुले नै राख्दै आएका छन् ।
छोटो कार्यकालमात्र जिम्मेवारी सम्हाल्न पाएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई दोहो¥याएर जिम्मेवारी दिने तयारी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको रहेकोले त्यसैगरी सभामुखमा ओनसरीले दावीको आधार बनाएकी छन् ।

राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुनसँगै सभामुख भएकी ओनसरीले राष्ट्रपति र उपराष्ट्रपतिले दाहो¥याउन पाउने भएपछि आफूले पनि दोहो¥याउन पाउनुपर्ने तर्क गरेकी छन् ।

यसैगरी अर्को दावेदारका रुपमा छन् लेखराज भट्ट । उनले अध्यक्ष प्रचण्डलाई नै भेटेर आफू यसपटक मन्त्री नबनी सभामुखको लागि दावेदार भएको बताएका छन् । पार्टीका अन्य नेताहरुले पनि आफूलाई सभामुख बनाउने विषयमा सहयोग गरिहेको उनको दावी छ ।

भट्टले सभामुखको रुपमा सूदूर पश्चिम पनि सक्षम छ भन्ने सन्देश दिन पनि आफ्नो दावेदारी रहेको बताएका छन् । बिना मगरलाई मन्त्रीको प्रस्ताव गरिरहेका उनले अध्यक्ष दाहालसँग भित्री सहमति भैसकेकोसमेत आफू निकट नेताहरुलाई बताउने गरेको स्रोतको दावी छ ।

यसैगरी अर्का दावेदारका रुपमा रहेको माओवादी केन्द्रका नेता देव गुरुङले आफू सभामुख भएर राम्रोसँग सभा चलाउन सक्षम भएको बताइरहेका छन् । एकता प्रक्रियाबाट माओवादी केन्द्रमा फर्किएका उनलाई सभामुख बनाउन गृहमन्त्री बनेका रामबहादुर थापा बादलले लविङ गरिरहेका छन् । पार्टीपंक्तिभित्र आफ्नो पक्षमा समर्थन जुटाउने उनी सक्रिय रहेका छन् ।

मन्त्री छनौटका लागि बसेको केन्द्रीय कार्यालयको बैठकमासमेत उनले आफूलाई सभामुखको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए । उनले आफू यसपटक मन्त्री नबन्ने र जिम्मेवारी पाएको स्थितिमा आफूले सभामुख बन्न तयार रहेको बताएका थिए ।

यसैगरी माओवादी नेता कृष्णबहादुर महराले सार्वजनिक रुपमा दावेदारी पेश नगरे पनि माओवादी केन्द्रभित्र सभामुखका सबैभन्दा बलिया दावेदारका रुपमा उनी रहेका छन् । उनी अध्यक्ष दाहालका सबैभन्दा विश्वासिला पात्र हुन् ।

ओली नेतृत्वको सरकारमा महरालाई नपठाइनुको पछाडि उनलाई सभामुख बनाउने तयारी अध्यक्ष रहेको दाहालनिकट नेताहरुले बताउँदै आएका छन् । यससँगै उनलाई पार्टी एकता गर्न बनेको कार्यदलमा समेत नराखेर ‘फ्री’ नै राखिनुले उनको सम्भावना बढी रहेको नेताहरुले बताएका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार