रणनीतिक विन्दु नजिक नेप्से परिसूचक

फरक धार

१९ फागुन २०७४, शनिबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रेखाचित्र विश्लेषणमा फ्ल्याग (झण्डा) आकृति तयर भएर ‘ब्रेक आउट’ भएको देखिएको छ ।

काठमाडौं/  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को रेखाचित्र विश्लेषणमा फ्ल्याग (झण्डा) आकृति तयार भएर ‘ब्रेक आउट’ भएको देखिएको छ । यसले सामान्यतया आगामी दिनमा बजार सुधार हुने संकेत गर्छ । अघिल्लो साता बजार सूचकांक उच्च अंकले बढ्नुमा यो प्राविधिक कारण पनि रहेको देखिन्छ ।

सेयर बजारको प्राविधिक विश्लेषणमा झण्डा आकृति कमै मात्र प्रयोग गरिन्छ । यस्तो आकृति बजार सूचकांकको रेखाचित्रमा धेरै छिटोछिटो देखिन्न । तर यस पटक पछिल्ला दुई साताको ब्यापारमा नेप्सेको रेखाचित्रले ‘डबल बटम’ (दुई ओटा न्यूनतम विन्दु वा अंग्रेजी अक्षर ‘डब्ल्यू’) आकृति तयार पारेको छ । यसले पनि बजार सुधार हुने संकेत गर्छ ।

मंगलबारको ब्यापारमा सेयर बजार ओरालो लागेको छ । आइतबार पनि बजार केही ओर्लिएको थियो । प्राविधिक विश्लेषणमा पछिल्ला सूचकहरुले ‘डबल बटम’ आकृतिको अल्पकालिन परीक्षणमात्र गर्न सकेको देखिन्छ । यसले फ्ल्याग पछिको ‘ब्रेक आउट’लाई पछ्याउन सकेको छैन ।

१४११ अंकबाट ओरालो लागेर तयार भएको ‘डबल बटम’ आकृति १४२४ अंकमा पुगेर प्रतिरोध खेप्न पुगेको छ । त्यसपछिका दुई दिनमा बजार सूचकांक २८ अंकभन्दा फराकिलो अन्तरले घटिसकेको छ ।

पछिल्लो एक वर्षको व्यापारमा सेयर बजार परिसूचकले १२ सय ९९ अंकमा टेवा पाएको देखिन्छ । नेप्सेको रेखाचित्र विश्लेषणले १३८० अंकमा नजिकको टेवा विन्दु देखाए पनि १३ सय ९० को स्तरमा निकै बलियो टेवा परीक्षण गर्न सक्ने देखिन्छ । यो स्तरलाई तोडेर बजार ओरालो लाग्न सजिलो छैन । त्यसकारण अल्पकालिन बजारमा केही अंक तल झरे पनि मध्यकालिन विश्लेषणले नेप्से हालको स्तरबाट धेरै तल नजाने संकेत गरेको छ ।

हालको विन्दुबाट उकालो लागेमा नेप्सेले १४ सय ५६ अंकमा बलियो प्रतिरोधको सामना गर्ने छ । यद्यपि, ७ दिने र २१ दिने मुभिङ एभरेज विश्लेषणहरुले भने नेप्से परिसूचक हालको स्तरमा ‘पर्ख र हेर’को रणनीतिक विन्दुमा पुगेको देखिन्छ । मुभिङ एभरेजका दुई रेखा आपसमा क्रस भएकै विन्दु नजिक नेप्से परिसूचको रेखाचित्र मिल्न पुगेको छ । अल्पकालिन मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई तलबाट काटेर माथि गएकाले यो विन्दुबाट नेप्से उकालो लाग्न पनि सक्छ ।

न्यूट्रल जोनमै

नेप्सेको अर्को प्राविधिक औजार आरएसआई (रिलेटिभ स्ट्रेन्थ इण्डेक्स) विश्लेषणले अहिले पनि सेयर बजार न्यूट्रल जोनमा नै रहेको देखाएको छ । मंगलबार बजार बन्द हुँदा नेप्सेको १४ दिने आरएसआई ४४ अंकमा छ । यो सामान्यता वियरिश उन्मुख संकेत भए पनि बजार पूर्णतः विक्रेताको नियन्त्रणमा रहन नसकेको देखिन्छ । यसले नयाँ लगानीकर्ताका लागि हतारिएर बजारमा प्रवेश गरिहाल्नु पर्ने अवस्था आइनसकेको देखिन्छ ।

फराकिलो कमी

मंगलबार नेप्सेमा होटेल र ‘अन्य’ बाहेक सबै समूहगत परिसूचक ओरालो लागेपछि समग्र नेप्सेमा नकारात्मक प्रभाव परेको छ । १७ दशमलव १८ अंक (१ दशमलव २२ प्रतिशत)को फराकिलो गिरावटपछि मंगलबार नेप्से १३ सय ९६ दशमलव ७२ अंकमा झरेको छ । नेप्सेमा ४० करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन ४ हजार १ सय ७८ व्यापारबाट १ सय ६० कम्पनीका १० लाख १९ हजार कित्ता सेयर ब्यापार भएको छ ।

नेप्सेमा मंगलबार नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५ करोड ७० लाख रुपैयाँको सेयर व्यापार भएको छ । यस दिन प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५ दशमलव १ प्रतिशत बढेको छ भने समीट माइक्रोफाइनान्सको सेयर मूल्य सर्वाधिक ५ दशमलव ८४ प्रतिशत सस्तिएको छ ।

राजनीतिको तरंग

पछिल्ला राजनीतिक घटनाक्रमहरुले सेयर बजारलाई आंशिक रुपमा तरंगित बनाइरहेको लगानीकर्ता र ब्रोकरहरु बताउँछन् । खासगरी एमाले र माओवादी केन्द्रको एकीकरण र नयाँ सरकारको गठनजस्ता विषय सेयर ब्रोकर कम्पनीमा पुगेका लगानीकर्ताको तातो बहसको विषय बनेको छ ।

विगतमा पनि नेपाली सेयर बजारले कम्युनिष्टहरुको सरकारलाई स्वागत नगरेको देखिन्छ । अहिले पनि त्यही परिस्थिति दोहोरिएको छ । यसअघि माओवादी अध्यक्ष प्रचण्ड र एमालेका नेताहरु सरकारको नेतृत्वमा आउँदा बजारमा नकारात्मक मनोविज्ञान सञ्चार हुने गरेको थियो ।

‘अहिले पनि एमाले र माओबादीको पार्टी एकता हुने कुराबाट ठूला लगानीकर्ता डराइरहेका छन्’ एक ब्रोकरले भने, ‘खासगरी मारबाडी समुदायका ठूला लगानीकर्ताले सेयर बजारबाट पैसा फिर्ता लाने क्रम बढेको छ ।’ उनका अनुसार नयाँ सरकारले विस्तारै पुँजीबजारको विकासमा सहयोग गरे ती लगानीकर्ता पुनः बजार फर्किनसक्ने बताउँछन् ।

‘अहिले सुरुमा केही त्रास देखिए पनि पछिपछि आफैं मिल्दै जान्छ,’ उनले थपे, ‘त्यसपछि भारतबाट पैसा ल्याएर लगानी गर्ने मारबाडीहरु पनि उत्साहित हुनसक्छन् ।’

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार