(ब्लग) फेसबुके र ट्विटेहरुको नाममा

कोमल वली

२१ साउन २०७५, सोमबार

केही दिनअघि एउटा समाचार पोर्टलमा देखेँ– संसद्मा अधिकांश सांसद् मोबाइलमा । त्यहाँ तस्वीरहरुसहित समाचार आएको थियो ।
यो त्यही संसद् भवनको तस्वीर थियो, जहाँ हामीले देश र जनताका नाममा सपथ खाएका थियौँ– हामी नियमहरु पालना गर्नेछौँ र नियमअनुसार काम गर्नेछौँ ।

तर, बाहिर आउने समाचार त्यसअनुरुप छैनन् । यसले मलाई मात्र होइन, अबको समृद्धिको अपेक्षा गरिरहेकालाई पक्कै आघात पुग्छ ।

हुनसक्छ, कहिलेकांही सांसद् भवनमा नै पनि महत्वपूर्ण फोन आउँछन् । कहिलेकांही त्यस्ता फोनहरु इग्नोर गर्नु भनेको झन् समस्या निम्त्याउने पल हुनसक्छ । तर, के सांसद् भवनमा हामी मोबाइलमा नै व्यस्त हुँदा हाम्रा कर्तव्य राम्रोसँग पुरा हुन्छन् त ?
यो मनन गर्नु पर्ने विषय हो ।

म यो ब्लगमा चाहिँ सांसद्को विषयमा मात्र लेख्न खोजिरहेकी छैन । हाम्रो समाजमा पछिल्लो समय अनिवार्यजस्तै बनेको मोबाइल कल्चर र सामाजिक सन्जालको एडिक्सनबारे लेख्न खोजिरहेकी छु जसले हामीलाई अझ नराम्रोसँग गाँज्दै लगेको छ ।

पढ्नुस्, कोमल वलीका यसअघिका ब्लग:

म राधा हुँ

र, मेरो एउटा सपथ

श्रीदेवीसँगको त्यो भेट

सामाजिक सन्जालको उपयोगिताबारे विभिन्न बहस भएका छन् । यसका अनेक फाइदा पनि छन् । तर, हाम्रो समाजमा यसका फाइदाभन्दा बेफाइदा धेरै देखिएको छ ।

विश्वका विभिन्न देशमा ठूला क्रान्ति पनि समाजिक सन्जालको प्रयोग गरेर हुन थालेका छन् । यसको एउटा उदाहरणका रुपमा इजिप्टको आन्दोलनलाई लिन सकिन्छ । सन् २०११ जनवरी २५ मा इजिप्टको राजधानी कायरोस्थित तहरिर स्क्वायरमा लाखौं आन्दोलनकारी जम्मा भए । त्यही दिनबाट सुरु भएको आन्दोलनले इजिप्टमा ३० वर्षदेखि शासन गरिरहेका होस्नी मुबारकलाई अपदस्थ ग¥यो ।

त्यसो त इजिप्टको यो आन्दोलन ट्युनिसियामा भएको आन्दोलनको एक वर्षपछि भएको थियो । मध्य, पूर्व तथा उत्तर अफ्रिकामा पनि केही समयअघि यस्तै ठूला आन्दोलन भए । यो आन्दोलनलाई मूर्त रुप दिन र यसलाई उचाइमा पु¥याउन सामाजिक सन्जाल फेसबुक र ट्विटर अत्यन्त शक्तिशाली ‘टुल्स’ मानिन्छ । त्यसैले पनि यी आन्दोलनलाई सामाजिक सन्जालकै नाम दिइयो– फेसबुक रिभोलुसन, ट्विटर अपराइजिङ ।

अर्कोतिर हाम्रो देशमा दिनानुदिन मानिसहरु सामाजिक सन्जाललाई असामाजिक बनाउँदै लगिरहेको भान हुनसक्छ । सामाजिक सन्जालले हामीलाई बाँध्ने जुन शक्ति प्रदान गर्न सक्छ, त्यो विस्तारै हराउँदै गइरहेको छ ।

पछिल्ला केही समयका फेसबुक पोस्ट र ट्विटहरु हेर्ने हो भने प्रष्ट देखिन्छ– सिर्जनात्मक बहसको ठाउँमा नकारात्मक आलोचनाका लागि सामाजिक सन्जाल प्रयोग भएका छन् । यसले एउटा व्यक्तिलाई मात्र होइन, पुरै समाजलाई पनि प्रभाव पारिरहेको हुन्छ ।

