मलाई खेलाउँदैमा फिल्म हिट हुँदैनः दयाहाङ

फरक धार

१९ फागुन २०७४, शनिबार

दयाहाङ राईको आफ्नै सवारी साधन छैन, न कार न बाइक । छोटो दूरीमा पैदल हिँड्छन् भने लामो दूरीमा साथीभाइलाई लिफ्ट माग्छन् । फरक धारका लागि उनीसँग भिडियो संवाद गर्नुपर्ने थियो । उनलाई फरक धारको कार्यालयमा आफै आउनू भनेर दुःख दिन मन लागेन ।
अनामनगरको मण्डला थियटरबाट मैले नै उनलाई बाइकमा लिएर आएँ । त्यसो त उनलाई बाइकमा लिफ्ट दिएको पहिलोपटक होइन । अघिपछि पनि सहरका थुप्रै सडक र गल्लीमा उनले मेरो बाइक चढेका छन् ।

फरक धारसँगको संवादका क्रममा गाडीसम्बन्धी प्रश्न छुटेन ।

 

सबै साथीभाइ आफ्नै गाडीमा गुड्छन्, तपाईंले चाहिँ किन गाडी नकिन्नु भएको ?
गाडीमा त्यति सोख छैन । अहिलेलाई गाडी किन्ने योजना पनि छैन । पहिला म घर बनाउँछु होला ।

आफ्नै गाडी नहुँदा दुःख पाइँदैन ?
पाउँछु । पाइरहेकै छु । कहिलेकाहीँ ट्याक्सीले समेत भनेको ठाउँमा जान मान्दैन । आपत नै पर्छ । एकपटक एउटा फिल्मको प्रिमियरबाट फर्किंदा ट्याक्सी पाइनँ । पानी झमझम परिरहेको थियो । म निथ्रुक्क भिज्दै पैदलै घर आइपुगेँ ।

त्यो बेला कस्तो महसुस हुँदो रहेछ ?
मजतिको मान्छेले यति साह्रो दुःख नपाउनुपर्ने भन्ने खालको अहम् पैदा हुँदोरहेछ ।

तर, तपाईंले संघर्षका दिनहरुमा यस्ता क्षण त थुप्रै भोग्नुभयो नि होइन ?
हो, धेरै भोगियो । ती भोगाइहरुबाट मैले धेरै कुरा सिक्ने अवसर पनि पाएको छु । भनौं न मलाई आवश्यक पर्ने खालको जीवन बुझ्न पाएँ ।

त्यो दयाहाङ र अहिलेको दयाहाङमा के अन्तर छ ?
बाहिरबाट फरक छ, भित्रबाट छैन । कहिलेकाहीँ म त पहिलेजस्तो होइन, अहिले अलि विशेष छु भन्ने खालको घमण्ड पनि उत्पन्न हुन खोज्छ । तर, म त्यसलाई दबाउँछु ।

उसोभए तपाईं आफूलाई सफल ठान्नुहुन्छ ?
खोइ, म द्विविधामा छु, कति सफल कति असफल ? भन्न सक्दिनँ । सिर्फ यति चाहिँ हो, म पपुलर भएको छु ।

यो पपुलारिटीले बेफाइदा पनि गरेको होला नि ?
पहिलाजस्तो खुलेर हिँडडुल र खानपिन गर्न पाएको छैन । यो सबैभन्दा ठूलो बेफाइदा हो । कुनै दिन म र साथी रविन पाण्डे बानेश्वरको फुटपाथमा राति ९ बजेसम्म चिया पिउँदै अभिनयका विषयमा घन्टौं गफ गर्थ्यौं । त्यस्तो अब सम्भव छैन । त्यस्ता समय र पुराना साथीहरुदेखि टाढिनु परेको छ ।

अचेल दयाहाङ राईले कस्सेर पारिश्रमिक लिन्छन् रे ? किन यस्तो ?
जसले दयाहाङलाई फिल्म खेलाएर पैसा कमाउँछु भन्ने स्वार्थ बोक्छ, उसको फिल्ममा मैले कस्सेर पारिश्रमिक माग्ने गरेको छु । त्यो मेरो अधिकारको कुरा हो । कतिपय अवस्थामा चाहिँ अफरहरुबाट पन्छिन पनि मोटो पारिश्रमिक माग्ने गर्छु ।

हलिउड बलिउडतिर ठूलाठूला स्टारहरुले राम्रो स्क्रिप्टमा बन्ने सस्तो बजेटका फिल्ममा निकै कम पारिश्रमिक लिएर पनि अभिनय गरिरहेका हुन्छन् । तपाईं चाहिँ त्यस्तो गर्नुहुन्छ कि हुन्न ?
मैले केही फिल्म यस्तै कारणले सस्तोमा खेलिदिएको छु । ती फिल्महरुका नाम चाहिँ बताउँदिन, धेरैलाई अप्ठयारो पर्नसक्छ । भविष्यमा पनि प्रोजेक्ट राम्रो लाग्यो भने पैसाको मुख हेर्दिनँ ।

तपाईंले अरु थुप्रै निर्माता निर्देशकलाई डेट नै नदिएर झुलाइरहेका हुन्छन् । तर, रामबाबु गुरुङले भन्यो भने जुनसुकै बेला फिल्म खेल्न तयार भइदिन्छन् रे । यो आरोप कतिको सत्य हो ?
म र रामबाबु संघर्षका साथी हौं । मेरो ऊसँग ट्युनिङ पनि मिल्छ । काम गर्दा आनन्द पनि लाग्छ । त्यसैले उसका लागि म सधैं उपलब्ध भइदिने गर्छु ।

 

सबैजना दयाहाङका पछाडि लागिरहेका छन्, के दयाहाङ राईलाई खेलाउँदैमा फिल्म चल्छ त ?
मलाई खेलाउँदैमा फिल्म चल्छ भन्नु एउटा भ्रम हो । हो, कलाकारको नामले फिल्मको मार्केटिङमा फाइदा पुर्याउँला । तर, फिल्म चल्न त पटकथा र त्यसको मेकिङ नै राम्रो हुनुपर्छ ।

भनेपछि फिल्म राम्रो भयो भने नाम नचिनेका कलाकार खेलाउँदा पनि हिट हुनसक्छ ?
अवश्य हुन्छ । ‘लुट’मा म र सौगात नयाँ नै थियौं नि । त्यतिबेला हामीलाई कसले चिन्थे र ? फिल्मले दर्शकलाई कनेक्ट गर्यो, हिट भइदियो ।

कलाकार होइन निर्देशकमाथि निर्भर हुने रहेछ फिल्म ?
हो, फिल्म भनेको निर्देशककै माध्यम हो । निर्देशक प्रतिभावान छ, र उसले मिहेनत गरेको छ भने फिल्म अवश्य चल्छ ।

तर, पछिल्लो अवस्थामा गिनेचुनेका निर्देशकले पनि मिहेनत नगरेर नै फिल्म बनाएझैं लाग्दैन तपाईंलाई ?
बिल्कुल लाग्छ । अचेल फिल्महरु हतारमा बन्छन् । ‘लुट’ र ‘कबड्डी’मा हामीले निकै मिहेनत गरेका थियौं । त्यति मिहेनत गर्दा त पूरै सन्तुष्ट हुनसक्ने फिल्म बनेन भने झन् अचेल हतारमा बन्ने फिल्मको हालत के होला ?

त्यसोभए तपाईंले धित मर्ने खालको फिल्म अझै गर्न पाउनु भएको छैन ?
नढाँटी भन्दा म अझै त्यस्तो फिल्मको प्रतीक्षामा छु । हेरौं, कुनै दिन चमत्कारी क्षमताका फिल्म निर्देशक आउँछन् कि !

 

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार