कहिले सकिएला सिरियाली युद्ध ?

फरक धार

२३ साउन २०७५, बुधबार

एजेन्सी/ केही महिनाअघि नेपाली सामाजिक सन्जाल प्रयोगकर्ताले सबैभन्दा बढी सेयर गरेको एउटा तस्बिर थियो– बम बर्सिएको ठाउँमा घाइते भएर लडिरहेका केही बालक । मध्यपूर्वको देश सिरियाको त्यो तस्बिरले नेपालीलाई सामाजिक सन्जालमा मात्र प्रभाव पारेन, मिडियाहरूमा पनि त्यसबारे निकै लेखियो । झन् केही ठाउँमा त सिरियाली युद्धको विरोधमा कविता गोष्ठी पनि गरियो ।

कहिले सुरु भएको यो युद्ध ?

सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध सात वर्षअघि सरु भएको एउटा शान्तिपूर्ण विद्रोहले अहिलेको स्वरूप लिएको हो । अहिले सिरिया निकै नराम्रो गृहयुद्धको दलदलमा फसिसकेको छ ।

यो युद्धमा साढे तीन लाखभन्दा धेरै मानिस मारिइसकेका छन् । कैयौं सहर ध्वस्त भएका छन् । हजारौं मानिसले अन्य देशमा शरण लिइसकेका छन् ।

यो युद्ध सुरु हुनुभन्दा पहिले सिरियाली जनता देशमा बेरोजगारी, भ्रष्टाचारी तथा राजनीतिक स्वतन्त्रता नभएको गुनासो गरिरहेका हुन्थे ।

सन् २००० मा पिता हाफिजको मृत्युपछि जब बसर अल असदले सिरियाको कमान्ड समाते, तब सिरियाली जनताका यस्ता गुनासा बढ्न थाले ।

मार्च २०११ मा सिरियाको दक्षिणी सहर डेराबाट स्वतन्त्रता तथा लोकतन्त्रको आवाज उठाउँदै ठूलो विद्रोह सुरु भयो । यो आन्दोलनलाई साउदी अरबले समर्थन गरेको थियो ।

जब सरकारले यो आन्दोलन दबाउन बल प्रयोग गर्यो, देशैभर राष्ट्रपति बसर अल असदको राजीनामा माग्दै आन्दोलन सुरु भयो ।

एकातिर देशभर आन्दोलनह सुरु भए भने अर्कोतिर सरकारी सेना झन्झन् उग्र रूपमा प्रस्तुत हुँदै आयो । त्यसपछि सरकार विरोधीले आआफ्ना क्षेत्रमा सेनालाई निषेध गर्न थाले र हतियार उठाउन थाले ।

उता, राष्ट्रपति बसर अल असदले विरोधीलाई निस्तेज पार्न रणनीति बनाए र यो विरोधलाई ‘विदेश समर्थित आतंकवाद’को संज्ञा दिए । त्यसपछि यो हिंसा झन् झन् फैलियो ।

त्यसपछि पूरै सिरिया गृहयुद्धमा फस्यो ।

कति मारिए ?

बेलायतस्थित द सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले मार्च २०१८ सम्म ३ लाख ५३ हजार ९ सय मानिस मारिएको पुष्टि गरेको छ । एक लाखभन्दा धेरै सिरियाली घाइते भएको यो संस्थाको अनुमान छ ।

यो संस्थाले सिरियाका विभिन्न ठाउँमा आफ्ना प्रतिनिधि राखेको छ । उसले यो तथ्यांकमा ती मानिसहरुलाई राखेको छैन जो हराइरहेका छन् । हराइरहेकाको संख्या ५६ हजार ९ सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ ।

अर्को संस्था द वायलेसन डकुमेन्टेसन सेन्टर सिरियाले फ्रेबुअरी २०१८ सम्म सिरियामा १ लाख ८५ हजार ९ सय ८० जना मारिएको तथ्यांक सार्वजनिक गरेको छ ।

युद्धकै कारण १५ लाखभन्दा बढी अपांग हुनु परेको छ । यीमध्ये ८६ हजारले आफ्नो हात या खुट्टा गुमाएका छन् ।

कम्तीमा पनि ६१ लाख सिरियाली जनता देशभित्रै विस्थापित भएका छन् । त्यसबाहेक ५६ लाखभन्दा बढी अर्को देशमा शरण लिन पुगेका छन् । तीमध्ये ९२ प्रतिशत सिरियाली छिमेकी देश लेबनान, टर्की तथा जोर्डन पुगेका छन् ।

किन भइरहेको छ यो युद्ध ?