हामीमध्ये अधिकांश अहिले पनि फेसबुकमा फोटो एडिट गरेर मात्र राखिरहेका हुन्छौँ । कोही व्यक्तिले कुनै महत्वपूर्ण पद पाएको खण्डमा हामीसँग फेसबुकका लागि कुनै एउटा समयमा खिचेको फोटो उपयुक्त हुन्छ । बधाई दिने नाममा हामी सामाजिक सन्जालमा भ्रम छाड्छौँ– ती व्यक्तिसँग मेरो राम्रो पहुँच छ, मैले यसरी फोटो खिचाएको थिएँ ।

कांग्रेस नेता सुशील कोइराला प्रधानमन्त्री हुनुभएपछि उहाँसँग कुम मिलाएको र उहाँको काँधमा हात राखेका तस्वीहरु सामाजिक सन्जालमा सार्वजनिक भएका थिए । के कोइरालाले आफूले चाहेकाले त्यसरी हात राख्न दिनु भएको थियो होला ? पक्कै थिएन ।

अहिले पनि फेसबुक र ट्विटरमा म त्यस्ता तस्वीरहरु देख्छु जहाँ बधाईका नाममा सम्बन्धहरुमाथि र आफ्ना लागि खिचेका तस्वीरहरुमा भद्दा मजाक गरिएको हुन्छ ।

मेरो प्रश्न यत्ति मात्र हो– के हामी नेपालीको माइन्डसेट नै यही हो, के हामीले यसरी नै टाइम पास गर्न सामाजिक सन्जाल प्रयोग गरिरहेका छौँ ? हामी किन यो प्रयोगलाई सिर्जनात्मक बनाउन सकिरहेका छैनौँ ?

फेसबुक र ट्विटरमा छद्म नाम राखेर र आफ्नो पहिचान लुकाएको भ्रममा हामी किन हाम्रो समय बर्बाद गरिरहेका छौँ ? जुन समय हामी अनावश्यक विषयमा खर्चिएका हुन्छौँ, के त्यो समयमा हामीले नयाँ केही काम गर्न सक्दैनौँ ? के ट्रोलहरुबाट हामीलाई त्यो बाटो मिल्छ जुन बाटोमा हामी आफूलाई राम्रो पथमा डो¥याउन सक्छौँ ?

विभिन्न किसिमका ट्रोलहरुको म पनि बारम्बार शिकार भएकी छु । हो, म त्यस्ता ट्रोलहरु बेवास्ता गर्छु । तर, के सामाजिक सन्जालमा केही क्षणको लागि आनन्द महसुस गर्नैका लागि जे पनि लेख्ने हामीले त्यसको प्रभाव अरु व्यक्तिमा के पर्छ भन्ने सोच्न सक्दैनौँ ?

त्यति पनि सोच्दैनौँ भने हामीलाई आवश्यक पर्दा आफ्नो अधिकारको वकालत गर्ने कुन नैतिक आधार हुन्छ ? मलाई फेसबुक र ट्विटरमा आलोचना गर्नेहरुले कहिल्यै सोच्नु भएको छ– त्यो पोस्ट हेर्दा मेरो दाइ, भाइ, बहिनी वा बुवाआमा र मेरा अन्य नातेदारमा कस्तो प्रभाव पर्दो हो ? यति पनि सोच्न नसक्ने हो भने हामी किन आफूलाई सामाजिक प्राणी भनिरहेका हुन्छौँ ?

जीवन भनेको एउटा परिक्षाहरुको सँगालो हो । हामीले प्रत्येक मिनेट जीवनमा केही नयाँ गर्न खोज्दा परिक्षा दिइरहेका हुन्छौँ । के सामाजिक सन्जालमा असामाजिक बनेर हामीले जीवनको त्यो परिक्षालाई एउटा ठूलो खेलाँची मानिरहेका छौँ ? अनि यसले कसलाई फाइदा पुग्दो हो, हाम्रो समाजलाई ?

सामाजिक सन्जालमा ‘फेक’ समाचार लिङ्क सेयर गर्दा किन हाम्रा हातहरु काम्दैनन् ? भ्रमहरु फैलाएर हामी कहाँ पुग्न खोजिरहेका हुन्छौँ ?

म त चाहन्छु– फेसबुक र ट्विटरजस्ता सामाजिक सन्जाल हाम्रोजस्तो देशमा विकासका संवाहक बनुन्, बहसका स्थान बनून् र तीनले हामीलाई अझ अगाडि बढाउँदै लगून् । म सिर्जनात्मक र आलोचना सधैं खोजिरहेकी हुन्छु, सामाजिक सन्जालहरुमाथि नै । तर, फेसबुक र ट्विटरमा निःशुल्क एकाउन्ट बनाउन पाएकैमा हामी हाम्रो निर्वस्त्र मस्तिष्क देखाएर नबसौँ, प्लिज ।

(राष्ट्रिय सभा सदस्य तथा गायिका कोमल वलीको ब्लग प्रत्येक साता फरकधारमा प्रकाशन हुँदै आएको छ ।)

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार