वर्षमानलाई राम्रो मन्त्रालय खोज्दै प्रचण्ड

फरक धार

१९ फागुन २०७४, शनिबार

काठमाडौं/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप मन्त्रीका बारेमा निर्णय गर्न सकस परेको छ । विशेषगरी वर्षमान पुन अनन्तलाई कसरी सन्तुष्ट बनाउने भन्ने चुनौती उनीमाथि छ । अनन्तले पनि दावी गर्दागर्दै दाहालले बादललाई गृहमन्त्री बनाएका हुन् ।

गृहमन्त्री नपाएपछि अनन्तले आफ्नो पक्षमा रहेका नेताहरुको भेला गरेर दाहालसँग असन्तुष्टि व्यक्त गरिसकेका छन् । अनन्तका लागि सम्मानजनक मन्त्रालय खोज्न दाहालको प्रधानमन्त्री ओलीसँग पनि छलफल चलिरहेको छ ।

कुनै जमानामा पार्टी फुटाएर गएकालाई पुरस्कृत गरेर दुःखमा साथ दिएकाहरुलाई अपहेलना गरिएको आरोप असन्तुष्ट नेताहरूले दाहाललाई लगाएका छन् । उनीहरुले एमालेसँग गरिएको मन्त्रालय भागवण्डा हेरफेर गरेर भए पनि पुनलाई राम्रो मन्त्रालय दिनुपर्ने माग राखेका छन् ।

आन्तरिक किचलोका कारण माओवादीले केही दिन गृहमा कसलाई पठाउने भन्ने विषय टुंगो लगाउन सकेको थिएन । तर, सरकार विस्तारमा ढिलाइ गरे नराम्रो सन्देश जाने हुनाले माओवादीले सोमबार रामबहादुर थापा र मातृका यादवलाई सरकारमा पठाएको छ ।

माओवादीले पाएका सातमध्ये बाँकी पाँच मन्त्रीको अझै टुंगो लगाइसकिएको छैन । पार्टी सचिवालय सदस्य अग्नि सापकोटाका अनुसार मन्त्रीबारे निर्णय लिन अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मेवारी दिइएको छ ।

अझै भागवण्डा मिलेन
माओवादी केन्द्र र एमालेबीच कुनकुन मन्त्रालय बाँडफाँट गर्ने भन्ने विषय अझै टुंगिनसकेको बताइएको छ । सरकारमा एमालेबाट १० र माओवादीबाट ७ मन्त्री हुने सहमति भए पनि कुन मन्त्रालय कसको भागमा पर्ने भन्ने विषय अझै अनिश्चित रहेको माओवादी केन्द्रका सचिवालय सदस्य अग्नी सापकोटाले जानकारी दिए ।

‘दुई अध्यक्षबीच मन्त्रालयको संख्याबारे टुंगो लागेको हो, तर कसको भागमा कुन मन्त्रालय भन्ने विषयमा ठोस निर्णय भइसकेको छैन,’ नेता सापकोटाले भने, ‘गृह र अर्थ मन्त्रालय टुंगो लागिसकेको हुँदा अव कुन–कुन मन्त्रालय आफ्नो भागमा पर्ने हो ? त्यसको टुंगो लगाउने काममा अध्यक्ष कमरेड छलफलमै हुनुहुन्छ ।’

दाहाल र ओलीबीच मंगलबार पनि मन्त्रालय भागवण्डाका विषयमा छलफल हुँदैछ । पुनलाई परराष्ट्र मन्त्रालय दिएर भए पनि व्यवस्थित गर्ने विकल्प दाहालले ओलीलाई दिने सम्भावना छ । नत्र परराष्ट्रको सट्टा अर्को कुनै मन्त्रालयलाई शक्तिशाली बनाएर भए पनि अनन्तलाई सन्तुष्ट बनाउने सोच दाहालको छ ।

तर, सोमबार बिहान भएको छलफलमा परराष्ट्र मन्त्रालय संघीय समाजवादी फोरमलाई दिने विषयमा अनौपचारिक सहमति भइसकेको छ । त्यसैले अनन्तलाई परराष्ट्रको जिम्मा लगाउने दाहालको वैकल्पिक प्रस्तावले मूर्त रुप नलिनसक्छ ।

 
प्रतिक्रिया दिनुहोस

फरक धारका अन्य समाचार