अब सिरियाको युद्ध राष्ट्रपति बसर अल असद र उनका विपक्षीको युद्धका रुपमा मात्र सीमित छैन । धेरै समूह र विभिन्न देश आआफ्ना अजेन्डाअनुसार यो युद्धमा जोडिएका छन् । यसले गर्दा सिरियाली युद्ध झन् जटिल भएको छ । र, तत्काल सकिने सम्भावना पनि कम हुँदै गएको छ ।

यही युद्धमा सिरियाका विभिन्न धार्मिक समूहबीच नकारात्मक सन्देश फैलिएको छ ।

सुन्नी मुस्लिम र सिया मुसलमानबीच यो युद्धमा निकै ठूलो दुश्मनी बढिसकेको छ । त्यस्तै इस्लामिक स्टेट, अल कायदाजस्ता संस्थाले पनि सिरियामा आफूलाई फैलाइरहेका छन् । सिरियाको कुर्द लडाकूले पनि यो युद्धमा अर्को एउटा आयाम जोडेका छन् । उनीहरु स्वसासित सरकार चाहन्छन् ।

 

क–कसको क–कसलाई समर्थन ?

सिरियामा भएको युद्धमा सिरियाली सरकारलाई रुस र इरानले समर्थन गरेका छन् । अर्कोतिर अमेरिका, टर्की तथा साउदी अरबले विद्रोहीलाई सहयोग गरेका छन् ।

सिरियामा रुसले आफ्नो सैन्य अड्डा नै राखेको छ । उसले आफ्नो हवाई हमलाबाट आतंककारीमात्र मारिएको दाबी गर्दै आएको छ।

इरानले हजारौ सिया मुसलमानलाई तालिम र हतियार दिँदै आएको छ । यो समूह लेबनानको हिजबुल्ला आन्दोलनसँग जोडिएको छ ।

टर्कीले बसर अल असदका विपक्षीलाई साथ दिइरहेको छ । उसले उनीहरुलाई आफ्नो देशमा पृथकतावादीहरुविरुद्ध प्रयोग गर्न चाहिरहेको छ।

साउदी अरब इरानको प्रभावलाई कम गर्न विद्रोहहरुलाई हतियार दिइरहेको छ ।

उता, इजरायल पनि इरानको हस्तक्षेपलाई कम गर्न विद्रोहीलाई सहयोग गरिरहेको छ ।

कसरी बाँडिएको छ देश ?

सरकारले देशका ठूला सहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । तर, देशको धेरै भागमा विद्रोहीहरुले कब्जा जमाएका छन् । विद्रोहीहरुको सबैभन्दा ठूलो क्षेत्र उत्तरपश्चिमी क्षेत्र हो जहाँ २६ लाखभन्दा धेरै मानिसहरु बस्छन् ।

अहिले सिरियाको राजधानी दमासकसको उपनगर पूर्वी गुटामा सिरियाली सेना र विद्रोहीले हमला गरिरहेका छन् । त्यहाँ झन्डै ४ लाख मानिसहरु बस्छन् र युद्धका कारण उनीहरु प्रभावित भएका छन् ।

कहिले सकिएला सिरियाको युद्ध ?

यसको अनुमान सहजै गर्न सकिँदैन । किनकि संयुक्त राष्ट्रसंघको पहलमा भएका ९ चरणका वार्ता कुनै निष्कर्षविना सकिएका छन् । बारम्बार हुँदै आएका युद्धविरामका घोषणा पनि उल्लंघन हुँदै गएका छन् ।

राष्ट्रपति बसर अल असद सोझै विपक्षीसँग वार्ता गर्न असमर्थता जनाइरहेका छन् । र, अर्कोतिर पश्चिमी देशले यी वार्तामा रुसले प्रभावित गरेको आरोप लगाइरहेका छन् ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार